मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ ३० शुक्रबार १७:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सोती घटनाबारे मानव अधिकार तथा शान्ति समाजको अध्ययन प्रतिवेदन : अन्तर्जातीय प्रेमलाई परिवारले अस्वीकार गर्दा घटना

Read Time : > 1 मिनेट
२०७७ जेठ ३० शुक्रबार १७:४४:००

मानव अधिकार तथा शान्ति समाजले रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका– ८ सोतीमा ६ युवा मारिएको घटना अन्तर्जातीय प्रेमलाई परिवारले अस्वीकार गर्दा भएको निष्कर्ष निकालेको छ । समाजको नेतृत्वमा मानव अधिकारकर्मी तथा पत्रकारहरू सहभागी अध्ययन टोलीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

अन्तर्जातीय प्रेमलाई परिवारले अस्वीकार गरेकै कारण परिवार, जनप्रतिनिधिसहित गाउँले नै आक्रमणमा उत्रिएको ठहर समाजले गरेको छ । स्थलगत अध्ययन अवलोकन र अनुगमनका क्रममा प्रशासन, जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मीसँग घटनाबारे अन्तर्क्रिया गर्दा  जातीय भेदभाव छुवाछुतबाट घटना भएको देखिएको समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले बताए । सोती गाउँमा पुगेका युवालाई देख्नेबित्तिकै जातीय रूपमा अपमान गर्दै गालीगलौज भएको र जाजरकोटतर्फ फर्किरहेका वेला घरेलु हतियारसहित चौतर्फी घेरा हालेर आक्रमण भएको खनालले बताए । 

‘स्थानीय प्रत्यक्षदर्शीका अनुसार निहत्था युवामाथि एकोहोरो कुटपिट भएको थियो । त्यतिवेला कुटपिट नगर्न अनुरोध गर्दै चिच्याउँदा पनि गाउँलेले लेखेट्न छाडेनन् ।  युवाहरूले कुनै प्रतिवाद गरेको देखिँदैन । गाउँलेहरू कोही पनि घाइते भएका छैनन्,’ प्रतिवेदनमा उल्लेख छ  । आक्रमणकारीले टाउको र मुखमा हिर्काएको–थिचेको तथ्य प्रमाणहरू भेटिएको समाजले जनाएको छ । 
जातीय विभेदकै कारण ६ युवाको हत्या हुँदा पनि जनप्रतिनिधि, राजनीतिक दल र सचेत भनिएको तप्कासमेत मौन रहनु रहस्यमय भएको संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले बताए । उनले सोती घटना मानवताविरोधी भयावह अपराध भएको बताए । 
राससका पूर्वअध्यक्ष  बालकृष्ण चापागाईंले सोती घटना अन्तर्जातीय प्रेमलाई गैरदलित अभिभावकले अस्वीकार गरेकै कारण भएकोमा कुनै शंका नदेखिएको बताए । 

टोलीले जेठ २३ देखि २७ सम्म रुकुम (पश्चिम) र जाजरकोट पुगेर स्थलगत अध्ययन गरेको थियो । घटनास्थल, पीडित परिवार तथा अन्य सरोकारवालाहरूसँग भेटघाट र तथ्य सूचना संकलन गरी अध्ययन अनुगमन गरेको समाजले जनाएको छ ।

१० जेठमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक, टीकाराम नेपाली, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको शव भेरी नदीमा चोकपटक लागेको अवस्थामा भेटिएको थियो । नवराज विकको सोतीस्थित एक गैरदलित युवतीसँग प्रेम थियो । उनी प्रेमिकालाई भगाएर बिहे गर्न साथीहरूसहित सोती आएको र त्यसैक्रममा घटना भएको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा २८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले पनि अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।