मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
प्रधानमन्त्री जेसिन्डा आर्डन
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ३० शुक्रबार ०६:१०:००
Read Time : > 3 मिनेट
पालिका अपडेट

कोरोना नियन्त्रणमा उदाहरणीय न्युजिल्यान्ड : महिला प्रधानमन्त्रीको नेतृत्वमा कोभिड केस शून्य

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ ३० शुक्रबार ०६:१०:००

विगत दुई सातासम्म कोरोना भाइरसका नयाँ बिरामी नदेखिएपछि न्युजिल्यान्डले लकडाउन खुकुलो बनाएको छ । अब न्युजिल्यान्डमा भौतिक दूरी कायम गर्नुपर्ने छैन र सार्वजनिक भेलामा पनि कुनै बन्देज हुनेछैन । तथापि, अझै विदेशीको प्रवेश खुला गरिनेछैन ।

सुरुदेखि नै न्युजिल्यान्डले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेकाले संक्रमितको संख्या उच्च हुन नपाएको विज्ञहरूको बुझाइ छ ।

लकडाउन अन्त्य घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री जेसिन्डा आर्डनले ‘देश सुरक्षित र बलियो परिस्थितिमा रहे पनि कोभिड-१९ भन्दा पहिलेको जीवनमा फर्किने समय नआइसकेको’ बताइन् । ‘कोभिडअघिको परिस्थितिमा फर्किन अझै कठिन छ,’ उनले भनिन् ।

न्युजिल्यान्डले २५ मार्चमा लकडाउन लागू गरेको थियो । सुरुमै चार तहको घेरा हुने गरी एकैपटक चौथो तहको सुरक्षा प्रणाली लागू गरियो । चौथो तहको सुरक्षाअन्तर्गत अधिकांश व्यवसाय बन्द गरियो ।

विद्यालय पनि बन्द रहे र मानिसलाई घरभित्रै रहन भनियो । त्यसको पाँच साताभन्दा बढी समयपछि अप्रिलमा सुरक्षा प्रणाली तेस्रो तहमा झारियो । त्यसअन्तर्गत खाद्य पसल र केही गैर-अत्यावश्यक व्यवसाय पनि खोल्न दिइयो । समुदायस्तरमा संक्रमितको संख्या घट्न थालेपछि मेको मध्यमा सुरक्षाको तह दुईमा झारियो ।

१७ दिनसम्म कुनै नयाँ संक्रमित नभेटिएपछि पुनः सुरक्षाको तह एकमा झारियो । हुन त, सुरक्षाको तह एकमा झारिएको घोषणा २२ जुनमा गर्ने तालिका थियो । तर, दुई साताभन्दा बढी संक्रमित नभेटिएपछि सरकारले लकडाउन थप खुकुलो बनाउने निर्णय लियो ।

नयाँ नियमअन्तर्गत अब सबै विद्यालय र कार्यालय खुला रहनेछन् । विवाह, दाहसंस्कार र सार्वजनिक यातायात पनि सामान्य बन्ने भएका छन् । भौतिक दूरी पालना गर्न अनिवार्य नभए पनि त्यसलाई प्रोत्साहित गर्ने प्रधानमन्त्री आर्डनको नीति छ । विदेशी नागरिकलाई न्युजिल्यान्ड भित्रिन कडाइ गरिए पनि विदेशबाट फर्किने देशवासीलाई भने १४ दिने क्वारेन्टाइनको नियम कायम छ ।

न्युजिल्यान्डमा फेब्रुअरी अन्तिममा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको थियो । बढ्दै गएर संक्रमित संख्या एक हजार एक सय ५४ पुग्यो । तीमध्ये २२ जनाले ज्यान गुमाए । यो संख्या अन्य देशको तुलनामा निकै न्यून हो । सुरुदेखि नै न्युजिल्यान्डले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेकाले संक्रमितको संख्या उच्च हुन नपाएको विज्ञको बुझाइ छ ।

संकटमा महिला नेतृत्व प्रभावकारी

न्युजिल्यान्डले कोरोना नियन्त्रणमा हासिल गरेको सफलताका लागि प्रधानमन्त्री आर्डनको सर्वत्र प्रशंसा भइरहेको छ । सन् २०१७ मा न्युजिल्यान्डकी ४०औँ प्रधानमन्त्री चुनिएकी उनी कोभिड-१९ महामारीअघि पनि विभिन्न उदारवादी सुधारका लागि विश्वमञ्चमा चर्चामा थिइन् । कोरोना संकटमा उनले आफूलाई थप प्रमाणित गरिन् ।

आर्डनसँगै महिला प्रधानमन्त्री रहेका अन्य मुलुकले पनि कोरोना नियन्त्रणमा तुलनात्मक रूपमा बढी सफलता हासिल गरेका छन् । न्युजिल्यान्डसहित डेनमार्क, फिनल्यान्ड, जर्मनी, आइसल्यान्ड, नर्वे, ताइवान सबैमा महिला नेतृत्व छ । र, सबैले कोरोना नियन्त्रणमा अन्य मुलुकको तुलनामा बढी सफलता हासिल गरेका छन्।

ती मुलुकका महिला नेतृत्वले संकटका समयमा देखाएको धैर्य, व्यावहारिक शैली, आपसी सहयोग, सामूहिकता र विनयशीलता नै सफलताको कारक भएको विज्ञहरू बताउँछन् । तिनै गुणका कारण उनीहरूले देशवासीको विश्वास पनि जितेको पाइन्छ । राष्ट्रिय संकट सामना गर्न ती गुण सहयोगी साबित भएका छन् ।

कोरोना संकटमा जति छिटो नियन्त्रणात्मक कदम चाल्यो, उति नै भाइरसको प्रसार रोक्न सहयोगी साबित हुन्छ । महिला नेतृत्व भएका यी मुलुकले पनि कोरोना प्रसार रोक्न सुरुदेखि नै सतर्कतापूर्ण कदम चालेका थिए । यसमा न्युजिल्यान्डकी आर्डन पनि अग्रस्थानमा आउँछिन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलगायत पुरुष नेतृत्वले सुरुदेखि नै कोरोना नियन्त्रणका लागि सतर्कता अपनाउन सकेनन् । उनीहरूका अघिल्तिर महिला नेतृत्वको होसियारीले अलग्गै चित्र तयार भयो ।

महिला नेतृत्वको उपस्थितिले नीति निर्माणका अन्य तहमा पनि सहभागिता बढ्ने, त्यसले बिस्तारै निर्णय प्रक्रियामा विविधता थप्ने र योजना बढी व्यावहारिक देखिने तथ्य कोरोना संकटमा उनीहरूले प्राप्त गरेको सफलताबाट पुष्टि भएको छ ।

न्युजिल्यान्डका लागि त्यहाँको उच्च समानताको अवस्थाले पनि कोरोना विस्तार रोक्न सहायक भूमिका वहन ग¥यो । अन्य मुलुकमा पनि जहाँ आर्थिक समानताको दूरी कम छ, त्यहाँ कोरोना प्रसार रोक्न सफलता मिलेको पाइन्छ ।

‘अन्यत्र सिको गर्न कठिन’

कतिपय विश्लेषकले भने न्युजिल्यान्डको अनुभव सबै देशले सिको गर्न कठिन हुने बताएका छन् । त्यसका पछाडि केही कारण उनीहरूले औँल्याएका छन् । पहिलो त, न्युजिल्यान्ड सानो र समृद्ध टापु राष्ट्र हो । अझ यो अधिकांश प्रमुख राष्ट्रबाट टाढा छ । सोही कारण न्युजिल्यान्डले विदेशी आगन्तुकमाथिको प्रतिबन्ध तत्काल लागू गर्न सक्यो ।

भौगोलिक रूपमा मुख्य महादेशहरूबाट अलग रहेकाले नै न्युजिल्यान्डमा थोरै संख्यामा मात्र चीन र अन्य संक्रमित क्षेत्रका बासिन्दा पुगेका थिए । न्युजिल्यान्डमा पहिलो संक्रमण २८ फेब्रुअरीमा पुष्टि भएको थियो । अन्य मुलुकको तुलनामा संक्रमण ढिलो देखिएको थियो । ‘न्युजिल्यान्डमा पहिलो संक्रमित देखिँदा अमेरिकामा कोरोना समुदायस्तरमा फैलिसकेको थियो,’ काउन्सिल अफ फरेन रिलेसनका विश्व स्वास्थ्य कार्यक्रम निर्देशक थोमस जे बोलिकी भन्छन् ।

२३ मार्चमा न्युजिल्यान्डले कठोर लकडाउन लागू ग-यो । त्यतिवेलासम्म एक सयजना संक्रमितको पहिचान भएको थियो भने भाइरसबाट कसैको पनि ज्यान गएको थिएन । त्यसपछि प्रधानमन्त्री आर्डनले उनकै भाषामा विश्वको सबैभन्दा कठोर लकडाउन घोषणा गरिन् ।

अत्यावश्यकबाहेकका काममा नागरिकलाई घरबाहिर निस्कन निषेध गरियो । मानिस आफ्नो नजिकका क्षेत्रमा पुगेर व्यायाम गर्न सक्थे, तर समुद्रमा पौडी खेल्नेलगायत धेरै गतिविधिमा बन्देज लगाइयो ।

देशका नागरिक र त्यहीँ घरबार भएका परिवारबाहेकलाई सिमाना बन्द गरियो । न्युजिल्यान्डका नागरिक पनि विदेशबाट फर्किंदा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरियो । दैनिक जीवनलाई आवश्यक सेवाअन्तर्गत सुपरमार्केट र फार्मेसी खुला रहन सक्थे । तर, संक्रमणको कुनै शंका लागेमा तिनलाई पनि बन्द गरिन्थ्यो ।

सराहनीय नेतृत्व

मानिसको स्वास्थ्यलाई व्यवसायभन्दा माथि राखेर न्युजिल्यान्ड सरकारले एक सरकारका रूपमा वहन गर्नुपर्ने कर्तव्य पालना गरेको धेरैको धारणा छ । माथि उल्लेखित कदमबाहेक पनि न्युजिल्यान्ड सरकारले नागरिकको व्यापक परीक्षण, शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, तिनको सम्पर्कमा आएकाहरूको खोजी गर्ने र होम-क्वारेन्टाइनमा राख्नेमा जोड दिएको थियो । यो विश्वभर कोरोना नियन्त्रणमा सफल रहेका लगभग सबै देशले पछ्याएको कदम हो ।

न्युजिल्यान्डको भौगोलिक अवस्थिति र त्यहाँको समृद्ध समाजजस्ता गुण कोरोना नियन्त्रणको सन्दर्भमा उपयोग भएको निश्चित हो । तर, फ्रान्स, स्पेन, इटालीजस्ता न्युजिल्यान्डकै हाराहारीमा समृद्ध रहेका युरोपेली देशहरू कोरोनाको बृहत्तर विस्तार रोक्न असफल देखिँदै आएका छन् । त्यसैले पनि न्युजिल्यान्डको नेतृत्व गरिरहेकी प्रधानमन्त्री आर्डनको विश्वभर सराहना भइरहेको छ । र, उनी यसको हकदार पनि हुन् ।

(एजेन्सीकाे सहयाेगमा)