मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका रुकुम (पश्चिम)
२०७७ जेठ ३० शुक्रबार ०५:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

रुकुम घटनामा थप तीन पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम (पश्चिम)
२०७७ जेठ ३० शुक्रबार ०५:५२:००

रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा संलग्न भएको आरोपमा थप तीनजना पक्राउ परेका छन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा दुई र नियन्त्रणमा रहेकाले दिएको बयानका आधारमा एक गरी तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोती गाउँका घमण्ड मल्ल र विष्णु मल्ल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । 

  • नवराज सहित उनका साथिहरुमाथि गाउँलेले आक्रमण गरेको ठाउँ  । तस्बिर : नयाँ पत्रिका

उनका अनुसार पक्राउ परेकाहरूको बयानका आधारमा सोती गाउँका २६ वर्षीय सर्वजित भनिने सविन पुनलाई पनि पक्राउ गरिएको छ । १० जेठमा ६ युवाको ज्यान जानेगरी भएको सोती घटनामा पक्राउ पर्नेको संख्या २८ पुगेको छ । मृतकका परिवारले दिएको जाहेरीका आधारमा २० जना र पक्राउ परेकाहरूको बयानका आधारमा आठजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । 

प्रहरीले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । ‘हामी घटना अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ,’ डिएसपी केसीले भने, ‘प्रहरी अनुसन्धानको आधारमा अब सरकारी वकिल कार्यालयले जिल्ला अदालतामा अभियोग दायर गर्नेछ र अदालती प्रक्रियामा अघि बढ्नेछ ।’ प्रेमिकालाई भगाएर बिहे गर्न भनी आएका भनिएका जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको समूहलाई सोती गाउँका स्थानीयले आक्रमण गरी लखेटेका थिए । जसक्रममा जाजरकोटको भेरी नगरपालिकाका पाँच र रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका एक गरी ६ जनाको शव भेरी नदीमा फेला परेको थियो ।