मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फोटो
नवराज मैनाली काठमाडौं
२०७७ जेठ २९ बिहीबार २१:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पास भएका सवारीसाधनलाई पनि जोर–बिजोर प्रणाली लागू हुने

Read Time : < 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ जेठ २९ बिहीबार २१:१८:००

पास लिएका निजी सवारीसाधनलाई पनि शुक्रबारदेखि जोर–बिजोर प्रणाली लागू हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार औषधि र खाद्यान्न बोक्नेबाहेक सबै सवारीसाधनलाई जोर–बिजोर प्रणाली लागू हुनेछ । 

लकडाउनको स्वरूप परिवर्तन गरी सरकारले शुक्रबारदेखि निजी सवारीसाधन जोर–बिजोरका आधारमा चलाउने दिने निर्णय गरेको हो । अत्यावश्यक कामले पास लिएर सवारी चलाउँदै आएकालाई पनि जोर–बिजोर प्रणाली लागू गर्दा समस्या हुने देखिन्छ । ‘अहिले हामीलाई सबैलाई लागू गर्ने कुरा आएको छ,’ ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने, ‘पछि संशोधन हुन सक्छ ।’  

शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र मात्र निजी सवारीसाधन जोर–बिजोर प्रणालीमा चलाउन पाइने महाशाखाले जनाएको छ । उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिनेछ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन ।
 
यो नियमअन्तर्गत चारपांग्रे सवारीसाधनमा चालकसहित तीनजना मानिस मात्र र २ पांग्रे सवारीसाधन ( मोटरसाइकल, स्कुटर, मोपेड) मा भने चालक एकजना मात्र राखी सञ्चालन गर्न पाइने एसएसपी ढकालले बताए । 

जोर–बिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारीसाधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारीसाधन सञ्चालन गर्नुपर्ने महाशाखाले जनाएको छ । 

अत्यावश्यक सवारीसाधनबाहेक निजी सवारीसाधनहरू बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन भने रोक लगाइएको छ ।

 कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारीसाधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाइने छैन । 

अत्यावश्यक कामबाहेक जोर–बिजोर प्रणालीलाई उल्लंघन गरेर सवारीसाधन चलाउनेउपर भने विभिन्न चेकप्वाइन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारबाही गर्ने कुरा महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने बताए ।