मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ जेठ २९ बिहीबार १५:५२:००
Read Time : < 1 मिनेट
समाचार

रुकुम घटनाबारे संसदीय समितिमा छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७७ जेठ २९ बिहीबार १५:५२:००

रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिले प्रारम्भिक छलफल सुरु गरेको छ । विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई औपचारिक रूपमा भेट गरी छलफल सुरु गरेको हो ।

समितिका संयोजक देवेन्द्र पौडेलले अनौपचारिक रूपमा यसअघि नै कुरा भएको र आजदेखि औपचारिक छलफल सुरु भएको बताए । उनले संविधान संशोधनका लागि मतदान गरेलगत्तै घटनाको अध्ययन–अनुसन्धानका लागि रुकुमको चौरजहारी जाने बताए । उनले भने, ‘अनौपचारिक रूपमा त पहिले पनि कुरा गरेका थियौँ र हामीले प्रारम्भिक छलफल सुरु गरेका छौँ । कार्यविधि बनाउनेदेखि लिएर सबै निकै गम्भीरतापूर्वक सम्मानित सदनले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ । यो नेपालको खासगरी अनुसूची फेरेर संविधान संशोधन गर्ने र नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालभित्र ल्याउने ऐतिहासिक दिन भएको हुँदाखेरि त्यो दिनमा भोट हालेर हामी  लगत्तै त्यसपछि सम्मानित सदनले दिएको जिम्मेवारी कार्यदल (संसदीय समिति)को जिम्मोवारी पूरा गर्नको निम्ति हामी जानेछौँ ।’

प्रतिनिधिसभाले रुकुम पश्चिममा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको छानबिनका लागि जेठ २६ गते सोमबार संसदीय विशेष समिति गठन गरेको थियो । समितिको संयोजकमा नेकपाका सांसद देवेन्द्र पौडेल छन् भने सदस्यहरूमा सांसदहरू एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुन्के, प्रकाश रसाइली (स्नेही), विमला विक, महेश्वरजंग गहतराज (अथक), मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् । संसदीय विशेष समितिले रुकुमको चौरजहारीमा भएको घटनाको अनुसन्धान कार्य प्रारम्भ भएको मितिले तीस दिनभित्रमा सम्पन्न गर्नुपर्नेछ ।