Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ जेठ २९ बिहीबार ०९:१०:००
Read Time : > 1 मिनेट
नयाँCity

लकडाउनकै बीच बन्दै छ नाटकघर

Read Time : > 1 मिनेट
२०७७ जेठ २९ बिहीबार ०९:१०:००

कलाकार तथा फिल्मनिर्माता हेमन्त बुढाथोकीको अगुवाइमा तीन वर्षअघि झापा दमकमा स्थापना भएको ‘कदम थिएटर’ले अहिलेसम्म बाँसको टहरोमा नाटक मञ्चन गर्दै आएको थियो । टहरोमै पनि नाटक हेर्न स्थानीय दर्शकको भीड लाग्छ । त्यही भीड देखेर थिएटरले लकडाउनकै बीच पनि नाटकघर निर्माण गरिरहेको छ । जसको नाम जुराइएको छ– ‘सेउपाखा बहुसांस्कृतिक नाटकघर’ ।

नाटकप्रति दमकका बासिन्दाको रुझान देखेर स्थानीय ‘कदम थिएटर’ले लकडाउनकै बीचमा नाटकघर निर्माण गरिरहेको छ, जसको नाम जुराइएको छ-‘सेउपाखा बहुसांस्कृतिक नाटकघर’ ।

दमकमा सामुदायिक भवन, रेडक्रस, माडवारी सेवा समितिका हल नभएका होइनन् । तर, ती कुनै थिएटरमैत्री छैनन् । हल अभाव हटाउन र नाटकप्रति स्थानीय दर्शकको रुझान कायम राख्न सुविधासम्पन्न नाटकघर निर्माण थालिएको बुढाथोकी बताउँछन् । भन्छन्, ‘निरन्तर नाटक प्रदर्शन गर्नुपर्ने दबाबमा पनि छौँ ।’

यसबीचमा ‘कदम थिएटर’को नाटक ‘मरिचेको चुप्पी’ इलाममा सम्पन्न राष्ट्रिय नाट्य महोत्सव र काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भयो । ‘अहिलेसम्म ३५ कलाकार उत्पादन गरियो, तीमध्ये १७ जना फुलटाइमर छन्,’ थिएटरका कला संयोजक सिजन दाहाल भन्छन् । उनका अनुसार कोरोना संकट नआएको भए ‘बाछिटा’ शीर्षकको नाटक मञ्चन भइसक्ने थियो ।

नाटकघर बनाउन दमक नगरपालिकाले दमक-९ मा पाँच कठ्ठा जमिन उपलब्ध गराएको छ । र, प्रदेश १ सरकारले चालू आर्थिक वर्षमा ६० लाख रुपैयाँ दिएको छ । यस वर्ष एक करोड ८० लाख रुपैयाँ लागतमा एउटा भवन तयार गरिसक्ने लक्ष्य रहेको थिएटरका महासचिव तथा निर्माण उपभोक्ता समिति अध्यक्ष मोहन ढुंगाना बताउँछन् । उनका अनुसार थप बजेटका लागि स्थानीय स्तरमा सहयोग जुटाउने प्रयास भइरहेको छ ।

दमक साहित्यिक गतिविधिको पनि हब हो । नाटक कम प्रदर्शन हुन्छन्, तर मञ्चन भएका नाटकमा दर्शक धेरै हुन्छन् । दर्शकको त्यही भोक मेटाउन थिएटर स्थापना गरेका हौँ ।

कलाकार बन्न काठमाडौं नै पुग्नुपर्ने बाध्यता हटाउने लक्ष्य रहेको थिएटरका अध्यक्ष बुढाथोकी बताउँछन् । ‘दमक साहित्यिक गतिविधिको पनि हब हो,’ उनी भन्छन्, ‘नाटक कम प्रदर्शन हुन्छन्, तर मञ्चन भएका नाटकमा दर्शक धेरै हुन्छन् । दर्शकको त्यही भोक मेटाउन थिएटर स्थापना गरेका हौँ ।’

‘सेउपाखा बहुसांस्कृतिक नाटकघर’मा साहित्य र कलासम्बन्धी सबै गतिविधि हुने उनी बताउँछन् । भन्छन्, ‘मुख्य उद्देश्य नियमित नाटक मञ्चन गर्नु हो ।’ ‘सेउपाखा’ शब्द धिमाल भाषाबाट लिइएको हो, जसको अर्थ अभिवादन गर्नु हो ।

दमक नगरपालिकाले धिमाल जातिलाई नगरको प्रथम नागरिक घोषणा गरेको छ । ‘दमक’ पनि धिमाल जातिकै शब्द भएको थिएटरका सचिव कमन देवान बताउँछन् । ‘रंगमञ्चले स्थानीय संस्कृतिको संरक्षण पनि गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसैले धिमाल जातिको शब्द लिएर नाटकघर निर्माण थालेका हौँ ।’ थिएटर भवनमा अन्य जातिको पनि पहिचान झल्किने सामग्रीहरू राखिने देवान बताउँछन् ।