मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
उपेन्द्र खनाल
२०७५ माघ १४ सोमबार ११:२४:००
Read Time : > 1 मिनेट
प्रदेश

तनहुँकाे मानहुँकोटमा खानेपानीको चरम अभाव

४० वर्षअघि सात सय घर थिए, पानी अभावमा सात घर बाँकी

Read Time : > 1 मिनेट
उपेन्द्र खनाल
२०७५ माघ १४ सोमबार ११:२४:००

व्यास नगरपालिका–५ मानहुँकोटमा खानेपानीको चरम संकट उत्पन्न भएको छ । गाउँमा खानेपानीको मुहान नभएका कारण मानहुँकोटका बासिन्दाले हरेक वर्ष हिउँदभर यसरी नै संकट झेल्दै आएका छन् ।

बर्खामा भने मानहुँकोटवासीले आकासे पानीबाट खानेपानीको जोहो गर्छन् । उनीहरूले बस्तीमा रहेको मानुहुँकोट प्राथमिक विद्यालयको छानाबाट खस्ने पानी संकलन गरेर बर्खामा खानेपानीको अभाव टार्ने गर्छन् । 

वर्षौँदेखि खानेपानी अभाव ज्युँका त्युँ रहेपछि मानहुँकोटको बस्ती तीव्र गतिमा पातलिँदै गएको छ । ४० वर्षअघि करिब सात सय घर रहेको मानहुँकोटमा आहिले जम्मा सात घर रहेको मानहुँकोट आमा समूहकी अध्यक्ष रेवती पुनले बताइन् । मानहुँकोटवासीलाई खानेपानी दिँदै आएको अनन्ती कुवा र धारापानीमा पानी सुकेपछि बस्ती छाड्ने क्रम बढेको उनले बताइन् ।

‘बसाइँसराइले गर्दा बस्ती उजाडिँदै गएको छ,’ उनले भनिन् । अहिले मानहुँकोटका बासिन्दाले धारापानी कुवाबाट पानीको गर्जो टार्दै आएका छन्, जुन स्थान गाउँबाट करिब दुई घन्टाको दूरीमा छ । धारापानीमा पनि सहजै पानी नपाइने 
पुनले बताइन् । 

मानहुँकोट प्राथमिक विद्यालयको छानाबाट संकलन गरेको अकासे पानी पनि बस्तीलाई पर्याप्त हुँदैन । अकासे पानी ट्यांकीमा संकलन गरी दैनिक एक घरले तीन गाग्री पानी उपभोग गर्दै आएको स्थानीय गोपीबहादुर थापाले बताए । तर पनि केही सहज होस् भनेर वडा कार्यालयले साढे दुई लाख विनियोजन गरेर पानी ट्यांकी निर्माण गरेको छ ।

व्यास–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठका अनुसार लिफ्ट प्रविधिबाट पानी ल्याउन पनि समस्या भएको छ । उनले भने, ‘बस्तीमा थोरै मानिस छन् । लिफ्टबाट पानी तान्दा धेरै खर्च हुन्छ । यद्यपि, यहाँको समस्या समाधान गर्न छलफल भइरहेको छ ।’ उनले केही प्राविधिक समस्या भएकाले सो व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँंग आवश्यक पहल र छलफल भइरहेको बताए ।

गाउँमा सडक र सञ्चार पुग्यो तर खानेपानी पुगेन
स्थानीय मधुमाया थापाले गाउँमा सडक, सञ्चार, विद्युत् सुविधा पुगे पनि पानीको समस्या समाधान हुन नसकेको बताइन् । ‘निर्वाचनका वेला सबैले खानेपानी समस्या समाधान गर्छु भन्छन्,’ उनले भनिन्, ‘तर, पछि कसैले वास्तै गर्दैनन् ।’ खानेपानी अभावकै कारण गाउँमा वृद्धवृद्धा मात्रै भेटिने गरेको उनको भनाइ छ । ‘केटाकेटी राम्रो विद्यालय खोज्दै सहर पसे, युवाहरू रोजगारीका लागि विदेशतिर गए । गाउँ सुनसान बनेको छ,’ उनले भनिन् । पहुँच हुनेहरू दमौली, गुणादी, कन्टार, चापाघाट, काठमाडौं, पोखरालगायत बजार क्षेत्रमा बसाइँ सरेको उनले बताइन् ।