मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ २७ मंगलबार १६:२१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोरोना कहर : कञ्चनपुरमा शिशुदेखि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसम्मलाई संक्रमण 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ जेठ २७ मंगलबार १६:२१:००

कञ्चनपुरमा शिशुदेखि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र भारतबाट फर्किएका युवामा संक्रमण देखिएको छ । चैत दोस्रो साता भारतबाट फर्किएका बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा देखिएको थियो । त्यसपछि वैशाख अन्तिम साता बेदकोट नगरपालिका– १० कै हरपालकी ३३ वर्षीया महिलामा कोरोना देखिएको थियो । 

भारतमा अड्किएका नेपालीलाई गड्डाचौकी नाका भएर भित्र्याइएपछि कञ्चनपुरमा कोरोना संक्रमण बढेको हो । १० जेठदेखि २६ सम्म दुई साताको अवधिमा कञ्चनपुरका ३१ जनामा कोरोना देखिएको छ । 

२० जेठमा १० जनामा कोरोना पोजेटिभ देखिएको थियो । भारतबाट फर्किएकी शुक्लाफाँटा नगरपालिकाकी ११ महिने बालिकामा संक्रमण देखिएको छ । उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ । पुनर्वासमा एक स्वास्थ्यकर्मीसहित ६ जना, महाकाली नगरपालिकाका एक, भीमदत्त नगरपालिकाका दुई र लालझाडी गाउँपालिकाका एकजनामा कोरोना देखिएको हो । 

२६ जेठमा १९ जना एकैपटक कोरोना देखियो । शुक्लाफाँटा नगरपालिकाका एक युवक, पुनर्वास नगरपालिकाका एक स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मीसहित १३ जना र भीमदत्त नगरपालिकाका दुई सुरक्षाकर्मीसहित पाँचजनामा कोरोना पोजेटिभ देखिएको हो । 

पुनर्वास नगरपालिकाका दुई स्वास्थ्यकर्मी, दुवै ल्याब असिष्टेन्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी हवल्दार र प्रहरी सहायक निरीक्षक तथा खड्डाकंकड प्रहरी चौकीमा कार्यरत अर्का प्रहरी जवानमा कोरोना देखिएको छ ।

कोरोना संक्रमण देखिएका तीनैजना प्रहरी क्वारेन्टाइनमा खटिएका थिए । दुई प्रहरी भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारको बैजनाथ क्वारेन्टाइन र पुनर्वास नगरपालिका– ९ विचफाँटाको दीपशिखर माविको क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।

अन्य क्षेत्रका क्वारेन्टाइनमा बसेकालाई महाकाली र सेती अस्पतालको आइसियूमा राखिए पनि पुनर्वास नगरपालिका– ९ दीपशिखर माविको क्वारेन्टाइनका संक्रमित २४ घन्टादेखि क्वारेन्टाइनमै बसेका छन् । पुनर्वास– ९ का वडाध्यक्ष नारायण जैसीले संक्रमित पुष्टि भएको दुई दिन बितिसक्दा पनि संक्रमितको उपचारमा कुनै निकायबाट समेत चासो नदेखाइएको बताए  । ‘अहिलेसम्म न उपचारका लागि पहल भएको छ,’ ‘उनले भने, ‘न क्वारेन्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी थपिए ।’

शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंहले संक्रमितलाई उपचारका लागि महाकाली अस्पतालको आइसोलेसनमा पठाइएको बताए । 

कोरोनाका बिरामी दिन प्रतिदिन बढ्दै गए पछि महाकाली अस्पतालमा बिरामीले भरिएको छ । महाकाली अस्पतालमा निर्माण हुन लागेको ५० शय्याको कोरोना अस्पताल निर्माण नहुँदा समस्या भएको उनले बताए । 

कुनै दिन रिफर सेन्टर बनेको महाकाली अस्पतालमा अहिले कैलालीबाट समेत बिरामी उपचारका लागि आएका छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले आरडिटी पोजेटिभलाई पनि अस्पतालमा ल्याउँदा पिसिआरबाट कोरोना देखिएपछि समस्या भएको बताए ।