१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २७ मंगलबार १३:३७:००
Read Time : > 1 मिनेट
समाचार

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो होइन, नक्सामा छैन भन्ने सांसदलाई कारबाही किन हुँदैन ?’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २७ मंगलबार १३:३७:००

राष्ट्रिय सभाका सांसदहरूले कोरोना नियन्त्रणमा सरकार असफल हुँदै गएको आरोप लगाएका छन् ।

मंगलबार बसेको बैठकमा बोल्दै सांसद प्रकाश पन्थले कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए । ‘कोरोना नियन्त्रणमा सरकार असफल भएको प्रमाणहरू पनि देखिन थालेको छ । मृत्युपछि कोरोना संक्रमण पुष्टि हुन थालेका छन्,’ सांसद पन्थले भने, ‘परीक्षण किटको व्यवस्था नै नगर्ने, प्रयोगशालाको क्षमता वृद्धि गर्न नसक्ने, तर पोजेटिभलाई अन्तिम परीक्षण नै नगरी घर पठाउने काम गर्नु सरकारको जनताप्रति असंवेदनशीलता हो । देशभर नै क्वारेन्टाइन अव्यवस्थित छ । एउटै विद्यालयमा क्षमताभन्दा बढी मानिस राखिएको छ । क्वारेन्टाइनमा शुद्ध पिउने पानी, भोजनालय र नुहाउने अवस्था छैन । त्यहीँभित्र संक्रमण फैलन सक्ने अवस्था छ ।’

सरकारले कोरोना नियन्त्रणका लागि काम गर्न नसकेको भन्दै यस कार्यमा १० अर्ब कहाँ, कसरी र केका लागि खर्च गऱ्यो ? त्याे सार्वजनिक गर्नुपर्ने उनले माग गरे ।

सांसद तारादेवी भट्टले दिनदिनै कोरोना संक्रमितको संख्या बढेको भन्दै सरकार कोरोना नियन्त्रणमा असफल हुँदै गएको बताइन् । ‘पिसिआर किटको अभावले भनेजति परीक्षण हुन सकेको छैन भने आरडिटी परीक्षणले सबैतिर त्रास फैलिएको छ । क्वारेन्टाइमा बसेकाहरू परीक्षण नै नगरी घर फर्केका छन् । मृत्युपछि कोरोना पुष्टि भएको छ,’ सांसद भट्टले भनिन्, ‘हामीले सरकारलाई यसअघि पनि कोरोना व्यवस्थापनमा ध्यान दिन र सांसद विकास कोषको रकम कोभिड– १९ को रोकथाममा खर्च गरौँ भन्यौँ । तर, त्यसो भएन । घुमाउरो पारामा बजेट आइछाड्याे,’ 

तुलसाकुमारी दाहालले कोरोना नियन्त्रणका लागि सरकारको प्रयास अपुग देखिएको उल्लेख गर्दै स्वास्थ्य परीक्षणका लागि गुणस्तर बढाउन र थप मेसिनको व्यवस्था गर्न आग्रह गरिन् । भारतबाट आउनेलाई सीमानाका र अन्य देशबाट आउनेलाई एयरपोर्टमा स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यकता उनले औँल्याइन् । 

सीमाबाट आउनेले कोरोना फैलाए
सांसद कोमल वलीले सीमानाकाबाट आउने नेपालीले कोरोना फैलाएको आरोप लगाएकी छिन् । सांसद वलीले भनिन्, ‘कोरोना नेपालभित्र संक्रमित भएर बढेको होइन । यो खुला सिमानाका कारण जति पनि आए उहाँहरूले गर्दा संक्रमण बढेको हो ।’

उनले २२ ठाउँमा दिनमा एक हजारभन्दा बढीको पिसिआर परीक्षण गर्नु सरकारकाे असफतला नभएकाे दाबी गरिन् । 

लिपुलेक र कालापानी हाम्रो होइन भन्ने सांसदलाई कारबाही माग

राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद नन्दा चपाईले लिपुलेक र कालापानी हाम्रो होइन भन्ने सांसदलाई तुरुन्त कारबाही हुनुपर्ने माग राखेकी छिन् । ‘नेपालको संसदमा हिन्दी बोलिन्छ । हिन्दी बोल्ने प्रावधान संविधानको कुन धारा र भागमा छ जान्न चाहन्छु,’ बैठकमा बोल्दै सांसद चपाईले भनिन्, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो होइन, नक्सामा छैन भन्ने सांसदलाई कारबाही किन हुँदैन ? यस्तो बोल्ने सांसलाई यथाशीघ्र कारबाही हुनुपर्छ ।’