अर्थमन्त्री युवराज खतिवडाले एमसिसीलाई लिएर मित्रराष्ट्रसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्न नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले एमसिसीबारे फरक बुझाइ भए त्यसलाई मिलाएर जान सकिने बताए ।
एमसिसीमा सच्याउनुपर्ने कुराहरू भए पनि त्यसलाई मिलाएर जान सकिने उनले बताए ।
उनले भने, ‘एमसिसी संसदमा विचाराधीन छ । यहाँ छलफल हाेस् । यो कसैको सुरक्षा छातामा छ या छैन यसमा त्यही वेला छलफल हुन्छ । तर, यो एउटा सहायता सम्झौता हो । त्यो सम्झाैता अर्थ मन्त्रालयले गरेको हो । अब त्यो को अर्थमन्त्री हुँदा भयाे भन्ने विषय भएन । प्रधनमन्त्रीले भन्नुभएको छ, यो एउटा सरकारको निरन्तरताको प्रसंग हो । त्यसमा हामीले केही सच्याउनुपर्ने कुराहरू जो हाम्रा सहायक सम्झौताहरू छन्, त्यसमा मिलाएर जान सक्ने विषयहरू रहन सक्छ । त्यसमा केही कुराहरू बुझाइको फरक हुन सक्छ । त्यसमा मिलाएर जान सक्ने विषय हुन सक्छ । एउटा मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्ने र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्ने काम गर्नुहुन्छ जस्तो मलाई अहिले लाग्दैन । बाँकी कुरा संसद्ले छलफल गरेर निर्णय गरोस् ।’
यस अघि १९ जेठमा अर्थमन्त्री खतिवडाले अमेरिकी सहयोग परियोजना, एमसिसी अहिले मात्रै बजेटमा प्रवेश गरेको नभई विगत तीन वर्षदेखि निरन्तर आइरहेको बताएका थिए ।
उनले भनेका थिए, ‘एमसिसीको सहयोगमा हामीले बजेटमा गत तीन वर्षदेखि नै निरन्तर केही कार्यक्रमहरू गर्दै आएका छौँ । आगामी वर्षको बजेटमा पनि त्यो कार्यक्रम राखिएको छ ।’
एमसिसीको रकम संसदमा विचाराधीन रहेकाले सम्झौतापत्र संसद्ले अनुमोदन गरेपछि मात्रै निकासा हुने पनि उनले जानकारी गराएका थिए । त्यो नगरुन्जेल यो रकम यथावत् नै रहने उनको भनाइ थियो ।