मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. मनबहादुर केसी
२०७७ जेठ २७ मंगलबार १०:३५:००
Read Time : > 5 मिनेट
पालिका अपडेट

कोरोना भाइरससँगै जिउने अभ्यास

पिसिआर र आरडिटी परीक्षण भनेको के हो ?

Read Time : > 5 मिनेट
डा. मनबहादुर केसी
२०७७ जेठ २७ मंगलबार १०:३५:००

कोरोना भाइरस सूक्ष्म विषाणु हो, जुन सामान्य माइक्रोस्कोपले देख्न नसकिने सानो आकारको हुन्छ । यसको आकार एक मिलिलिटरलाई १० हजार भागमा विभाजन गर्दा त्यसको करिब एक भागजति मात्र हुन आउँछ ।

यसको अध्ययनका निम्ति विद्युतीय माइक्रोस्कोपको आवश्यकता पर्छ । विद्युतीय माइक्रोस्कोपमा देखिएको बनावट र आकारका आधारमा यो भाइरस कोरोना समूहमा पर्ने विषाणु हो । यो विषाणु पनि सन् २००३ मा महामारीको रूप लिएको सार्स र सन् २०१२ मा फैलिएको मर्सजस्तै कोरोना भाइरस समूहका सात प्रजातिमध्ये एक हो । हामीलाई लाग्ने सामान्य रुघाखोकी पनि यही कोरोना भाइरस समूहको अर्काे एक प्रजातिबाट हुने गर्छ ।

कोभिड–१९ बाट मानिस  कसरी संंक्रमित हुन्छन् ?
कोभिड–१९ श्वासप्रश्वासमा लाग्ने भाइरल संक्रमण हो । यो भाइरसबाट संक्रमित व्यक्तिले हाछ्युँ गर्दा, खोक्दा वा बोल्दा निस्कने सिँगान, र्‍याल वा थुकको छिटाबाट एकआपसमा सर्छ । संक्रमितबाट निस्कने यस्ता छिटा कुर्सी, टेबल, ढोकाको ह्यान्डिल, भर्‍याङ आदिका रेलिङमा टाँसिन सक्छन् । स्वस्थ व्यक्तिले ती ठाउँमा छोएर आफ्नो नाक, मुख र आँखामा छोएमा पनि रोग सर्न सक्छ । यो रोग हावाका माध्यमबाट पनि सर्न सक्ने सम्भावना बताइए पनि अहिलेसम्म पुष्टि भएको छैन।

संक्रमण भएको दुईदेखि १४ दिनसम्म प्रशस्त मात्रामा विषाणु बाहिरिने भएकाले यही अवधिमा सम्पर्कमा आएका अन्य व्यक्तिमा संक्रमण सर्ने सम्भावना प्रबल हुन्छ । यो अवधिभित्र लक्षण नदेखिएको संक्रमितले लक्षण देखिएको व्यक्तिसरह नै रोग सार्न सक्छ । हालसम्म यो रोग रगत, पसिना, दिसा, पिसाब, दूध, बान्ता र वीर्यबाट सरेको पुष्टि भएको छैन ।

यो महामारी तत्काल अन्त्य हुने अवस्था देखिएन । भ्याक्सिन बने र औषधि पत्ता लागे पनि अझै केही समय यो भाइरससँगै जिउनुपर्ने बाध्यता छ । तसर्थ, सावधानी नै यसबाट बच्ने उपाय हो ।

संक्रमित व्यक्तिमा के–के लक्षण हुन्छन् ?
ज्वरो, सुक्खा खोकी र थकाइ लाग्ने यसका मुख्य लक्षण हुन् । उच्च ज्वरो (१०१ डिग्री फरेनहाइटभन्दा बढी) हुन सक्छ । शरीर दुख्ने, सास बढ्ने, घाँटी दुख्ने, नाक बन्द हुने, नाकबाट पानी बग्ने, पखाला लाग्ने, गन्ध र खानाको स्वाद थाहा नपाउने तथा हातखुट्टाको छालामा फोका देखिने पनि हुन सक्छ । अधिकांशमा यी लक्षण बिस्तारै सुरु हुन्छन् र सामान्य अवस्थाका हुन्छन् । तर, कसै–कसैमा लक्षणहरू गम्भीर हुँदै जान्छन् र उपचार प्रभावकारी नभएमा मानिसको मृत्युसमेत हुन सक्छ।

 संक्रमण हुनबाट किन बच्नुपर्छ ?
यो नयाँ भाइरस हो । समुदायमा यसको प्राकृतिक प्रतिरोध क्षमता विकास भएको छैन । सुरुका दिनमा यसको संक्रमण सुस्त देखिए पनि यसको संक्रमण दर यति बढी छ कि छोटो समयमा समुदायलाई नै संक्रमित पार्छ । डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भएको यसको संक्रमण चार महिनामै विश्वभरि फैलिएको थियो । करिब ८० प्रतिशत व्यक्तिमा खासै लक्षण देखा नपरे पनि बाँकी २० प्रतिशत संक्रमितमा सामान्यदेखि गम्भीर लक्षण देखापरिरहेका छन् ।

करिब पाँच प्रतिशत बिरामीलाई त आइसियूमा राखेर कृत्रिम श्वासप्रश्वासको सहायताबाट उपचार गर्नुपरेको छ । आजसम्म करिब ७० लाखजना (परीक्षणबाट प्रमाणित नभएका अन्य धेरै हुन सक्छन्) संक्रमित छन् भने करिब चार लाखले ज्यान गुमाएका छन् । बालबालिका र युवामा मृत्युदर कम भए पनि पाको उमेरका (६५ वर्षभन्दा माथि) तथा उच्च रक्तचाप, हृदयाघात, हर्टफेल, मधुमेह, दम, मिर्गौला रोग, क्यान्सरजस्ता दीर्घरोगका बिरामीमा मृत्युदर उच्च छ ।

कोभिड–१९ को उपचार सम्भव छ ?
नितान्त नयाँ भाइरस भएकाले यसको प्रभावकारी र विशिष्टीकृत औषधि तथा खोपको खोजी जारी छ । साथै, समुुदायमा प्राकृतिक प्रतिरोधी क्षमता पनि विकास भएको छैन । खास औषधि र खोप नभएका कारण अधिक प्रयासका बाबजुद करिब एक प्रतिशत संक्रमितको असामयिक मृत्यु हुने गरेको छ ।

 प्राकृतिक प्रतिरोध क्षमता  (हर्ड इम्युनिटी) भनेको के हो ?
भाइरस संक्रमणमा मानिसले दुई प्रकारले प्रतिरोध क्षमता विकास गर्छन् । समुदायमा करिब ४० देखि ६० प्रतिशत (कोभिड–१९ को हकमा ६७ प्रतिशत) संक्रमित भए भने भाइरसले नयाँ ‘होस्ट’ फेला पार्न सक्दैन र संक्रमण आफैँ हराएर जान्छ, जसलाई प्राकृतिक प्रतिरोध क्षमता भनिन्छ । यो प्रक्रियाले लामो समय लिन्छ र यो बिन्दुमा आइपुग्न धेरै मान्छेको मृत्यु हुुन सक्छ । यसको फाइदा भनेको समुदायमा जोखिममा रहेका समूहलाई बचाउन सकिन्छ । दोस्रो, भ्याक्सिन दिएर प्राप्त गर्ने प्रतिरोध क्षमता हो ।

पिसिआर र आरडिटी परीक्षण भनेको के हो ?
कोभिड–१९ भाइरस एकफिते आरएनए भाइरस हो । पिसिआर प्रविधिबाट गरिने परीक्षण भाइरसको यही आरएनए पत्ता लगाउने विधि हो । संक्रमणको सुरुवाती अवस्था (दोस्रो दिन नै)देखि संक्रमण निको नहुन्जेलसम्म नै यो विधि प्रभावकारी हुन्छ । र, कोभिड–१९ को निदानका लागि हालसम्म यो नै सर्वाेत्तम विधि हो ।

आरडिटी परीक्षण विधिबाट सामान्यतया भाइरसको संक्रमणपछि मानिसको शरीरमा उत्पादन हुने एन्टिबडीको परीक्षण गरिन्छ । एन्टिबडी दुई प्रकारका हुन्छन् । पहिलो हो– आइजिएम । यस प्रकारको एन्टिबडी संक्रमण भएको सात–आठ दिनपछि मानव शरीरमा उत्पादन हुन थाल्छ र संक्रमणको तीन सातातिर हराएर जान्छ । दोस्रो र महŒवपूर्ण एन्टिबडी हो– आइजिजी । यो भाइरस संक्रमणको दुई सातापछि उत्पादन हुन थाल्छ र शरीरभित्र लामो समय (जीवनभर पनि हुन सक्छ) रहने गर्छ । र, यो नै हाम्रो प्रतिरोध क्षमताको मुख्य अस्त्र हो । तसर्थ, आरडिटी विधिबाट परीक्षण गर्दा संक्रमणको सुरुवाती अवस्थामा यसले काम गर्दैन, जुन वेला संक्रमितले अरूलाई रोग सार्ने अवस्था उच्च हुन्छ । त्यसमाथि हाल बजारमा उपलब्ध कतिपय आरडिटी किटको गुणस्तरमै समस्या छ ।

 लकडाउन केका लागि ?
उच्च संक्रमण दर भएको महामारी नियन्त्रणमा लकडाउन प्रमाणित प्रक्रिया हो । लकडाउनले संक्रामक रोगको उपचार र निराकरण गर्दैन । तर, यसले संक्रामक रोगलाई द्रुत गतिमा समुदायमा फैलिनबाट रोक्छ । त्यसैले यस अवधिमा रोग नियन्त्रणका लागि आवश्यक सामग्री (औषधि, उपकरण, परीक्षण आदि पूर्वाधार) व्यवस्थापन गर्नुपर्छ । यदि लकडाउनको समयलाई सदुपयोग गर्न सकिएन भने यसको उपयोगिता त रहँदैन नै, उल्टो समग्र आर्थिक क्रियाकलापलाई जर्जर बनाइदिन्छ ।

 क्वारेन्टाइन र आइसोलेसन किन ?
महामारी फैलिएको क्षेत्रबाट आएका मानिसलाई घर र समुदायमा जानुअघि भौतिक दूरी व्यवस्थापन हुने गरी राख्ने स्थान क्वारेन्टाइन हो । क्वारेन्टाइनमा राख्नुको उद्देश्य परीक्षण गरेर संक्रमित पहिल्याउनु हो र संक्रमण नभएकालाई निश्चित अवधि (सामान्यतया १४ दिन) राखेर घर–समुदायमा पठाइन्छ । परीक्षणबाट संक्रमण पुष्टि भएका मान्छेलाई राख्ने व्यवस्थालाई आइसोलेसन भनिन्छ । क्वारेन्टाइन र आइसोलेसन दुवैका लागि विश्व स्वास्थ्य संगठनले निश्चित मापदण्ड तोकिदिएको छ ।

कोभिड–१९ सम्बन्धी जनमानसमा रहेका आशंका
बेसार, अदुवा, जिरा, लसुन आदि प्रशस्त सेवन गर्ने हुँदा हाम्रो प्रतिरोध क्षमता बढी छ भन्ने भ्रम मात्र हो । यी वस्तुको सेवनले प्रतिरोध क्षमतालाई टेवा पुर्‍याउँछ । साथै, सन्तुलित भोजन लिने गर्दा शरीरले प्रतिरोध क्षमता बढ्छ, तर रोग सर्नबाट रोक्न सक्दैन । यस्तै, बिसिजी भ्याक्सिन तथा अन्य भाइरसको संक्रमणबाट सिर्जित प्रतिरोध क्षमताले पनि कोभिड–१९ को संक्रमणबाट नबचाउने रहेछ ।

आयुर्वेदिक औषधि, होमियोप्याथी, एजिथ्रोमाइसिन, हाइड्रोक्सिक्लोरोक्वाइनजस्ता औषधिले कोभिड–१९ लाग्नबाट कदाचित रोक्न सक्दैनन् । तसर्थ, यी औषधिको सेवन चिकित्सकको सल्लाह र सुझाबमा मात्र गर्नुपर्छ ।

अध्ययनअनुसार एकपटक कोभिड–१९ को संक्रमण भएका व्यक्तिलाई यसले पुनः संक्रमण गर्दैन । यो संक्रमणबाट निको भएका मानिसबाट अन्यलाई रोग सर्दैन । दैनिक उपयोगका सामान तरकारी, दूध आदिका प्याकेट, सिक्का, नोट, एटिएम कार्डबाट यो भाइरसको संक्रमण भएको आधार पाइएको छैन । तैपनि, यथोचित सुरक्षाका उपाय अपनाउन जरुरी छ । गर्मीमा कोभिड–१९ सर्न सक्दैन भन्ने पनि मिथ्या साबित भइसकेको छ । अहिले यो रोग ४०–५० डिग्री सेन्टिग्रेड तापक्रम भएका स्थानदेखि अत्यन्तै चिसो ठाउँसम्म फैलिएको छ ।

आयुर्वेदिक औषधि, होमियोप्याथी, एजिथ्रोमाइसिन, हाइड्रोक्सिक्लोरोक्वाइनजस्ता औषधिले कोभिड–१९ लाग्नबाट कदाचित रोक्न सक्दैनन् । तसर्थ, यी औषधिको सेवन चिकित्सकको सल्लाह र सुझाबमा मात्र गर्नुपर्छ । अन्यथा, गम्भीर समस्या उत्पन्न हुन सक्छ । एयरकन्डिसन प्रयोग गर्न सकिन्छ, तर कोठाभित्र ताजा हावाको व्यवस्था जरुरी छ । तातो पानी पिएर, तातो पानीले मुख धोएर, मदिरा सेवन गरेर यो भाइरस मर्दैन । भाइरसको संक्रमण नभएको घर, गाडी आदिमा कीटनाशक छरेर फजुल खर्च गर्न आवश्यक छैन ।

मृतकबाट यो रोग सर्ने सम्भावना न्यून छ । तसर्थ, सावधानीपूर्वक धार्मिक–सामाजिक संस्कारअनुसार अन्त्येष्टि गर्न डराउनुपर्दैन । मृतकको पोस्टमार्टम गर्नुपरे फोक्सो चिरफारको समयमा भने पर्याप्त सतर्कता अपनाउन जरुरी छ । मृत्युअघि प्रयोग भएका सामान र लगाएका कपडा भने सावधानीपूर्वक व्यवस्थापन गर्न जरुरी हुन्छ । ती वस्तुमा भाइरस टाँसिएर बसेको हुन सक्छ ।

 कोभिड–१९ बाट कसरी सुरक्षित हुने ?
यो महामारीको तत्काल अन्त्य हुने अवस्था देखिएन । भ्याक्सिन बने र औषधि पत्ता लागे पनि अझै केही समय यो भाइरससँगै जिउनुपर्ने बाध्यता छ । तसर्थ, सावधानी नै यसबाट बच्ने उपाय हो ।

साबुनपानीले मिचिमिची हात धुनुपर्छ । अल्कोहल भएको ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नुपर्छ । घरबाहिर निस्किँदा मास्क लगाउनुपर्‍यो । आफ्नै नाक, मुख र आँखामा छुने बानी त्याग्न सक्नुपर्छ । अरूसँग कुरा गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गर्ने, हात नमिलाउने, नमस्कार गर्ने बानी बसाल्ने । आवश्यक काम नपरी घरबाट बाहिर नजाने, भीडभाडमा नजाने, अनावश्यक जमघट नगर्ने नै हो । पाको उमेर र दीर्घरोग भएका व्यक्तिले अतिरिक्त सावधानी अपनाउनुपर्ने हुन्छ । सूर्तीजन्य र मदिराजन्य पदार्थ सेवन नगर्दा यो रोगबाट बच्ने सम्भावना बढी हुन्छ । रोगप्रतिरोधी क्षमता बढाउन सक्ने सन्तुलित भोजन सेवन गर्नुपर्छ । नियमित शारीरिक व्यायामका साथै वन्यजन्तुको मासु परहेज गर्नुपर्छ ।
(डा. केसी वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्)