मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २७ मंगलबार ०५:३५:००
Read Time : > 1 मिनेट
समाचार

रुकुम घटना छानबिन गर्न संसदीय समिति गठन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २७ मंगलबार ०५:३५:००

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोती घटना छानबिनका लागि संसदीय समिति गठन गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा संसदीय समिति गठन गरिएको जानकारी दिएका छन् । 

संसद्ले देवेन्द्र पौडेलको नेतृत्वमा नौसदस्यीय समिति गठन गरेको छ । समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुुन्के, प्रकाश रसाइली (स्नेही), विमला विक, महेश्वरजंग गहतराज (अथक), मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव छन् । सभामुखको निर्देशनमा रहेर आफ्नो कार्यविधि तय गर्न सक्ने समितिलाई ३० दिनको समयावधि दिइएको छ । आवश्यक देखेमा सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन सक्ने वा समितिमा आमन्त्रण गर्न सक्ने सुविधा पनि समितिलाई दिइएको छ ।

प्रतिनिधिसभा बैठकमा यसबारे जानकारी दिँदै सभामुख सापकोटाले संसद्मा प्रश्न उठेकाले समिति गठन गरिएको बताए । उनले भने, ‘सोतीमा ०७७ जेठ १० गते घटेको घटनाबारे प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको र उक्त घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेस गर्न विशेष समिति गठन गर्ने सम्बन्धमा मैले सदनलाई जानकारीसमेत गराइसकेको हुँदा तत् सम्बन्धमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम संसदीय विशेष समिति गठन गर्नका लागि समिति गठन भएको छ ।’ प्रतिनिधिसभा नियमावलीको १७७ ले विशेष समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ । जसमा भनिएको छ, ‘प्रतिनिधिसभामा आवश्यकताअनुसारका अन्य विशेष समिति गठन गर्न सकिनेछ । त्यस्तो समिति गठन गर्नुपरेमा समितिले गठन गर्नुपर्ने काम र सोको समयावधिसमेत उल्लेख गरी समितिमा रहने सदस्यको नामावलीसहितको प्रस्ताव सभामुखले बैठकमा प्रस्तुत गर्नेछ ।’

गैरदलित समुदायकी प्रेमिकालाई भगाएर बिहे गर्न १० जेठमा जाजरकोटबाट सोती पुगेका नवराज विकसहित १८ युवकलाई स्थानीय बासिन्दाले कुटपिट गरेका थिए । घटनामा नवराजसहित ६ जनाको ज्यान गएको थियो । उनीहरूको शव भेरी नदीमा भेटिएको थियो । 

यसअघि गृह मन्त्रालयले पनि उपसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको छ । गृहमन्त्री रामबहादुर थापाले १३ जेठको प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएका थिए । गृह मन्त्रालयको समितिसँगै जिल्ला, प्रदेश र केन्द्रको प्रहरी टोली पनि अनुसन्धानमा खटिएको छ ।