मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २६ सोमबार १०:२५:००
Read Time : > 2 मिनेट
नयाँCity

लकडाउनमा पुनर्निर्माण : रोकियो धरहरा,  बन्दै छ रानीपोखरी

Read Time : > 2 मिनेट
२०७७ जेठ २६ सोमबार १०:२५:००

सूर्यलाल महर्जन ललितपुरको खोकनादेखि रानीपोखरीसम्म दैनिक ओहोरदोहोर गर्छन् । लकडाउनको समयमा विभिन्न स्थानमा सुरक्षाकर्मीसँग हुने वादविवाद उनका लागि सामान्य बनिसकेको छ । आठ महिनायता उनी रानीपोखरीको पुनर्निर्माणमा खटेका छन् । ‘धेरै समस्याबीच पुनर्निर्माणमा खटिन पाउँदा ज्यादै खुसी लाग्छ,’ पर्खालमा इँटा मिलाउँदै महर्जनले भने, ‘यहाँ मजस्तै अन्य धेरै साथीले समस्या बेहोर्दै काम गरिरहेका छन् । हामी सबै यहाँ पुण्यको काम गरिरहेका छौँ ।’

उनका अनुसार ललितपुर, भक्तपुर र कीर्तिपुरका कामदार मोटरसाइकल र साइकलमा तथा पैदल पनि आउने गरेका छन् । स्वयम्भूका टेकबहादुर थापामगर उत्तरतर्फको पर्खाल लगाउन व्यस्त थिए । पोखरीको उत्तरी मोहडामा कालो माटो बिछ्याउने र पर्खाल लगाउने काम मात्र बाँकी रहेको उनी बताउँछन् । भन्छन्, ‘तीबाहेकका काम लगभग पूरा भएका छन्, अहिले कालो माटो र माअप्पा (ठूलो आकारको इँटा) बिछ्याउने काम भइरहेको छ ।’

दुई लाख २० हजार वर्गफिटको रानीपोखरीमा पानी अड्याउन १५ देखि १८ इन्चसम्म कालो माटो बिछ्याइएको छ । मध्यभागस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण र चारैतिरको पर्खाल लगाउने ठेक्का सिए तुलसी कन्स्ट्रक्सन जेभीले पाएको छ । लकडाउनबीच पनि पुनर्निर्माणलाई अन्तिम रूप दिने प्रयास भइरहेको जेभीका अध्यक्ष शान्तकुमार श्रेष्ठ बताउँछन् । ‘पुनर्निर्माण सकिनै लाग्दा लकडाउन भयो, नत्र भूकम्प गएको दिन १२ वैशाखमै उद्घाटन गर्ने तयारी थियो,’ उनी भन्छन्।

पोखरीको मैदान सम्याउने काम उपभोक्ता समितिमार्फत भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिए तुलसी कन्स्ट्रक्सन जेभीसँग भदौ ०७६ मा सम्झौता गरेको थियो । ‘सम्झौताअनुरूप हामी लक्ष्यनजिक थियौँ,’ श्रेष्ठ भन्छन्, ‘कोरोना भाइरसको महामारीले सबै उथलपुथल बनायो, केही अवरोध नभए अब दुई महिनाभित्र काम सक्ने लक्ष्य छ।’

लकडाउनअघिसम्म दैनिक एक सय ८० देखि दुई सय कामदार खटिएका थिए । अहिले भने दैनिक २५ कामदार मात्र खटाइएको छ । श्रेष्ठका अनुसार नौ महिनाभित्र ८० प्रतिशत काम सकिएको छ । पोखरी र मन्दिरको पुनर्निर्माणको बजेट २५ करोड हो, हालसम्म नौ करोड खर्च भएको छ ।

बालगोपालेश्वर मन्दिर शिखर (ग्रन्थकुट) शैलीमा बनिरहेको प्राधिकरणका सम्पदा विशेषज्ञ इन्जिनियर राजुमान मानन्धर बताउँछन् । १२ वैशाख ०७२ मा भूकम्पबाट क्षतिग्रस्त भएको मन्दिर गुम्बज शैलीको थियो, जुन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्माण भएको मानिन्छ । तत्कालीन राजा प्रताप मल्लले वि.सं. १७२७ (नेपाल संवत् ७९०) मा छोरा चक्रपालेन्द्र मल्लको मृत्युबाट विक्षिप्त बनेकी रानीलाई सान्त्वना दिन रानीपोखरी र बालगोपालेश्वर मन्दिरको निर्माण गराएको इतिहासमा उल्लेख छ ।

इन्जिनियर मानन्धरका अनुसार ५३ फिट अग्लो मन्दिरको जगदेखि मुख्य देवता राखिने एक तलासम्मको काम सकिएको छ । विशेष शैलीको बुट्टेदार इँटा उपलब्ध नहुँदा मन्दिरको काम रोकिएको उनी बताउँछन् । भन्छन्, ‘पाँच सय गोटा बुट्टेदार इँटा अर्डर भइसकेको छ, त्यो आएपछि बाँकी काम सुरु हुन्छ ।’ उनका अनुसार मन्दिर पुनर्निर्माणमा सुर्की, चुना, ढुंगा, काठ र कलात्मक इँटा प्रयोग भइरहेको छ ।

रानीपोखरीबाट करिब एक किलोमिटर पश्चिम–दक्षिणस्थित धरहराको पुनर्निर्माण पनि धमाधम भइरहेको छ । यहाँ लकडाउनअघिसम्म दैनिक करिब तीन सय मजदुर हुन्थे, अहिले सयजना पनि छैनन् । लकडाउन घोषणा भएको राति नै आधाभन्दा बढी कामदार आ–आफ्नो घर फर्केका थिए । लकडाउन नभएको भए हालसम्म १५ वटा तलाको काम सकिइसक्ने धरहरा पुनर्निर्माणमा पनि प्रत्यक्ष संलग्न रहेका इन्जिनियर मानन्धर बताउँछन् । लिफ्टसहितको २२ तले धरहरा निर्माण गर्ने सरकारको योजना छ।

‘केही काम सीमित व्यक्तिले मात्र गर्न सक्छन्, अन्यले सक्दैनन्,’ पुनर्निर्माणको समस्या बताउँदै मानन्धर भन्छन्, ‘धरहराको आकार मुनि ठूलो र माथि सानो हुन्छ, कतिपय स्थानमा दुई डिग्रीमा ढल्काएर निर्माण सामग्री जडान गर्र्नुपर्छ, जुन घर गएको जनशक्तिबाट मात्र सम्भव थियो ।’ त्यसैले धरहरा ठड्याउने काम रोकिएको छ । त्यसका बाबजुद धरहरा परिसरमा ढलानको काम जारी नै छ । पुनर्निर्माणमा आवश्यक सामग्री सहजै उपलब्ध भइरहेको मानन्धर बताउँछन् । ‘सरकारले पनि निर्माणलाई सहज बनाएको छ, निर्माण सामग्री बोकेका गाडीलाई कुनै रोकटोक छैन,’ उनी भन्छन्।

दुई वर्षभित्र सकिने गरी २२ रोपनी क्षेत्रफलमा धरहराको पुनर्निर्माण भइरहेको छ । परियोजनाको लागत तीन अर्ब ८० करोड रुपैयाँ हो । हालसम्म ४६ प्रतिशत काम सकिँदा ९६ करोड रुपैयाँ खर्च भएको छ । धरहराको क्षेत्र विस्तार गर्ने क्रममा गोश्वारा हुलाक कार्यालयको १५ रोपनी र काठमाडौं मलको केही भाग सरकारले अधिग्रहण गरेको छ । नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएको धरहरा वि.सं. १९९० को भूकम्पले ध्वस्त भएको थियो, जसको पुनर्निर्माण राणा प्रधानमन्त्री जुद्ध शमशेरले गराएका थिए । १२ वैशाख ०७२ को भूकम्पले भत्काएको सोही पुनर्निर्मित धरहरा थियो ।