मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका 
२०७५ पौष ३ मंगलबार १२:०९:००
Read Time : > 1 मिनेट
प्रदेश

विराटनगरको व्यापारिक मलमा आधुनिक सिनेमा हल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका 
२०७५ पौष ३ मंगलबार १२:०९:००

विराटनगरमा एक सय करोडको लगानीमा निर्माण भइरहेको अत्याधुनिक सेन्टर मलभित्र आधुनिक सुविधाको सेन्टर मल्टिप्लेक्स सिनेमाघर सञ्चालनमा आएको छ । विराटनगरका चर्चित औद्योगिक घरानाहरूले लगानी गरेको उक्त मलभित्र ११ करोड लगानीमा उक्त मल्टिप्लेक्स २९ मंसिरबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

लगानीकर्ता देबेनरा ग्रुपका निर्देशक प्रकाश मुन्दडाका अनुसार मल्टिप्लेक्सभित्र दुईवटा छुट्टाछुट्टै आधुनिक सिनेमा हल छन् । एउटा सिनेमा हलमा दुई सय ५० गरी दुवैमा पाँच सय दर्शक अटाउँछन् । मलभित्र सञ्चालनमा आएको मल्टिप्लेक्स अन्तर्राष्ट्रियस्तरको रहेको र विराटनगरको पहिलो भएको निर्देशक मुन्दडाले दाबी गरे । मल्टिप्लेक्समा सर्वसाधारणका लागि दुई सय ५० देखि ५ सय रुपैयाँका सिल्भर, गोल्ड र महाराज क्लासका प्लाटिनम सिटको व्यवस्था छ । 

सञ्चालित हलमा टुडी र थ्रिडी प्रविधि जडान गरिएको छ । शुक्रबार छक्का पञ्जा ३ की निर्देशक दीपाश्री निरौलासहित कलाकार दीपकराज गिरी, केदार घिमिरेलगायतले उक्त मल्टिप्लेक्सको उद्घाटन गरेका हुन् । आधुनिक सिनेमा घरहरूको निर्माणले चलचित्र क्षेत्रको गुणस्तरको विकासमा मद्दत पु¥याएको निर्देशक दीपाश्रीले बताइन् । छक्का पञ्जा ३ का निर्माता दीपकराज गिरीले आधुनिक सिनेमा हल निर्माण हुँदा आफ्नै घर थपिएजस्तो अनुभूति हुने बताए । व्यावसायिक घरानाहरू सिने क्षेत्रमा प्रवेश गर्दा नेपाली चलचित्र उद्योगको पनि विकास हुने उनको विश्वास छ ।  

१६ कठ्ठा क्षेत्रफलमा एक सय करोडको लगानीमा विराटनगरका चर्चित व्यापारिक घरानाहरू विशाल, देबेनरा र हाइलाइफ ग्रुपले संयुक्त रूपमा निर्माण गरेको सेन्ट्रल मल तीन महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउनेछ । मलभित्र एक सयभन्दा बढी व्यापारिक स्टल रहनेछन् । मल सञ्चालनमा आएपछि प्रदेश १ को राजधानी विराटनगरको महत्व बढ्ने विश्वास लगानीकर्ताहरूको छ । 

प्रदेश १ को अस्थायी राजधानी विराटनगर महानगरमा सामान्य सुविधाको हिमालय र आधुनिक सुविधासहितको सिटी सिनेमा सञ्चालित छन् । तर, मलभित्रै सिनेमा हल भएको सिनेमा घरचाहिँ सेन्टर मल्टिप्लेक्स पहिलो हो ।