मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
डा. डिला संग्रौला
२०७७ जेठ २५ आइतबार १५:५६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

राष्ट्रवादी बन्ने प्रतिस्पर्धा

Read Time : > 4 मिनेट
डा. डिला संग्रौला
२०७७ जेठ २५ आइतबार १५:५६:००

कोभिड–१९ को महामारीले सारा संसारै आतंकित भइरहेका वेला हाम्रो मुलुकमा को बढी राष्ट्रवादी बन्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । राष्ट्रवाद एउटा अमूर्त चिज होइन । त्यही भएर प्रसिद्ध लेखक मार्क ट्वेनले छद्मभेषी राष्ट्रवादीलाई व्यंग्य गर्दै भनेका थिए, ‘त्यो व्यक्ति जो सबैभन्दा चर्को चिच्याउँछ, तर केका लागि चिच्याएको छ भन्ने जान्दैन, त्यही राष्ट्रवादी हो ।’ अहिले हाम्रो देशको सन्दर्भमा ठीक यस्तै भएको छ । हामीले खोजेको राष्ट्रवाद प्रजातान्त्रिक राष्ट्रवाद कि अधिनायकवादी राष्ट्रवाद ? जातीय, क्षेत्रीय, धार्मिक राष्ट्रवाद कि सम्पूर्ण जनतालाई एउटै सूत्रमा गाँस्ने राष्ट्रवाद ?

राष्ट्रवादले अवश्य नै एउटा राष्ट्रिय भावना जागृत गर्छ । यो एउटा आध्यात्मिक भावना पनि हो । राष्ट्रवाद जनताको राष्ट्रिय भावनाको प्रतिफल हो । विशेष गरेर यसको विकास एउटै भू–खण्डमा बसेका एउटै जातिबाट हुन्छ । यस्ता जातिका भाषा, धर्म, परम्परा र हित समान हुन्छन् । यिनै राष्ट्रिय भावनाको उपलब्धिको रूपमा राष्ट्रवादको जन्म हुन्छ । राष्ट्रियता भनेको एक विश्वास वा भावना हो । जसका माध्यमबाट व्यक्तिले आफ्नो राष्ट्रसँग आफूलाई गाँसेर हेर्छ, आफ्नो परिचय दिन्छ र एक प्रकारको लगाव प्रकट गर्छ । राष्ट्रियता स्वभावैले आत्मिक र आन्तरिक हुन्छ । राष्ट्रवाद त्यस्तो आस्था हो वा प्रेमपूर्ण बन्धनको नाम हो, जसअन्तर्गत आफ्नो साझा इतिहास, परम्परा, भाषा र संस्कृतिका आधारमा नागरिक एकजुट हुन पुग्दछन् । वस्तुतः राष्ट्रप्रेमी, अपनत्व र प्रेमको शाब्दिक रूप नै राष्ट्रवाद हो । राष्ट्रियताकै भावनाबाट राष्ट्र विकसित हुन्छ । यस्तै, राष्ट्रवादी नेता बिपी कोइरालाका अनुसार राष्ट्रियता र राष्ट्रिय एकताप्रतिको बुझाइमा राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराले हुँदैन, त्यो विकासक्रम द्वन्द्वात्मक हुन्छ । विचारको संघर्षले राष्ट्रिय हितको सम्बन्धमा मतभिन्नताबाट निस्किने त्यो सामूहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियताको भावना गहिरिँदै, बाक्लिँदै र फराकिलो र दृढतर हुँदै जान्छ । राष्ट्रियताको विवेचना गर्दा प्रथम र अन्तिम तत्व नै जनता हुन् । यसर्थ राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना हो ।

राष्ट्रवादको दायराभित्र जनताको पिरमर्का, भावनाका साथै बाँच्न पाउनुपर्ने मौलिक अधिकार किन अटाउँदैनन् ?

आज मुलुकमा विभिन्न आवरणमा कोभन्दा को बढी राष्ट्रवादी हुने होडबाजी चलिरहेको छ । तर, राष्ट्रवादको दायराभित्र जनताको पिरमर्का, भावनाका साथै बाँच्न पाउनुपर्ने मौलिक अधिकार किन अटाउँदैनन् ? आज एउटा बेरोजगार व्यक्तिलाई सोध्यो भने उसका लागि रोजगारी राष्ट्रवाद हुन्छ । आज एउटी बिरामी महिलालाई सोध्यो भने उनका लागि औषधि उपचार राष्ट्रवाद हुन्छ । आज विदेशमा अलपत्र परेर बस्न बाध्य भएका नेपालीलाई सोध्यो भने उनका लागि स्वदेश फर्कन पाउने अवसर राष्ट्रवाद हुन्छ । आज देशका सम्पूर्ण जनतालाई सोध्यौँ भने छिमेकी मुलुक भारतले मिचेको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता लिने अठोट राष्ट्रवाद हुन्छ । त्यसैले राष्ट्रलाई भाषणमा मात्र होइन, जनताको जनजीविकासँग गाँस्न सक्नुपर्छ । 

आज फेरि राष्ट्रियता र स्वाधीनतामाथि भारतले हस्तक्षेप गरेको छ । खासगरी, नेपाली भूभाग कालापानी, लिपुलेक हुँदै चीनको धार्मिक पर्यटकीय स्थल मानसरोवर जोड्ने सडकको उद्घाटन भारतका रक्षामन्त्री राजनाथ सिंहले गरेपछि नेपाली राजनीतिमा राष्ट्रवादको नयाँ तरंग उत्पन्न भएको छ । भारतीय विस्तारवादले एकपछि अर्को गर्दै नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतामा निरन्तर हमला गरेको छ । लिपुलेक नाका त्रिदेशीय रणनीतिक स्थान हो । जसलाई नेपालको सहमतिबेगर भारत र चीनले साझा व्यापार मार्ग बनाउन सन् २०१५ मा सहमति गरे । तत्कालीन सरकारले भारत र चीनलाई औपचारिक रूपमै विरोधपत्र पठायो । यस्तै अन्तरालमा वर्तमान सरकारले पनि दुईपटक कूटनीतिक नोट पठाउँदा पनि भारतले बिल्कुल चासो राखेन । सदन र सडकबाट विरोधका स्वर उठेपछि सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्दै संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गराएको छ । 

मधेसवादीले राष्ट्रियता भूमि मात्र होइन, मधेसमा बस्ने मधेसीको हकहितलाई जबसम्म ध्यान दिइँदैन, तबसम्म जमिनले मात्र राष्ट्रियता बच्दैन भन्दै संविधान संशोधनको प्रस्ताव दर्ता गराएका छन् । त्यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारबाट प्रस्तुत गरिएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । साथै, मधेसी जनताको हकहितका लागि नेपाली कांग्रेसको पालामा राखिएको संशोधन प्रस्तावलाई समेटेर सदनमा लैजान संसदीय दललाई निर्देशन गरेको छ । यसरी राष्ट्रवादी कोभन्दा को कम भन्ने शैलीमा होड नै चलेको छ । तर, जबसम्म शासनसत्तामा जानेले जनताको आधारभूत आवश्यकता पूरा गर्न असीमित हात फैलाउने काममा कमी हुँदैन, तबसम्म हाम्रो राष्ट्रियता बलियो हुन सक्दैन । यो मौसमी राष्ट्रवादमा केन्द्रित हुन पुग्छ । भोको पेट, नांगो शरीर, सँधै अभाव र समस्याले ग्रसित कुपोषणयुक्त जीवनशैली यापन गरिरहेका विपन्न असहाय नागरिकले केलाई मान्ने राष्ट्रवाद ? किनभने, राष्ट्रवादका अनेकौँ रूप देखा परेका छन् । केही शासक सत्ता टिकाउनका लागि जस्तोसुकै सम्झौता गर्न पनि पछि पर्दैनन्, तर सत्ताबाहिर पुगेपछि राष्ट्रवादको बेमौसमी बाजा बजाउने गर्छन् । त्यसैले यहाँ रङ–रङका राष्ट्रवादी, कोही भारतविरोधी राष्ट्रवादी, कोही चीनप्रशंसक राष्ट्रवादी, कोही राजावादी राष्ट्रवादी, कोही तलबी राष्ट्रवादी, कोही असली राष्ट्रवादी रूपमा देखा परेका छन् । 

हामीले खोजेको राष्ट्रवाद प्रजातान्त्रिक राष्ट्रवाद कि अधिनायकवादी राष्ट्रवाद ? जातीय, क्षेत्रीय, धार्मिक राष्ट्रवाद कि सम्पूर्ण जनतालाई एउटै सूत्रमा गाँस्ने राष्ट्रवाद ?

नेपालको सन्दर्भमा हेर्ने हो भने दुईवटा ठुल्ठूला शक्तिशाली छिमेकी राष्ट्रका बीच हामी छौँ । यी दुवै शक्तिराष्ट्रको राजनीतिक प्रभाव नेपाली राजनीतिमा परेकै देखिन्छ । नेपालमा धेरै पहिलेदेखि नै आफू चीनको नजिक हुन भारतविरोधी राष्ट्रवादले मलजल गरेको छ । जहिले पनि उत्तरमा रहेको छिमेकी राष्ट्र चीनको प्रभाव नेपालको राजनीतिमा परेको देखिन्छ । जस्तै, नेपालमा नेकपाको सरकार गठन भएपछि चीनबाट कम्युनिजमको प्रशिक्षण दिने टोली नै काठमाडौं आयो र प्रशिक्षण दिएर फिर्ता भयो । नेपालमा कुनै पनि देशको अति प्रशंसा गर्ने नीतिले राष्ट्रवाद बलियो हुँदैन । यसले हाम्रो स्वभिमानमाथि दख्खल पुग्न जान्छ  

राजावादी राष्ट्रवादी 

दुई सय ४० वर्षीय राजतन्त्रलाई फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको पनि १३ वर्ष भइसक्यो, तर राजावादीहरू अहिले पनि ‘राजा आऊ देश बचाऊ’ भन्दै राजावादी राष्ट्रवाद प्रकट गरिरहेका छन्, जसले गणतन्त्रलाई बलियो बनाउँदैन । मधेसमा रहेका जनताको रक्षा र भारतसँग जोडिएका सिमानाको सुरक्षा मधेसवादीले मात्र गर्न सक्छन् भन्ने भ्रम मधेसी जनतामा सिर्जना गर्ने, तर रातारात भारतीय दूतावासमा गएर वास बस्ने प्रवृत्तिले अहिले राष्ट्र जोगिन सक्दैन । नेपालको राजनीतिमा तलबी एजेन्टको रूपमा कोही भारतीय राष्ट्रवादी बनी चीनको विरोध मात्र गर्ने, कोही चीनबाट भत्ता प्राप्त गरी भारतको विरोध मात्र गर्ने राष्ट्रवादीको पनि कमी छैन । यस्ता तलबी राष्ट्रवादीबाट राष्ट्रियताको संरक्षण र संवद्र्धन हुन सक्दैन ।

राष्ट्रियता स्वभावैले आत्मिक र आन्तरिक हुन्छ । राष्ट्रवाद त्यस्तो आस्था हो वा प्रेमपूर्ण बन्धनको नाम हो, जसअन्तर्गत आफ्नो साझा इतिहास, परम्परा, भाषा र संस्कृतिका आधारमा नागरिक एकजुट हुन पुग्दछन् । वस्तुतः राष्ट्रप्रेमी, अपनत्व र प्रेमको शाब्दिक रूप नै राष्ट्रवाद हो ।

वेलावेलामा नेपालमा राष्ट्रियताको नारा लाग्ने गर्छ । जब मुलुकमा स्वधीनता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको सवाल आउँछ, त्यसको संरक्षण र संवद्र्धन गर्न असली राष्ट्रवादी को बन्ने भन्ने सुरु हुन्छ । नेपालको राजनीतिक परिवर्तनमा कहिले राणाबाट, कहिले पञ्चायतबाट, कहिले राजाबाट पनि मुलुकको राष्ट्रियता र लोकतन्त्रमा भएको आक्रमण होस् वा छिमेकी मुलुक भारतले गरेको सीमा अतिक्रमणको विरुद्धमा सधैँ चट्टानी अडानका साथ नेतृत्व लिने पार्टी नै असली राष्ट्रवादी हुन् । राष्ट्रवाद, शब्दजाल, कागजी नक्सा र नक्कली राष्ट्रवादको ढोंगी प्रवृत्ति होइन । यो त हरेक नागरिकको मनमस्तिकबाट उब्जिने सामूहिक भावना, देशप्रतिको मायाममता, जनताप्रति जिम्मेवारी र सबैलाई एकताको सूत्रमा बाँध्ने एउटा कसी हो । राष्ट्रियता लोकतन्त्रमा मात्र बाँच्न सक्छ । 

राष्ट्रियता, राष्ट्रिय एकता र लोकतन्त्र एक–अर्कामा अविभाज्य तत्व हुन् । त्यसैले राष्ट्रवादको नाम गरेको सस्तो लोकप्रियताले राष्ट्रियता बलियो हँुदैन । त्यसैले आफ्नो देशका जनताका लागि रोजीरोटीको सवाललाई समाधान गर्न नसक्ने कसरी राष्ट्रवादी बन्न सक्छन् ? पहिला देशलाई आत्मनिर्भर बनाऔँ, तब मात्र अहिलेको राष्ट्रवादलाई जनताले स्वीकार गर्न सक्लान्, तर यस्तो बनावटी राष्ट्रवादले देश र जनताको भलो गर्दैन । नेपालको राष्ट्रवाद सधैँ नारामा सीमित हुने गरेको छ । खासगरी, सत्ता नपाएको झोकमा राष्ट्रवादको नारा घन्काउने सत्ताप्राप्तिपछि राष्ट्रवादलाई तिलाञ्जली दिने हाम्रो प्रवृत्तिले राष्ट्रवाद देखाउने राजनीतिक नारा मात्र हुन पुग्यो । देशमा राष्ट्रियताको भावना त्यतिवेला जागृत हुन्छ, जब जनता समृद्ध हुन्छन् । आफ्नो भोको पेट पाल्नका लागि एकाबिहानै भौँतारिनु पर्दैन ।