मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २४ शनिबार १६:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमले सांसदको हैसियत वडाध्यक्षजस्तो बनायो : गगन थापा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २४ शनिबार १६:०९:००

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमले सांसदहरूलाई वडाध्यक्षजस्तो बनाएको बताएका छन् । 

शनिबार संसदमा बोल्दै थापाले स्थानीय पूर्वाधार विकास साझेदारी कोषबाट सांसद्ले वडाध्यक्षजस्तो पैसा लिन थालेदेखि अवस्था पहिलाको भन्दा झनै बिग्रिएको उल्लेख गरे । 

पूर्वाधार कोषमा केन्द्रित हुँदै उनले भने, ‘पञ्चायतकालमा जसरी बजेट निर्माण हुन्थ्यो, बहुदलीय कालमा त्यसैगरी गरियो । बहुदलीय कालमा जसरी गरिन्थ्यो गणतन्त्र आइसकेपछि पनि ठ्याक्कै त्यस्तै कुरालाई पछ्यायौँ । बजेट निर्माणमा संसद्को भूमिका के हो ? विधायकको भूमिका के ? हामीले बोक्ने विचारधाराको भूमिका के ? हाम्रो घोषणापत्रको अर्थ र सम्बन्ध के रहन्छ ? हामीले कहिल्यै छलफल गरेनौँ । हामी पनि दौडियौँ । कहिले चुरोटको खोलको चिर्कटोमा योजना लेखेर मन्त्रीको ढोकामा गयौँ, कहिले आफ्नो लेटरप्याडमा लेखेर पुग्यौँ । पहिलाको भन्दा स्थिति झनै बिग्रियो । जबदेखि हामीले स्थानीय पूर्वाधार विकास साझेदारी कोष, यसबाट वडाध्यक्षजस्तो पैसा लिन थाल्यौँ पहिलाको भन्दा स्थिति झनै बिग्रियो । हाम्रो हैसियत अहिले वडाध्यक्षको जस्तो भएको छ ।’

यसलाई बदल्ने कुरामा गुनासो र गनगन गरेर मात्रै नहुने उनले बताए । यसलाई साँच्चिकै बदल्ने हो भने हस्तक्षेप गर्नका निम्ति केही अभ्यास र कानुन बदल्नुपर्ने उनको सुझाब थियो । 

त्यसको प्रारम्भ सांसदहरू वडाध्यक्ष भएर हाेइन, विधायक भएर गर्नुपर्ने उनले बताए । 

उनले भने, ‘यो कोषलाई यसपटकको बजेटबाट हटाउनका निम्ति सरकारलाई भन्छौँ भनेर त्यहीँबाट सुरु गर्नुपर्छ ।’

अर्थमन्त्री अग्लो भएकाले भुइँमान्छेको कुरा नसुनिएको भन्दै थापाले व्यंग्य पनि गरे । 

‘विनियोजन विधेयकमा छलफल गर्दै गर्दा हामीले सरकारलाई केही भन्यौँ, तर देखेन । रोगले भन्दा भोकले मरेको देखेन । सुत्केरीले उपचार नपाएको देखेन भनेर भन्यौँ । खासगरी अर्थमन्त्रीलाई भन्यौँ,’ उनले भने, ‘तर, यो भन्दै गर्दा हामीले कुरा गरेको भुइँमान्छेहरूको बारेमा हाे, अर्थमन्त्री अग्लो हुनुहुन्छ । अग्लो मान्छेलाई भुइँतिर हेर्न गाह्रो हुन्छ । त्यही भएर नदेखिएको हो । अर्थमन्त्रीको दुःख पनि बुझिदिनुपर्छ ।’

बजेटमा स्वास्थ्य मन्त्रालयले प्राथमिकता पाउनु सकारात्मक भए पनि विगतका आर्थिक वर्षको बजेटलाई केलाएर हेर्दा यो रकम कम नै भएको उनले बताए ।