१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रमोद साह
२०७७ जेठ २४ शनिबार १३:१०:००
Read Time : > 7 मिनेट
दृष्टिकोण

अंग्रेजीमाध्यम शिक्षाका भ्रम

Read Time : > 7 मिनेट
प्रमोद साह
२०७७ जेठ २४ शनिबार १३:१०:००

शिक्षामा भाषाको प्रयोगबारे अंग्रेजीमाध्यम शिक्षा सम्भवतः सबैभन्दा बढी चर्चामा रहेको विषय हो । यसबारेको छलफल ०७१/७२ पछि स्थानीय तहले आफ्ना विद्यालयलाई अंग्रेजी माध्यममा परिणत गर्न थालेपछि ह्वात्तै बढेको हो । अंग्रेजीमाध्यम शिक्षा नेपालको परिवेशमा नयाँ होइन, तर विगत केही वर्षयता यसको अनुसन्धान र प्रयोगले एउटा नयाँ बहसको सुरुवात गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि पछिल्लो दशकयता अंग्रेजीमाध्यम शिक्षाको प्रयोग, विकास र अनुसन्धान निकै तीव्र गतिमा बढेको छ । ब्रिटिस काउन्सिलको सहयोगमा अक्सफोर्ड विश्वविद्यालयले ५५ देशमा गरेको अनुसन्धानले अंग्रेजीमाध्यम शिक्षा पछिल्लो १० वर्षमा निकै फस्टाएको पुष्टि गरेको छ । 

यस अनुसन्धानअनुसार अंग्रेजीमाध्यम शिक्षा एउटा यस्तो विश्वव्यापी फेनोमेननको रूपमा स्थापित भएको छ कि अधिकांश देशमा अंग्रेजीमाध्यम शिक्षासम्बन्धी स्पष्ट नीति तयार नगरीकनै अंग्रेजीमाध्यम शिक्षाको प्रयोग भइरहेको छ । यस सन्दर्भमा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक अर्नेस्टो मकारोले भनेका छन्, ‘अंग्रेजीमाध्यम शिक्षा कहिल्यै नरोकिने रेलगाडी हो, जुन आफ्नो स्टेसनबाट हिँडिसकेको छ ।’

अंग्रेजी भाषालाई विद्यालय शिक्षामा पठनपाठनको मुख्य माध्यम बनाउँदा हुनसक्ने हानिबारे सबै वेलैमा सचेत हुनुपर्नेछ

यो वास्तवमा कहिल्यै नरोकिने रेलगाडी हो, अथवा यसले अरूलाई बेवास्ता गर्दै अगाडि बढेको छ भन्ने आफैँमा बहसको विषय हो । यी दुवै अवस्थामा रेलगाडी चढ्न नसकेका यात्रुको मनोवैज्ञानिक पीडा, चढेर पनि गन्तव्यमा अलमलिएकाको पीडा र गाडीको प्रदूषणले तत्कालीन वातावरण (भाषिक इकोसिस्टम)मा पारेको असरबारे हामी चिन्तित हुनु आवश्यक छ । यसैको पेरिफेरिमा रहेर यस आलेखमा अंग्रेजीमाध्यम शिक्षाका केही भ्रमबारे छलफल गरिनेछ । 

अंग्रेजीमाध्यम गुणस्तरीय शिक्षा हो ?
शिक्षामा माध्यम भाषाको छनोट बालबालिकाको शिक्षाको गुणस्तर र उनीहरूको भविष्य निर्धारण गर्ने प्रक्रिया हो, जुन हरेक समाजको आर्थिक, सामाजिक र राजनीतिक पृष्ठभूमिमा तयार हुन्छ । जस्तै, शिक्षामा नेपाली भाषाको मात्रै प्रयोग गरिने नीति नेपालीभाषी उच्च वर्गको औपनिवेशिक विचारको उपज हो । जसले अन्य भाषा बोल्ने विद्यार्थीको शैक्षिक गुणस्तर मात्र होइन कि उनीहरूको जागिरको पहुँच, आर्थिक, सामाजिक र मानसिक अवस्था पनि निर्धारण गर्‍यो । 

यस प्रक्रियामा नेपाली भाषाको प्रभुत्वले नकारात्मक असर पारेको थियो र अझै पनि पारिरहेको छ । विगतको समयलाई हेर्ने हो भने अन्य भाषी समुदायले पनि नेपालीमाध्यम शिक्षा गुणस्तरीय र आवश्यक ठानेको देखिन्छ, किनभने नेपालीभाषी विद्यार्थीको शैक्षिक प्रगति तुलनात्मक रूपमा राम्रो थियो । हामीले सोच्नुपर्ने कुरा के हो भने के नेपाली भाषाले शिक्षाको गुणस्तर निर्धारण गरेको थियो ? थियो भने कुन समुदाय र वर्गका व्यक्तिका लागि ? अंग्रेजीमाध्यम शिक्षाको बहस पनि माथि उल्लेखित नेपालीमाध्यम शिक्षाको बहससँग मिल्दोजुल्दो देखिन्छ ।

अंग्रेजीमाध्यममा शिक्षाको रोजाइ अभिभावकका लागि गुणस्तरसँग जोडिएको पाइन्छ । अभिभावकका अनुसार नेपालीमाध्यम विद्यालयमा शिक्षाको गुणस्तर सन्तोषजनक छैन, त्यसैले अंग्रेजीमाध्यम उनको छनोट हो । यो भनाइ वास्तवमा भ्रम मात्र हो । पहिलो, संयुक्त राष्ट्रसंघका अनुसार शिक्षा त्यति वेला गुणस्तरीय हुन्छ, जब त्यो समुदायका बालबालिकाले आफ्नै मातृभाषामा अध्ययन गर्न पाउँछन् । अधिकांशका हकमा अंग्रेजी तेस्रो भाषा हो भने शिक्षाको गुणस्तर राम्रो हुन्छ भन्नेमा सहमत हुन सकिन्न । यदि पढाइएको विषय राम्रोसँग बुझिँदैन भने सिकाइ पनि प्रभावकारी हुँदैन । 

अंग्रेजीमाध्यम शिक्षाले समानता ल्याउँछ ?
मुख्यतया सामुदायिक विद्यालयले अंग्रेजीमाध्यम अपनाउनुको कारण गरिब र पिछडिएका वर्गको उत्थानका लागि हो भन्ने मानसिकता रहेको पाइन्छ । आर्थिक, सामाजिक र राजनीतिक तवरबाट पछाडि पारिएका समुदायले अंग्रेजीमाध्यम शिक्षालाई वैकल्पिक प्रभुत्व (अल्टरनेटिभ हेजेमोनी)का रूपमा लिएको पाइन्छ । जसले कुलीन वर्गसँगको समान स्तरमा पुर्‍याउन बल पुर्‍याउँछ भन्ने विश्वास राख्छ । वास्तवमा हाम्रो देशको सन्दर्भमा यो भ्रम हो । आर्थिक, सामाजिक र राजनीतिक उत्थानका लागि चाहिने गुणस्तरीय शिक्षा हो, जुन मातृभाषाबाट सम्भव छ । 

एकल भाषा नीतिले एउटा समुदायलाई फाइदा पुर्‍याउँछ भने बाँकी समुदायलाई सीमान्तकृत बनाइरहेको हुन्छ । यस अर्थमा अंग्रेजी माध्यम शिक्षाले अंग्रेजी भाषामा पहुँच हुनेलाई फाइदा पु¥याए पनि अन्यलाई हानि पुर्‍याइरहेको हुन्छ ।

नवउदारवादी नीतिमा चल्ने देशमा कुलीन वर्गका बालबालिकासँग अंग्रेजीमाध्यम शिक्षा प्राप्त गर्नका लागि चाहिने आर्थिक हैसित र स्रोत उपलब्ध हुन्छ । जुन, विपन्न परिवारका बालबालिकाका लागि सम्भव नहुन सक्छ । ती कुलीन वर्गका बालबालिकाको देखासिखीमा अंग्रेजीमाध्यम शिक्षाको मोहले एउटा यस्तो सांस्कृतिक प्रतिमान (कल्चरल प्याराडाइम) विकास भएको छ, जसको भुमरीमा परेर गरिब र पिछडिएका वर्गको भाषिक मानवअधिकारको उल्लंघन भएको छ । उनीहरू गुणस्तरीय शिक्षाको पहुँचबाट वञ्चित छन् । 

अंग्रेजीमाध्यम शिक्षाबाट पिछडिएका वर्गले मध्यमवर्गको पहिचान कायम गर्न प्रयास गरिरहेका हुन्छन् । कुलीन वर्गका केटाकेटी केही हदसम्म यो माध्यमबाट लाभान्वित छन्, तर त्यो यसले गर्दा पक्कै भएको होइन । उनीहरूसँग उपलब्ध स्रोतसाधनले बढी भूमिका खेलिरहेको हुन्छ । साथै, अंग्रेजीमाध्यम शिक्षाले मुख्यतः उनीहरूमा पश्चिमेली संस्कृतिप्रतिको झुकाव बढाउँदै लैजान्छ, जुन आफैँमा चिन्ताको विषय हो । 

अंग्रेजीमाध्यमले अंग्रेजीको विकास गर्छ ?
अंग्रेजीमाध्यम विद्यालय जाँदैमा अंग्रेजी भाषाको विकास हुँदैन । खासगरी, सामुदायिक विद्यालय जुन अंग्रेजीमाध्यम शिक्षाको नीति धमाधम अपनाउँदै छन्, के त्यहाँका शिक्षक अंग्रेजी भाषामा दक्ष छन् ? अंग्रेजी भाषा राम्ररी बोल्नै नजान्ने शिक्षकले अंग्रेजीमाध्यमबाट विषयवस्तु कसरी पढाउन सक्लान् ? साथै, नबुझ्ने भाषामा रहेको पाठ्यपुस्तकबाट विद्यार्थीले कसरी ज्ञान प्राप्त गर्लान् ? कुनै दोस्रो वा तेस्रो भाषामा सिकाइका लागि विद्यार्थीलाई उक्त भाषामा थप सहयोग र स्रोत चाहिने हुन्छ । तर, जहाँ शिक्षक नै अंग्रेजी बोल्न सक्दैनन् भने सिकाइ कसरी प्रभावकारी हुन्छ ?

अंग्रेजीमाध्यम अभिभावकको रोजाइ हो ?
अंग्रेजीमाध्यम शिक्षा अभिभावकको रोजाइ हो भन्ने विषय नेपाल सरकारको शैक्षिक नीतिसँग सम्बन्धित दस्तावेजमा बारम्बार उल्लेख गरेको पाइन्छ । मातृभाषा शिक्षा प्रभावकारी नहुनुको कारण पनि अभिभावकले अंग्रेजीमाध्यम शिक्षालाई नै रोज्नु हो भनी दस्तावेजमा उल्लेख गरिएको छ । जुन वास्तवमा भ्रमबाहेक केही होइन ।

यो खासमा कुलीनले निर्माण गरेको भाष्य हो, जसले जनमानस र नीति निर्माण गर्नेको सोचलाई प्रभावित पार्छ । ‘माग र आपूर्ति’को खेलमा अंग्रेजीमाध्यम शिक्षा अभिभावकको चाहना हो भनी देखाएर अंग्रेजीको खुराक शिक्षा नीतिमा प्रवेश गराइएको छ । हालैको ‘राष्ट्रिय शिक्षा नीति’ले अंग्रेजी भाषालाई विद्यालय शिक्षाको माध्यमका रूपमा लागू गर्नुपर्ने प्रस्ट्याएको छ । के अभिभावकको चाहना अंग्रेजीमाध्यम शिक्षा नै हो त ? हाम्रो भाषा शिक्षा नीति अभिभावककै चाहनाअनुरूप बनाइएको हो त ? जबकि, यसलाई पुष्टि गर्ने गरी कुनै पनि सर्वेक्षण भएको हालसम्म ज्ञात छैन । यस्ता सर्वेक्षणमा सोधिने प्रश्नले पनि अभिभावकबाट आउने उत्तरको आकलन गर्न सकिन्छ । 

मैले गरेको अनुसन्धानमा अभिवाकलाई ‘के तपाईंको उद्देश्य तपाईंको बच्चाले अंग्रेजी भाषा सिकोस् भन्ने हो अथवा अंग्रेजीमाध्यमबाट सम्पूर्ण विषयवस्तु पढोस् भन्ने हो ?’ भनी सोध्दा अभिभावकको जवाफ स्पष्ट थियो– ‘मेरो बच्चा अंग्रेजीमा बोल्न जाने पुग्छ । विषयवस्तु जुन भाषामा पढाए पनि हुन्छ ।’ यसको अर्थ सम्पूर्ण पाठ्यक्रम अंग्रेजी माध्यमबाटै पढाउनुपर्छ भन्ने पक्कै होइन ।

गणित, विज्ञान र कम्प्युटर अंग्रेजीमा पढाइनुपर्छ ?
नेपालको राष्ट्रिय शिक्षा नीति ०७६ ले ‘गणित र विज्ञान विषयलाई अंग्रेजी भाषामा पनि अध्यापन गर्न सकिने’ व्यवस्था गरेको छ । हामीले सोच्नुपर्ने के हो भने ती विषयसँग सम्बन्धित पाठ्यपुस्तक अंग्रेजी भाषामा भएकै कारणले सम्पूर्ण विद्यालय शिक्षाको माध्यम नै अंग्रेजी बनाउने कि पाठ्यपुस्तक स्थानीय भाषामा निर्माण गर्ने ?

प्राध्यापक एलिजाबेथ अर्लिगले अंग्रेजी भाषा र पेसागत विकासको सम्बन्धमा दक्षिण एसियामा गरेको अनुसन्धानले के देखाउँछ भने जागिर पाउनका लागि अंग्रेजी भाषाको सीपभन्दा पनि पेसागत सीप र मानिसको भाषिक, जातीय, आर्थिक, लैंगिक तथा अन्य सामाजिक पहिचानले मुख्य भूमिका खेलेको हुन्छ

हामीले गलत अभ्यासलाई सुधार्ने हो, चलिआएको गलत अभ्यासलाई निरन्तरता दिनका लागि अर्को नयाँ कमजोरी गर्ने होइन । गणित र विज्ञानजस्ता विषयका शब्द नेपाली भाषामा नभएको तर्क गर्न सकिन्छ । खासमा जुन शब्द नेपालीमा छैनन्, ती शब्द अंग्रेजी भाषामै राख्न सकिन्छ अथवा तिनको अन्तरभाषीकरण गर्न सकिन्छ । तर, विषयवस्तुको छलफल स्थानीय भाषा अथवा विद्यार्थीले बुझ्ने भाषामा गरिनुपर्छ । 

पेसागत र आर्थिक विकासमा अंग्रेजी शिक्षा
अहिलेको युगमा पेसागत र आर्थिक विकासका लागि अंग्रेजीमाध्यम शिक्षा चाहिन्छ भन्ने सोचको सकारात्मक आधार छैन । सर्वप्रथम अंग्रेजी भाषाको ज्ञान, आर्थिक र पेसागत विकासको सम्बन्ध कुनै पनि अनुसन्धानले देखाएको छैन । केही हदसम्म अंग्रेजी भाषाको ज्ञानले केही निश्चित पेसामा पुर्‍याउन सहयोग नगरेको भने होइन । तर, अंग्रेजी मात्रको ज्ञानले जागिर पाइन्छ भन्ने सोच गलत हो । 

प्राध्यापक एलिजाबेथ अर्लिगले अंग्रेजी भाषा र पेसागत विकासको सम्बन्धमा दक्षिण एसियामा गरेको अनुसन्धानले के देखाउँछ भने जागिर पाउनका लागि अंग्रेजी भाषाको सीपभन्दा पनि पेसागत सीप र मानिसको भाषिक, जातीय, आर्थिक, लैंगिक तथा अन्य सामाजिक पहिचानले मुख्य भूमिका खेलेको हुन्छ । अर्का प्राध्यापक रियोको कुबोटाले चीन, दक्षिण कोरिया र थाइल्यान्डमा ट्रान्सनेसनल कामदारमा गरेको अनुसन्धानले पेसागत रूपमा अंग्रेजी भाषाको प्रयोग ती देशमा न्यून रहेको देखाएको छ । हामीले पनि नेपालको परिवेशमा अंग्रेजी भाषा मात्रै बोलेर कतिजनाले जागिर पाएका छन् भन्ने विचार गर्न सक्छौँ । यति हुँदाहुँदै पनि अंग्रेजी भाषाको महत्वलाई हामीले नजरअन्दाज गर्न मिल्दैन । 

विशेष गरेर अंग्रेजी बोलिने राष्ट्रलाई गन्तव्य बनाउने व्यक्तिका लागि अंग्रेजी भाषाको महत्व हुन्छ नै । तर, पछिल्लो जनगणनाअनुसार ७.३ प्रतिशत नेपाली मात्र विदेशमा बस्दछन् र ७.३ प्रतिशतका लागि सम्पूर्ण शिक्षा नै अंग्रेजीमाध्यममा गर्नुपर्छ भन्ने सोचाइ गलत हो । आवश्यकताअनुसार अंग्रेजी भाषाको विकास जुनै पनि उमेरमा गर्न सकिन्छ । 

अंग्रेजी विश्वव्यापी भाषा हो ?
अंग्रेजी अन्तर्राष्ट्रिय र टेक्नोलोजीको युगमा नभइनहुने भाषा हो भन्ने तर्क व्यापक रूपमा सुनिन्छ, जसले अंग्रेजीमाध्यम शिक्षाको विकासलाई बढावा दिएको छ । खास गरेर नेपालमा अंग्रेजी भाषा शिक्षणसम्बन्धी सम्मेलनमा यो तर्क सुन्ने गरिन्छ । ‘इंग्लिस इज अ ग्लोबल ल्यांग्वेज’को विचारधारा आफैँमा निकै विवादित विचारधारा हो । अहिलेको युगमा अंग्रेजीले लिंग्वा फ्रान्क अर्थात् विभिन्न भाषा बोल्ने व्यक्तिका बीच माध्यम भाषाको रूपमा काम गर्छ । यो भाषा विश्वभर नै बोलिने हुँदा हामीले यो भाषा सिक्नुपर्छ भन्ने सोचको विकास भएको हुनुपर्छ । 

वास्तवमा अंग्रेजी भाषाको आवश्यकतालाई पूर्ण रूपमा नकार्न पनि सकिँदैन, तर प्राध्यापक रियोको कुबोटाले भनेअनुसार विश्वका तीनचौथाई जनसंख्याले अंग्रेजी भाषा नबोलेको अवस्थामा यसलाई विश्वव्यापी भाषाको रूपमा परिभाषित गर्नु भ्रमात्मक सोच मात्र हो । अंग्रेजी बोलिने देशमा पनि पेसागत अथवा व्यावहारिक रूपमा अंग्रेजी भाषाको मात्रै प्रयोग हुन्छ भन्ने सोच भ्रम हो । 

उदाहरणका लागि मेरो विश्वविद्यालयनजिकै एउटा नाईको पसल छ । ती चाइनिज नाईले केही शब्दबाहेक प्रस्ट रूपमा अंग्रेजी बोल्न जान्दैनन्, त्यसैले म फोनमा हेयरस्टाइलको फोटो लिएर जान्छु, जसका आधारमा उनले कपाल काट्छन् । उनको धेरै ग्राहक चाइनिज भएकाले पनि उनलाई आफ्ना ग्राहकसँग संवाद गर्न कठिनाइ हुँदैन । यसले अंग्रेजीविना बाँच्न सकिँदैन भन्ने विचारलाई काट्छ । उदाहरणका लागि अस्ट्रेलियाको मेलबर्न अथवा अमेरिकाको नेब्रस्का सहरमा, जहाँ नेपालीभाषीको संख्या निकै धेरै छ, नेपालीले अंग्रेजी नबोलीकन पनि पेसागत रूपमा बाँच्न सक्छन् जस्तो मलाई लाग्छ ।

अंग्रेजी शिक्षामा अरू भाषाको प्रयोग 
अंग्रेजीमाध्यम शिक्षामा अन्य भाषाको प्रयोगले अंग्रेजी भाषा शिक्षणमा बाधा पुर्‍याउँछ भन्ने सोच पनि भ्रमपूर्ण नै हो । धेरै यस्ता विद्यालयले ‘इंग्लिस वन्ली जोन’को नीति अपनाएका छन्, जुन शिक्षण सिकाइका साथै मानसिक तथा भावनात्मक रूपमा पनि हानिकारक हुन्छ । 

यसले संयुक्त राष्ट्रसंघले प्रत्याभूति गर्न भनेको भाषिक मानवअधिकारको पनि उल्लंघन गरेको छ । वास्तवमा विद्यार्थीको मातृभाषा तथा उनीहरूले बुझ्ने भाषाको प्रयोग गर्दा अंग्रेजी भाषाको सिकाइसँगै विषयवस्तुको सिकाइलाई पनि सहयोग पुर्‍याउँछ भन्ने अनुसन्धानले पुष्टि गरिसकेको छ । तसर्थ, अंग्रेजीमाध्यम शिक्षा नै विकल्प हो भने विद्यार्थीको मातृभाषा र अन्य स्थानीय भाषालाई कक्षाकोठामा विषयवस्तुको ज्ञान बढाउने स्रोतको रूपमा लिनुपर्छ । 

अंग्रेजीमाध्यमबाट शिक्षण गराउन तालिम चाहिँदैन ?
अंग्रेजीमाध्यम शिक्षासम्बन्धी नेपालमा भएको अनुसन्धानले सामुदायिक विद्यालयले तयारीविना नै अंग्रेजीमाध्यम शिक्षा नीति अपनाइरहेको देखिन्छ । यसले गर्दा अनेक किसिमका शिक्षण सिकाइसँग सम्बन्धित तथा सामाजिक र आर्थिक समस्या उब्जिएका छन् । अंग्रेजीमाध्यम शिक्षामा अंग्रेजी भाषा र विषयवस्तु दुवैलाई प्रभावकारी रूपमा विद्यार्थीसमक्ष पुर्‍याउनु ठूलो चुनौती हुन्छ । अंग्रेजीमाध्यम शिक्षामा काम गर्ने शिक्षकलाई अंग्रेजीमाध्यम शिक्षाका दुई पाटा ‘अंग्रेजी भाषा र विषयवस्तु’ प्रभावकारी रूपमा विद्यार्थीलाई सिकाउनका लागि विशेष तालिमको आवश्यकता पर्छ । 

आजको युगमा अंग्रेजी भाषाको महŒवलाई नजरअन्दाज गर्न खोजिएको पक्कै होइन, तर अंग्रेजी भाषालाई विद्यालय शिक्षामा पठनपाठनको मुख्य माध्यम बनाउँदा हुन सक्ने हानिबारे सबै वेलैमा सचेत हुनुपर्नेछ । साथै, अंग्रेजीमाध्यमलाई नै विकल्पको रूपमा लिने हो भने यस शिक्षासम्बन्धी मुख्य भ्रम जनमानसमा पुर्‍याउनुपर्ने हुन्छ । 

वास्तवमा शिक्षाको माध्यम भाषा छनोट एउटा राजनीतिक प्रक्रिया हो, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विभिन्न भाषिक र जातीय समुदायलाई सामाजिक र आर्थिक रूपले असर पारेको हुन्छ । तसर्थ, एकल भाषा नीतिले एउटा समुदायलाई फाइदा पुर्‍याउँछ भने बाँकी समुदायलाई सीमान्तकृत बनाइरहेको हुन्छ । यस अर्थमा अंग्रेजीमाध्यम शिक्षाले अंग्रेजी भाषामा पहुँच हुनेलाई फाइदा पु¥याए पनि अन्यलाई हानि पुर्‍याइरहेको हुन्छ ।
(लेखक युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया क्यानडामा विद्यावारिधि गर्दै छन्)