मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ जेठ २४ शनिबार ०९:१५:००
Read Time : > 2 मिनेट
सप्तरंग

चलचित्र विकास बोर्डमा नयाँ अध्यक्ष : पूरा होलान् त  चलचित्रकर्मीका अपेक्षा ?

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ जेठ २४ शनिबार ०९:१५:००

त सुटिङ स्पटमा ‘एक्सन–कट’को आवाज, न सिनेमा घरमा दर्शक । क्यामेरा स्टोरमै थन्किएका छन्, निर्माता, निर्देशक र कलाकार घरघरमै कैद छन् । कोभिड–१९ को महामारीका कारण ठप्प छ, सिने जगत् ।

यही वेला चलचित्र विकास बोर्ड सम्हाल्नुपर्ने दायित्व थपिएको छ, निर्देशक दयाराम दाहाललाई । २९ मंसिर ०७६ मा बोर्डका अध्यक्ष केशव भट्टराईको निधनपछि रिक्त पदमा सरकारले दाहाललाई नियुक्त गरेको छ । दाहालसामु चुनौतीका चाङ मात्र छैनन्, नेपाली सिने क्षेत्रलाई पुरानै लयमा फर्काउने अवसर पनि छ । अबको दुई वर्ष नेपाली सिनेमालाई नयाँ लय दिन उनको भूमिका महत्वपूर्ण हुने सिने क्षेत्रका हस्तीहरू बताउँछन् ।

‘उपयुक्त मान्छे बोर्डमा आउनु खुसीको कुरा हो,’ बोर्डका संस्थापक अध्यक्ष यादव खरेल भन्छन्, ‘चुनौतीहरू नभएका होइनन्, तर नयाँ अध्यक्षले तिनलाई पर्गेल्न सक्नुपर्छ ।’ सरकारले राष्ट्रिय चलचित्र नीति पारित गरिसकेकाले त्यसैमा टेकेर नेपाली सिने उद्योगलाई दीर्घकालीन यात्रामा अगाडि बढाउने अवसर उनीसँग रहेको खरेलको ठम्याइ छ । ‘कोभिड–१९ का कारण चलचित्र क्षेत्र धराशायी बनेको छ, बोर्डले लिने हरेक निर्णयले परिणाम दिन सक्छन्,’ खरेल भन्छन् ।

दाहाल आफैँ नेपाली सिनेमाका अनुभवी र महँगा निर्देशक मानिन्छन् । यसअघि सदस्यका रूपमा बोर्डमा रहेर काम पनि गरिसकेका छन् । नेपाली सिने उद्योगलाई राम्रोसँग बुझेका व्यक्ति भएकाले उनले लिने पहलकदमीले परिणाम दिने अपेक्षा रहेको निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् । ‘निर्माता र हलसञ्चालकहरूको करोडौँ लगानी जोखिममा छ । त्यो लगानी उठे मात्र निर्माताले अर्को चलचित्र बनाउने हो,’ अधिकारी भन्छन्, ‘भविष्यमा डिजिटल प्लेटफर्ममा नेपाली चलचित्रलाई प्रवेश गराउने योजना पनि आउनुपर्छ ।’ छायांकन र रिलिज रोकिएका चलचित्रका लागि सहज वातावरण निर्माणमा अध्यक्ष दाहालको भूमिका अपेक्षा रहेको उनी बताउँछन् ।

बोर्डकै पहलमा १ साउन ०७६ देखि सिनेमाघरहरूमा बक्सअफिस लागू भएको छ । तर, त्यसको कार्यान्वयन पक्ष फितलो छ । बक्सअफिसले दिने रिपोर्टप्रति निर्माताहरू विश्वस्त हुन सकेका छैनन् । विश्वसनीय वातावरण तयार पार्ने जिम्मेवारी दाहालको रहेको उनको भनाइ छ ।

कोभिड–१९ को महामारी सकिएपछि पनि ५–६ महिना हल चल्न सक्दैनन् । नयाँ चलचित्र रिलिज गर्न निर्माताले मान्दैनन् । करोडौँ लागतमा खुलेका हलहरू टाट पल्टिने जोखिममा छन् । यस पाटोमा बोर्ड सचेत हुनुपर्छ ।

‘कोभिड–१९ को महामारी सकिएपछि पनि ५–६ महिना हल चल्न सक्दैनन् । नयाँ चलचित्र रिलिज गर्न निर्माताले मान्दैनन्,’ नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीप उदय भन्छन्, ‘करोडौँ लागतमा खुलेका हलहरू टाट पल्टिने जोखिममा छन् । यस पाटोमा बोर्ड सचेत हुनुपर्छ ।’ सिनेमाघर र रिलिज हुन नसकेका सिनेमाका लागि राहत प्याकेज ल्याउन दाहालको पहल हुने अपेक्षा रहेको उदय बताउँछन् ।

‘हलहरू सञ्चालनमा ल्याउन विद्युत् महसुल छुट दिनु आवश्यक छ,’ अधिकारी भन्छन्, ‘बैंकको ब्याज पाँच प्रतिशतमा झार्न सक्नुपर्छ ।’ अन्य उद्योगसरह चलचित्र क्षेत्रका लागि पनि सहुलियत प्याकेज ल्याउनुपर्ने उदय बताउँछन् ।

नेपाली सिनेमामा करिब तीन हजार पाँच सयजना प्राविधिक छन् । उनीहरूमध्ये अधिकांशको आर्थिक स्थिति लकडाउनले धराशायी बनाइदिएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा बताउँछन् । ‘अहिलेसम्म जसोतसो छाक टारिएको छ । अब कसरी टार्ने भन्ने तनाव छ,’ उनी भन्छन्, ‘बोर्ड र सरकारले चलचित्र छायांकनमा जाने वातावरण तयार पार्नुपर्‍यो ।’

त्यसबाट निर्माता, निर्देशक, कलाकार, हलसञ्चालक, वितरक र प्राविधिक सबैले काम पाउने र चलचित्र उद्योगलाई फाइदा पुग्ने उनको धारणा छ । प्राविधिकको ज्यालाबाट काटिने टिडिएस छुट गराउने पहलको अपेक्षा अध्यक्ष दाहालसँग रहेको उनी बताउँछन् । वितरक करण श्रेष्ठ ‘क्रेजी’ पनि महामारीका कारण पुगेको क्षति न्यूनीकरणमा अध्यक्ष दाहालको उचित पहलको अपेक्षा रहेको बताउँछन् ।