मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फोटो क्रमशः सरिता गिरी, गंगा चौधरी र अमृतादेवी अग्रहरि
२०७७ जेठ २३ शुक्रबार १७:३०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

संसदमा तीन महिला सांसदको झगडा

Read Time : > 2 मिनेट
२०७७ जेठ २३ शुक्रबार १७:३०:००

प्रतिनिधिसभाको गत १९ जेठको बैठकमा ‘नेपालको संसदभित्र भारतीय चेलीको दादागिरी’ चलेको भन्ने अभिव्यक्ति आएको थियो । नेकपा सांसद गंगा चौधरीले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई लक्षित गर्दै उक्त आरोप लगाएकी थिइन् । १९ जेठको बैठकमा अनुपस्थित रहेकी गिरीले चौधरीको भनाइमाथि शुक्रबारको बैठकमा कटाक्ष गरिन् । रगत उमाल्ने अभिव्यक्ति दिएको भन्दै गिरीले आफ्नो पदको मर्यादाका कारणले मात्रै उनलाई भौतिक आक्रमण नगरेको बताइन् ।

चौधरीको उक्त भनाइलाई ‘हेट स्पिच’कै संज्ञा दिइन् गिरीले । उनको भनाइ थियो, ‘मेरो अनुपस्थितिमा संसद्को एक मान्यले जुन मन्तव्य दिनुभयो त्यसलाई घृणाको मन्तव्य भन्छन् । अर्थात, अंग्रेजीमा ‘हेट स्पिच’ भन्छन् । किनकि उहाँले रगत उमाल्ने कुरा गर्नुभयो । मेरो पदको मर्यादा थिएन भने भौतिक रूपमा आक्रमणमा उत्रिन्थेँ । भारतीय चेली नेपाली संसदमा आएर दादागिरी गरिरहेकी छ भन्नुभयो । म यस्तो भाषा त प्रयोग गर्दिनँ । प्रेम, आग्रह र सदभावका साथ के भन्छु भने कानुनी कारबाहीका लागि यो हेट स्पिच पर्याप्त छ । सरकार र गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यो रेकर्डलाई लिएर कानुनी कारबाही अघि बढाइयोस् । पूरै सार्वभौम संसदमाथि आक्रमण भएको छ । त्यसकारण यो हेट स्पिचलाई संसद्को रेकर्डबाट हटाउनुहोस् । जब यो संसद्को रेकर्ड बनाइन्छ, देशमा विभाजनको दरार यहीँबाट सुरु हुन्छ । संसदमै जासुस, दलाली र दादागिरी भइरहेको आरोप लगाइन्छ भने यो कुनै माननीयको मात्रै हाेइन पुरै संसदमाथि आक्रमण हो ।’

आफूले भारत र चीन दुवै देशसँग संवाद गरेर अघि बढ्नुपर्छ मात्रै भनेको गिरीले बताइन् । मिडियामा प्रायोजित समाचार आएको भरमा त्यसैलाई आधार मानेर धारणा दिनु गलत भएको उनको भनाइ थियो । सांसदले वस्तुगत तथ्य र प्रमाणका आधारमा बोल्नुपर्ने उनले बताइन् ।

आफूलाई भारतीय चेली भन्नेहरू चीनबाट परिचालित भएको हो कि भन्ने उनको शंका थियो । चौधरीको श्रीमानले दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा चीनले दिएको भारतीय रकम बाँडेकोसमेत उनले आरोप लगाइन् ।

कानुनअनुसार जनताको बीचमा संघर्ष गरेर आफू संसदमा आएको भन्दै गिरीले चाँदीको चम्चामा यो पद कसैले नदिएको बताइन् । उनले नेकपा संसदीय दललाई आग्रह गरिन्, ‘नेकपा संसदीय दल, पार्टी, अध्यक्षलाई के भन्छु भने आफ्ना नेता–कार्यकर्तालाई ठीक ढंगले प्रशिक्षित गर्नुस् ।’

गिरीले मात्रै हाेइन, सांसद अमृतादेवी अग्रहरिले पनि चौधरीको भनाइप्रति आपत्ति जनाइन । अग्रहरिले नामै किटेर चौधरीको कडा आलोचना गरिन् । संसदमा जो कसैले खुन ठण्डा गरेर आउनुपर्ने र कसैको खुन तातो छ भने बागमतीमा गएर छलाङ मार्नुपर्ने उनको भनाइ छ । 

सीमा नाघेर आफूहरूमाथि आरोप लगाइएको भन्दै उनले संसद् अपमान गर्ने ठाउँ नभएको बताइन् । ‘यहाँ हिन्दी भाषाको कुरा आएको छ । हामीलाई जुन भाषामा बोल्न सहज हुन्छ त्यही भाषा बोल्छौँ । हामीले शपथग्रहण पनि हिन्दी भाषामै लिएको हो । हिन्दी भाषा बोलेकै भरमा हामीलाई अपमान गरिएको छ । हिन्दी बोल्नेबित्तिकै जोकोही हिन्दुस्तानी हुँदैन । अंग्रेजी बोल्नेबित्तिकै कोही बेलायती नागरिक हुँदैन । जसलाई जुन भाषा सरल हुन्छ त्यही भाषा बोल्छ,’ उनले भनिन् ।

यो देशको सच्चा राष्ट्रवादी मधेसी भएको दाबी गर्दै अग्रहरिले मधेसीहरूले नै सीमा रक्षा गरेको बताइन् । उनले भनिन्, ‘कागजको टुक्रामा कोर्दैमा नेपालको भूमि फिर्ता आउँदैन । नैनीताल, हरिद्वार, पिथौरागढसम्मै कोरे पनि त्यो हाम्रो हुँदैन । त्यस्तै, भारतले आफ्नो नक्सामा काठमाडौं, पोखरा समावेश गरे पनि यो भूमि उनीहरूको हुँदैन । वार्ताको टेबलबाट जग्गा फिर्ता ल्याउनुपर्छ । जग्गा बेचेर नौटंकी गरेर जग्गा फिर्ता आउँदैन । कूटनीतिक वार्ता गर्नुस् । सक्दैनौ भने कुर्सी छाडिदेऊ र मधेसीलाई देरू, मधेसीले उक्त भूमि फिर्ता ल्याउँछन् ।’
यो विवाद गत ४ जेठबाटै सुरु भएको थियो । त्यस दिनको बैठकमा सांसद गिरीले नेपालले आफ्नो नक्सा सार्वजनिक गर्दा भारत र चीनको पनि समर्थन लिनुपर्ने बताएकी थिइन् ।

आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले भारत र चीनसँग संवाद नगरी नक्सा जारी गर्ने घोषणाले सरकारको परराष्ट्र नीतिमाथि पनि प्रश्न उठेकाे बताएकी थिइन् । ‘लिपुलेकको विवाद आएको छ । भारत र चीनसँग संवादविना नै जसरी राष्ट्रपतिको मुखबाट नयाँ नक्सा सार्वजानिक गर्ने कुरा गरियो, त्यसले चाहिँ विदेश नीतिको क्षमतामाथि प्रश्नचिह्न उठाउँछ,’ उनले भनिन्, ‘एकातिर राष्ट्रपतिले नयाँ नक्सा सार्वजानिक गर्ने बताउनेअर्काेतिर परराष्ट्रमन्त्रीले नक्सा सार्वजनिक गर्न संविधान बाधक छ भन्ने । विदेशनीति जुवानीति हाेइन । ग्याम्बलिङ हाेइन । यहाँ तपाईं दुई छिमेकीसँग वार्ता गरिरहनुभएको छ । दुई छिमेकीसँग वार्ता गर्नुपर्छ ।’

१९ जेठमा चौधरीले गिरीको उक्त भनाइलाई कटाक्ष गर्दै उनलाई ‘भारतीय चेली’को समेत आरोप लगाइन् । चौधरीको भनेकी थिइन्, ‘नेपालमाथि भारतको दादागिरी । नमिचिएको भूमि छैन । नहेपिएको ठाउँ छैन । भन्दाभन्दै यो सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो । मेरो देशको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने ? यो कस्तो विडम्बना ?’