Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
अजय राजभण्डारी
२०७७ जेठ २३ शुक्रबार ०२:४६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

कोभिड–१९ ले वातावरण संरक्षणमा झन् चुनौती

Read Time : > 3 मिनेट
अजय राजभण्डारी
२०७७ जेठ २३ शुक्रबार ०२:४६:००

कोभिड–१९ ले विश्व आक्रान्त भइरहेको वर्तमान अवस्थामा नेपाल अवस्य पनि यसबाट अछुतो रहन सक्दैन । पछिल्लो घटनाक्रमलाई हेर्दा नेपालमा पनि यसको प्रकोप बढ्दै गएको र सरकार स्वास्थ्य संकटकाल घोषणा गर्नतिर अग्रसर देखिन्छ । तर, यो संकटले स्वास्थ्य, सामाजिक, आर्थिकलगायत क्षेत्रमा मात्र असर पुऱ्याएको छैन, पर्यावरणीय क्षेत्रमा त यसको असर झन् दीर्घकालीन रूपमा पर्ने आकलन पनि भइरहेको छ । 

यसैबीच विभिन्न सञ्चारमाध्यमबाट वातावरणीय दृष्टिकोणले यसलाई प्रकृतिका निम्ति सुखद रहेको भान हुनेजस्ता विभिन्न समाचारले चर्चा–परिचर्चा पायो । चाहे त्यो वायु प्रदूषणको तह घटी काठमाडौं उपत्यकाबाट नै सगरमाथा देखिएको, छिमेकी मुलुक भारतका कतिपय राज्यबाट हिमशृंखला देखिएको, नदीनालामा पानीको गुणस्तरमा आएको सुधार वा दुर्लभ वन्यजन्तु स्वच्छन्द रूपले विचरण गरेका खबरले सञ्चारमाध्यममा राम्रै स्थान पायो । तत्कालका लागि यस्ता समाचार सुखद रहे पनि कतै हामी क्षणिक घटनाहरूले गर्दा दिग्भ्रमित त भएका छैनौँ भन्ने आभास हुन्छ । पक्कै पनि, छोटो समयका लागि भए पनि प्रकृतिले अहिले सुस्ताउन पाएको छ । मानव सिर्जित विभिन्न प्रकारका प्रदूषणबाट केही हदसम्म कमी भएर वातावरण अहिले तंग्रिन खोजेको त हो । तर, समय रहँदै उपयुक्त कदम चालिएन भने यस विश्राम र महामारीपश्चात् हुन सक्ने वातावरणीय प्रभाव निकै भयावह र चुनौतीपूर्ण हुन सक्छ ।

ब्राजिल, रोन्डानियोको पोर्टो भेल्हो नजिक अमेजन रेन फरेस्टमा अगष्टमा लागेको डडेलो । तस्बिर : न्युयोर्क टाइम्स

गौणसँग हेर्ने हो भने अहिलेको कोरोना भाइरस संकटमा प्रकृतिले पहिलाभन्दा झन् ठूलो संकट व्यहोर्दै छ । कोरोना भाइरसका कारण अफ्रिकाका पहाडी गोरिल्लाहरू संक्रमित पारेर अस्तित्व नै नाश हुन सक्ने चिन्ता पनि त्यत्तिकै छ । यिनको ९८ प्रतिशत डिएनए मानवसँग मिल्छ । लकडाउनका दौरान कतिपय मुलुकको सुरक्षा र रेन्जरको क्षमतामा कमी आएकाले चोरी सिकारी बढ्ने डर त्यत्तिकै छँदै छ, आर्थिक मन्दीका कारण पनि लोपोन्मुख प्रजातिको सिकार आकासिन सक्छ भनेर धेरै सरोकारवाला चिन्तित छन् । अहिले यही लकडाउनको मौका छोपेर इन्डोनेसिया र अमेजनको वनविनाश आकासिएको समाचार आइरहेका छन् । भाइरस फैलिँदा आर्थिक कोषलाई स्वास्थ्य क्षेत्रमा लगाउनुपर्छ, जसले गर्दा वातावरण संरक्षणको क्षेत्रमा गरिने लगानीमा कतौती हुन सक्छ । यसको पनि सीधा मार वन्यजन्तु संरक्षण र पर्यावरणमा पर्नेछ । त्यसैले सतहमा अहिले प्रकृति पुरानै लयमा फर्केजस्तो लागे पनि यो महामारी पर्यावरणीय दृष्टिकोणबाट झन् प्रत्युत्पादक देखिन्छ ।

पोर्टो भेल्हो नजिकै अगष्टमै डडेलोले सखाप पारेको र आगोले नभेटेको जंगल । तस्बिर : भिक्टर आर काइभानो, एपि 

पर्यावरण र मानवबीचको सम्बन्ध निकै जटिल र संवेदनशील रहेको हुन्छ । जब–जब प्रकृति र मानवबीचको यस सम्बन्ध र सन्तुलनमा खलल पुग्छ, तब–तब सार्स, इबोला, स्वाइन फ्लु तथा प्लेगजस्ता विभिन्न प्रकारका रोग तथा महामारी फिर्ती उपहारका रूपमा मानवले प्राप्त गरेको प्रशस्त दृष्टान्त छन् । अहिलेसम्म प्राप्त वैज्ञानिक प्रमाण तथा आनुवंशिक गुणलाई हेर्दा कोभिड–¬१९को हकमा पनि यो लागू हुन्छ । हामीले प्राकृतिक सन्तुलनमा धाबा बोलेको हुनाले नै यो जीवाणुले आफ्नो प्राकृतिक परिधि नाघेर अहिले सम्पूर्ण विश्वलाई नै आतंकित पारेको छ । प्राकृतिक स्रोत र वासस्थान विनाशले एकातिर थुप्रै वन्यजन्तुलाई विस्थापित गरेको छ भने अर्कोतिर तिनका जिनमा अवस्थित कोभिड–१९ जस्ता विभिन्न रोग निम्त्याउने कैयौँ ‘प्याथोजिन’लाई पनि बाहिर छरिदिएको छ ।

काठतस्कर र भूअतिक्रमणकारीहरू अमेजनमा आगो झोसिरहेका छन् । तस्बिर :उस्लेई मार्सेलिनो, रोयटर्स 

यस महामारीको माध्यमबाट प्रकृतिले एउटा स्पष्ट सन्देश दिन खोजेको छ– ‘मानवजातिको अस्तित्वका लागि प्रकृति आवश्यक हो, प्रकृतिका लागि मानव होइन ।’ भलै स्वरूप बदलिएला तर प्रकृति अनन्तकालसम्म रहिरहनेछ । प्रकृतिसँगको सहअस्तित्वका लागि मानव पनि तयार रहने कि नरहने भन्ने नै अहिलेको गहन प्रश्न हो ।

अमेजनस राज्यको बोका डो आर्कनजिक डढेलोले सखाप पारेको अमेजन क्षेत्र । फोटो : ब्रुनो केली, रोयटर्स 

कामना गरौँ, नेपाललगायत विश्वबाटै यो महामारीको चाँडै अन्त होस् । यद्यपि, नेपालजस्तो विकासोन्मुख देशका लागि यसपश्चातका दिन प्नि उत्तिकै जटिल र चुनौतीपूर्ण देखिन्छन् । आउँदा दिनमा महँगिँदो जीवनशैली तथा सीमित रोजगारीको अवसरले गर्दा थुप्रै युवा सहरबाट आफ्नो गाउँ फर्किनेछन् । त्यस्तैगरी खाडी मुलुकमा श्रम गर्ने लाखौँ नेपाली स्वदेश फर्किनेछन् । वैदेशिक रोजगारीमा आबद्ध संघ–संस्थाहरूको तथ्यांकलाई पैँचो लिने हो भने यो संख्या दसौँ लाख नाघ्नेछ । सीमित आर्थिक गतिविधि र बढ्दो जनसंख्याको चापले भोलिका दिनमा प्राकृतिक स्रोत दोहन झन् आकासिनेछ । वन फँडानी, जंगल अतिक्रमण, जैविक विविधतामा ह्रास, नदीजन्य खनिज पदार्थको उत्खनन, वन्यजन्तुको सिकार तथा अवैध चोरी–पैठारीका घटनामा तीव्रता देखिने प्रबल सम्भावना रहेको छ । यस्ता कार्यले बाढी, पहिरो, सुक्खा, प्रतिकूल मौसम तथा जलवायु परिवर्तनजस्ता थप प्राकृतिक प्रकोपलाई निम्त्याउन सक्नेछ ।

रोन्डोनियो राज्य अबुना क्षेत्र डढेलोले खाएको जंगल । फोटो  : कार्ल डि सुजा, एएफपी

तसर्थ, महामारीपश्चात हुन सक्ने सम्भावित प्राकृतिक दोहनलाई निरुत्साहित गर्न स्थानीय सरकारको बलियो उपस्थिति अपरिहार्य हुन जान्छ । आउँदा दिनमा जनसमुदायको सहकार्यमा स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ महसुस हुने वातावरणमैत्री कार्यको थालनी गर्नु जरुरी रहनेछ । सकेसम्म प्राकृतिक स्रोत व्यवस्थापनका लागि निजी–सरकारी साझेदारीको अवधारणा अपनाउनुपर्ने हुन्छ । साथै विद्यमान उपभोक्ता समूह, महिला समूह, युवा क्लबजस्ता विभिन्न समुदायमा आधारित संरचनालाई थप सशक्तीकरण गरी दीर्घकालीन प्राकृतिक स्रोत व्यवस्थापनका लागि परिचालन गर्नुपर्छ । वातावरणमैत्री वैकल्पिक ऊर्जालगायत विद्युत्को अथाह सम्भावना बोकेको हाम्रो मुलुकमा विद्युत्मा आधारित प्रविधिलाई प्रोत्साहन गरिनुपर्छ । कृषिमै प्रमुख आयस्रोत रहेको ग्रामीण भेगमा वैज्ञानिक कृषि प्रणालीलाई प्रवर्द्धन गरिनुपर्छ । दिगो विकासको अवधारणालाई केन्द्रबिन्दुमा राखी हरेक कार्यको सम्पादन गर्नुपर्ने हुन्छ । समष्टिगत रूपमा भन्नुपर्दा हाम्रा हरेक क्रियाकलाप प्रकृतिप्रतिकूल नभई प्रकृतिमैत्री हुनुपर्छ । 

(राजभण्डारी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्राध्यापक हुन्)