१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ जेठ २३ शुक्रबार ०५:२३:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो : अब अन्य समस्याले मृत्यु भएकालाई कोरोनामा गणना नहुने

साढे तीन महिनामै स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन

Read Time : > 2 मिनेट
२०७७ जेठ २३ शुक्रबार ०५:२३:००

कोरोना भाइरसको संक्रमणबाट बिहीबारसम्म नेपालमा मृत्यु हुनेको संख्या १० पुगेको छ । अब भने मृत्यु भएको व्यक्तिमा कोरोनाको जीवाणु फेला परे पनि त्यसको कारण यकिन गरिने भएको छ । स्वास्थ्यमा अन्य कुनै समस्या नभएको र मृत्यु हुँदा कोरोना पुष्टि भए मात्रै कोरोनाको कारणले मृत्यु भएको उल्लेख गरिने भएको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ । अहिलेसम्म कोरोनाबाट १० जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । अहिलेसम्म संक्रमण देखिएका सबैजसो व्यक्तिमा कोरोनाका लक्षण देखिएका छैनन् । लक्षणविना नै संक्रमितको कोरोनाकै कारण मृत्यु हुन नसक्ने भन्दै आवाज उठ्न थालेपछि सरकारले मृत्युको कारण यकिन गरेर मात्रै सार्वजनिक गर्ने भएको हो । 

अहिलेसम्म कोरोनाबाट मृत्यु भएका व्यक्तिहरूमा अन्य गम्भीर स्वास्थ्य समस्या रहेको अस्पतालको नियमित रिपोर्टमा उल्लेख भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, मन्त्रालयले मृत्युको कारण यकिन गर्नुको सट्टा कोरोनाले नै भएको बताउँदै आएको थियो । अब त्यसको यकिन गर्न ‘शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’लाई संशोधन गरेको छ । संशोधित कार्यविधिमा मृतक व्यक्तिमा कोरोनाको जीवाणु फेला परे पनि अन्य रोगका कारण संक्रमितको मृत्यु भएको स्पष्ट भएमा त्यसलाई कोरोना भाइरसबाट मृत्यु भएको मान्न नमिल्ने व्यवस्था गरिएको छ । 

कोरोनाबाट मृत्यु भन्नाले कुनै अन्य स्पष्ट र कोरोनासँग सम्बन्धित नहुने (जस्तैः गम्भीर चोटपटक) र क्लिनिकल चिह्न, लक्षणहरू र निदानका आधारमा सम्भावित वा पुष्टि भएका केसहरूलाई बुझ्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै, कोरोना संक्रमण भएदेखि मृत्यु हुँदासम्मको अवधिमा पूर्णतः निको नभएको हुनुपर्ने उल्लेख गरिएको छ । 

चिकित्सकहरूका अनुसार बाजुराकी बालिका झाडापखाला, सिन्धुपाल्चोककी महिला सुत्केरीसँग सम्बन्धित समस्या, टिचिङमा बुधबार मृत्यु भएका व्यक्ति ब्रेनह्यामरेजका कारण मृत्यु भएको थियो । तर, उनीहरूमा संक्रमण देखिएपछि सरकारले कोरोनाबाटै मृत्यु भएको स्पष्ट पारेको थियो । आगामी दिनमा यस्ता केसहरूको थप अध्ययनपछि मात्रै मृत्युको कारण उल्लेख गरिने भएको छ ।

एकैदिन थपिए तीन सय ३४ नयाँ संक्रमित

बिहीबार एकैदिन तीन सय ३४ नयाँ संक्रमित थपिएका छन् । एकजनाको मृत्यु भएको छ । पाल्पाका ४५ वर्षीय पुरुषको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको हो । 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार नेपालमा अहिलेसम्म दुई हजार ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये दुई सय ९० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा तीन हजार आठ सय ६७ जनाको कोरोना जाँच भएको छ । 

साढे तीन महिनामै स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन, महेन्द्रप्रसाद श्रेष्ठ मन्त्रालय तानिए, दीपेन्द्ररमण सिंह पठाइए

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका ६ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै बिहीबार स्वास्थ्य सेवा विभागको महानिर्देशकसहित उच्च अधिकारी परिवर्तन गरेका हुन् । स्वास्थ्य सेवा विभागको महानिर्देशक डा.महेन्द्रप्रसाद श्रेष्ठ र व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेललाई मन्त्रालय तानिएको छ । विभागको महानिर्देशकमा डा.दीपेन्द्ररमण सिंह र व्यवस्थापन महाशाखाका प्रमुखमा डा.रमेश खरेललाई पठाइएको छ । साढे तीन महिनामै विभागको महानिर्देशक परिवर्तन गरिएको हो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका निर्देशक डा.जागेश्वर गौतमलाई स्वास्थ्य मन्त्रालय तानेर उनको ठाउँमा कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता कौशललाई ल्याइएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले जानकारी दिए । 

मन्त्री ढकालले गत ८ फागुनमा श्रेष्ठलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । तर, उनको कार्यशैलीप्रति ढकाल सन्तुष्ट थिएनन् । एक महिनाअघिदेखि नै मन्त्री ढकालले उनीहरूको जिम्मेवारी हेरफेर गर्न खोजेका थिए । विभागको महानिर्देशक बनाइएका सिंह स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ र व्यवस्थापन महाशाखा प्रमुख खरेल एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक हुन् ।

मन्त्री ढकाल श्रेष्ठलाई १२औँ तह अर्थात् प्रमुख विशेषज्ञ बनाउने पक्षमा समेत थिएनन् । उनले कोसी अस्पतालमा कार्यरत डा.गुणराज लोहनीलाई प्रमुख विशेषज्ञ बनाउने वचन दिएर मन्त्रालय तानेका थिए । तर, श्रेष्ठलाई नै बढुवा गरिएपछि मन्त्री ढकालसँगको दूरी थप बढेको थियो ।