मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ २२ बिहीबार २०:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सीमा क्षेत्रको जग्गा भोगचलन विवाद टुंगियाे

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ जेठ २२ बिहीबार २०:१८:००

महाकाली नगरपालिका– ८ सुन्दरनगरका किसान लक्ष्मण पुन (मगर)लाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले जहिले पनि आफ्नै खेतमा जोत्दा अवरोध गर्दै आएका थिए ।

भारतीय भूमि भएको दाबी गर्दै उनीहरूले कहिले खेत जोत्न नदिने, कहिले अन्नबाली नष्ट गरिदिने, कहिले जोतिरहेकै अवस्थामा आएर अवरोध गर्ने गर्थे ।

चार वर्षअघि हिउँदे बाली लगाउन खेत पसेका लक्ष्मणलाई एसएसबीका जवानले खेतबाटै लखेटे । गत वर्ष पनि मसुरो लगाएको खेतमा उनीहरूले भारतीय नागरिक प्रयोग गरेर ट्रयाक्टर लगाएर नष्ट गरिदिएका थिए । 

यस वर्ष पनि बर्खेखेती गर्न जेठ दोस्रो साता खेतमा पुग्दा एसएसबीका जवानले अवरोध गरे । यसपटक भने उनी एसएसबीको ज्यादतीको गुनासो लिएर सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणमा पुगे ।

उनको गुनासो सुनेपछि गणपति वीरसिंह साहु विवादित क्षेत्र पुगे । बिहीबार बिहानै विवादित सीमा क्षेत्र पुगेका गणपति साहुले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल गरेर वर्षाैंदेखिको सीमा क्षेत्रको जग्गा भोगचलन विवाद  टुंगाे लगाए । 

सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)का डेपुटी कमान्डर महेश कनियालसहितसँग छलफल गरेर वर्षौंदेखिको विवाद टुंगाे लागेको हो ।

कमान्डर कनियालले भने, ‘अब दशजगा क्षेत्र पूर्वतिर नेपालीले कमाउन पाउँछन्, यो क्षेत्रमा कसैले रोकतोक गर्दैन । विवाद टुंगाे लाग्यो ।’ १७ नम्बर सीमा पिलरको बीचभागबाट विवादित क्षेत्रतिर नापजाँच गरेर दुवैतर्फ १०-१० मिटर छाडेर नेपालतर्फ नेपाली नागरिक र भारततर्फ भारतीय नागरिकले उपभोग गर्ने सहमति भएको छ ।

वार्तालगत्तै लक्षणले जमिन खनजोत गरेका छन् । आफ्नै जमिन वर्षौंदेखि जोत्न नपाएपछि पीडित बनेका लक्ष्मणले विवाद मिलेकोमा खुसी व्यक्त गरे ।

सीमा पिलर नजिक लक्ष्मणको अढाई कट्ठा जमिन छ ।

उक्त जमिनमा एसएसबीले खेतीपाती एवं खनजोत गर्न अवरोध पुऱ्याउँदै आएका थिए । लक्ष्मण यहाँ ०२४ सालदेखि बसोवास गर्दै आएका छन् ।