मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ २२ बिहीबार २०:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल, निर्णय अर्को बैठकबाट

Read Time : > 1 मिनेट
२०७७ जेठ २२ बिहीबार २०:००:००

मन्त्रिपरिषद् बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएको छ । निर्णय भने अर्को बैठकबाट हुने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ को फैलँदो संक्रमणदर कम गर्दै अर्थतन्त्रलाई चलायमान गर्ने गरी लकडाउनको मोडालिटी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अहिलेको महामारीको संकट व्यवस्थापन हुने गरी मात्र लकडाउनको मोडालिटी तय गर्नुपर्ने भन्दै त्यसका लागि थप गृहकार्य गर्न कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई निर्देशन दिएको एक मन्त्रीले बताए ।

‘अहिले कसरी हुन्छ कोभिड– १९ महामारी संकट व्यवस्थापनलाई केन्द्रबिन्दुमा राखौँ, बढिरहेको संक्रमणदरलाई  कसरी कम गर्न सकिन्छ ?, अर्थतन्त्रलाई कसरी चलायमान गर्न सकिन्छ, त्यस हिसाबले मात्र लकडाउनको मोडालिटी बनाउनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘त्यसका लागि सबैसँग अझै परामर्श गरौँ र त्यस आधारमा उच्चस्तरीय समितिले बनाएको कार्ययोजनामा छलफल गरेर पास गरौँला ।’ 

बैठकमा लकडाउनबारे विस्तृत छलफल नभए पनि उच्चस्तरीय समितिले प्रारम्भिक रूपमा मस्यौदा गर्दै गरेको मोडालिटीलाई एक–दुई दिनभित्रै ठोस रूप दिएर मन्त्रिपरिषदमा पेस गरेपछि मात्र निर्णय गर्ने सहमति भएको छ ।

क्राइसिस म्यानेजमेन्ट सेन्टर सीएमसीले १ असारदेखि लकडाउन खुकुलो बनाउँदै जाने गरी अगाडि बढ्ने विस्तृत स्वरुपको मस्यौदा तयार पारेको छ । रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीएमसीले तयार पारेको मस्यौदामा ७० दिनपछि सम्पूर्णरुपमा लडडाउन खोल्न सक्ने गरी अगाडि बढ्ने योजना छ । पाँच चरणमा विभिन्न क्षेत्र खोल्दै जनजीवन सहज बनाउन सकिने सीएमसी प्रक्षेपण छ ।

रोल्पा वम विष्फोटका पीडित परिवारलाई ५ लाख क्षतिपूर्ति
बैठकले रोल्पामा भएको वम विष्फोटनबाट मृत्यु भएका चार बालबालिकाका परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति दिने निर्णय गरेको छ । गत १८ वैशाखमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा भएको वम विष्फोटमा परी चार बालबालिकाको अकालमै ज्यान गएको थियो । विष्फोटबाट सोही स्थानीय लालबहादुर केसीका ११ वर्षीया छोरी विमला केसी र पाँच वर्षीय छोरा विजय केसी तथा ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी र लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरव नेपालीको मृत्यु भएको थियो । 

यस्तै बैठकले संस्कृति पयर्टन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव विष्णु नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, सामाजिक सुरक्षा ऐन संशोधन गर्दै सामाजिक सुरक्षा भत्ता वितरणलाई यथावत रुपमै राखी कार्यन्वयन गर्ने पनि निर्णय भएको एक मन्त्रीले बताए ।