मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ जेठ २२ बिहीबार १९:४१:००
Read Time : < 1 मिनेट
प्रदेश

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

Read Time : < 1 मिनेट
२०७७ जेठ २२ बिहीबार १९:४१:००

गण्डकी प्रदेश सभाले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

१८ जेठको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

प्रदेश सभामा पेस भएको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो । छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबारको बैठकमा जवाफ दिएका थिए । त्यससँगै नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रममाथि प्रदेश सभाका ४७ जना सदस्यले आ–आफनो भनाइ राखेका थिए । पारित नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षमा जारी कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य क्षेत्रमा केही नयाँ कार्यक्रम समेटिएको छ ।

बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री गुरुङले संघीय सरकारले एकल अधिकारको विषय हस्तान्तरणसँगै सरलीकृत नगरेको गुनासो गरेका थिए । उनले एकल अधिकारभित्रको सूचीमा रहेका विषयहरू प्रदेशलाई हस्तान्तरण गर्नुपर्नेमा संघीय सरकारले आनाकानी गरेको र सरलीकृत पनि नगरेको बताए । निजामती ऐनलगायत केही विषय हस्तान्तरण गर्न संघीय सरकारले आनाकानी गरेको उनको भनाइ छ । 

निर्वाचन पूर्वाधार विकास कार्यक्रम खारेज नहुने 
नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा प्रतिपक्ष र सत्ता पक्षका केही सांसदले निर्वाचन पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरे पनि मुख्यमन्त्रीले खारेज नहुने बताएका छन् ।

कार्यक्रमले विकृतिसँगै प्रत्यक्ष र समानुपातिक सांसदबीच फाटो ल्याएकोले सो कार्यक्रमको बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्न सांसदहरूले माग गरेका थिए । तर, मुख्यमन्त्रीले जुनसुकै कार्यक्रम गर्दा पनि समस्या हुने र त्यसलाई कार्यविधि बनाएर समाधान गर्न सकिने बताए । सांसदहरू जनतासँग जाने र देखिन यो कार्यक्रमले सहयोग गर्ने उनको भनाइ छ ।