मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २२ बिहीबार १५:२७:००
Read Time : < 1 मिनेट
अर्थ

स्वास्थ्य सुरक्षा अपनाएर बजार खोल्ने विषयमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २२ बिहीबार १५:२७:००

लकडाउन जारी नै रहेको समयमा व्यापारीहरूले एकातर्फी रूपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

जेठ ३२ सम्मका लागि सरकारले लकडाउन गरिरहेकै समयमा धमाधम पसल खुल्न थालेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले आज व्यापारीहरूसँग संयुक्त छलफल गरेका हुन् । जिल्ला समन्वय समिति काठमाडौंमा भएको संयुक्त छलफलले सामाजिक दूरीसहितको स्वास्थ्य सतर्कता कायम गरी बजार पसल सञ्चालन गर्ने अवस्था सिर्जना गराउने ढंगले लकडाउनलाई समन्वय गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख जनकराज दाहालले छलफलले व्यापारीहरूबाट प्राप्त सुझाबका आधारमा व्यवसाय सञ्चालनका लागि विभिन्न मोडल तयार पार्दै सो मोडलमा व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको बताए । यस्तै छलफलको निष्कर्षसहित व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरी लागू गर्न कोभिड– १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिसका रूपमा पठाइने उनले बताए ।

छलफलमा व्यवसायीहरूले बिहान ११ बजेदेखि साँंझ साढे ५ बजेसम्म उद्योग तथा बजार पसल सञ्चालनको वातावरण मिलाउन सुझाब दिएका थिए । उनीहरूले दिन बिराएर पालैपालो सबै किसिमको उद्योग, व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन सुझाब दिएका छन् ।

शिक्षण संस्थान, धार्मिक स्थल, सिनेमा हल, जिमखाना, खेलकुदलगायत क्षेत्रबाहेक अत्यावश्यक सामान, मल, कृषि, कुरियर, सरकारी कार्यालय, निजी संघसंस्था, उद्योग, निर्माणसम्बन्धी कामका साथै सामाजिक दूरीसहितको सिट व्यवस्थापन गरी जिल्लाभित्र आन्तरिक रूपमा सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवसायीले जोड दिएका छन् ।