१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मनिराज गुरुङ काठमाडौं
२०७७ जेठ २२ बिहीबार १४:३२:००
Read Time : > 3 मिनेट
फिचर

कमिसनको खेलमा रुमल्लिएको हङकङ चार्टर्ड फ्लाइट

लामो समयको कसरतपछि जुन १ मा तीनवटा चार्टर फ्लाइटमार्फत नेपालमा ‘लक’ भएका करिब पाँच सय ८० जना हङकङ आइडी होल्डर हङकङ उड्न सफल भए । तर एनआरएनए अध्यक्ष गुरुङ समूह र ट्राभल्स समूहबीच समन्वय नहुँदा थप उडान अझै अनिश्चित बनेको छ ।

Read Time : > 3 मिनेट
मनिराज गुरुङ काठमाडौं
२०७७ जेठ २२ बिहीबार १४:३२:००

हङकङ आइडीहोल्डर संखुवासभा सदरमुकाम खाँदबारीका उपेन्द्र कोरंगी गत फागुनमा बिदा लिएर नेपाल आएका थिए । उनी सपरिवार कालिञ्चाेक, जोमसोम घुमफिर गरेर गाउँ गए । गाउँमा दुई साताजति बस्ने उनको योजना थियो । तर, एक साता पनि बस्न नपाउँदै उनलाई एक साथीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन लागेको जानकारी दिए । उनी रातारात काठमाडौं फर्किए र गत ८ चैतमा हङकङ उडे ।

तर, बिदामा नेपाल आएका हङकङ आइडीहोल्डरहरू सबैजना उपेन्द्र कोरंगीजस्तै भाग्यमानी रहेनन् । विश्वभर कोरोना संक्रमण महामारीका रूपमा फैलँदै जाँदा लकडाउन नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि अचुक र उपयुक्त उपाय बनेको थियो ।

अन्ततः विश्वका अधिकांश देशले अपनाउँदै आएको यही उपाय नेपालले पनि अपनायो । र, ९ चैतमा नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगायो । यससँगै नेपालमा रहेका विभिन्न देशका हजारौँ नागरिक नेपालमै लक भए । जसमा हङकङ आइडीहोल्डरहरू मात्र एक हजारभन्दा बढी रहेका थिए ।

लकडाउन लम्बिँदै जाँदा विभिन्न देशले विभिन्न देशमा अड्किएका आफ्ना नागरिकको उद्धार गर्न थाले । नेपालबाट पनि विभिन्न देशका नागरिकलाई सम्बन्धित देशहरूले उद्धार गरे । अत्यन्तै थोरै क्षतिमा सफलतापूर्वक कोभिड– १९ नियन्त्रणमा लिन सफल हङकङका व्यापार, व्यवसाय, स्कुल, कलेज खुल्न थाले ।

नेपालमा लक भएका हङकङ आइडीहोल्डरहरूमा छटपटी बढ्न थाल्यो । सोही क्रममा हङकङमा रहेका ट्राभल्सहरूको समूह र गैरआवासीय नेपाली संघका अध्यक्ष टीका गुरुङ (राधिका)को समूहले बिदामा नेपाल आएर यतै लक भएका नागरिकलाई हङकङ फर्काउन पहल सुरु गरे । तर, उनीहरूको समूहले अलग–अलग रूपमा पहल गर्न थाल्यो ।

दुवै समूहको पहिलो प्रयास बेकार
हङकङमा रहेका ट्राभल्सहरूको समूहले नेपाल एयरलाइन्सको विमान चार्टर्डका लागि पहल थाल्यो । अन्ततः नेपाल एयरलाइन्ससँग सम्झौता भयो र २४ मेमा पहिलो फ्लाइट हुने भन्दै ट्राभल्स समूहले प्रचार–प्रसारसँग टिकट पनि बिक्री गर्न थाल्यो । यता एनआरएनए हङकङकी अध्यक्ष गुरुङ समूहले पनि पनि पहल गरिरहेको थियो । उनको समूहले एक हजार एक सय दुईजनाको नाम संकलन गऱ्यो र नेपालमा हार्भेस्ट मुन ट्राभल्ससँग मिलेर हिमालयन एयरलाइन्सको जहाज चार्टर्ड गर्ने भयो ।

२२ देखि २५ मेसम्म चार्टर्ड फ्लाइट गर्ने भन्दै एनआरएनए हङकङ अध्यक्ष गुरुङको समूहले करिब सात सयजनालाई टिकट पनि बिक्री गर्‍यो । तर, हङकङले हिमालयन एयरलाइन्सलाई उडानको अनुमति दिएन । सनराइज ट्राभल्सको अगुवाइमा हङकङका आठवटा ट्राभल्सको समूहले चार्टर्ड गरेको नेपाल एयरलाइन्सको जहाज उडानका लागि हङकङले त अनुमति दियो, तर नेपालमा पूरा गर्नुपर्ने प्रक्रिया बाँकी भएकाले उडान भएन ।

दोस्रोपटकमा दुवै समूहलाई आंशिक सफलता
पहिलो प्रयास बेकार भए पनि दुवै समूहले चार्टर्ड फ्लाइटका लागि पहल भने जारी राखे । नेपालमा प्रक्रिया पूरा नगर्दा समस्यामा परेको ट्राभल्स समूह नेपालमा प्रक्रिया पूरा गर्नतर्फ लाग्यो । यता एनआएएनए अध्यक्ष गुरुङ समूह पनि हिमालयनलाई हङकङले अनुमति नदिएपछि नेपाल एयरलाइन्सकै जहाज चार्टर्ड गर्नेतर्फ लाग्यो । अन्ततः जुन १ मा ट्राभल्स समूहले चार्टर्ड गरेको वाइडबडीको एक उडान र एनआरएनए अध्यक्ष गुरुङ समूहले चार्टर्ड गरेको न्यारोबडीमार्फत दुई फ्लाइट गरेर करिब पाँच सय ८० जना हङकङ उड्न सफल भए ।

पहिलो उडान सफल भएलगत्तै दुवै समूह फेरि बाँकी उडानमा जुटे । एनआरएनए अध्यक्ष गुरुङ समूहले आज बिहीबार र भोलि शुक्रबारका लागि थप चार्टर्ड उडान गर्ने भन्दै टिकट बिक्री गरेको थियो । ट्राभल्स समूहले पनि छिट्टै अर्को फ्लाइटको मिति तोक्ने तयारी गरिरहेको थियो, तर आज बिहीबार र भोलि शुक्रबारको चार्टर्ड फ्लाइट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

हार्भेस्ट मुन ट्राभल्समार्फत चार्टर्ड गरिएको नेपाल एयरलाइन्सको दुवै उडान अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । हङकङको सुरक्षा ब्युरोको सल्लाहबमोजिम उडान स्थगित गरिएको निगमका उपनिर्देशक टंकबहादुर भण्डारीले जानकारी दिएका छन् ।

टिकटसमेत जारी भइसकेको अवस्थामा अन्तिम समयमा आएर उडान स्थगित भएपछि यात्रुहरूले भने सास्ती पाएका छन् । यता उडानको अर्काे मिति चाँडै जानकारी गराउने हार्भेस्ट मुन ट्राभल्सले जनाएकोे छ । स्रोतका अनुसार हङकङमा क्वारेन्टाइन खाली नभएकाले तत्काल दुवै समूहले उडान अनुमति पाउने छैनन् ।

जालझेल र कमिसनको खेल
जहाज चार्टर्डको विषयमा एनआरएनए अध्यक्ष गुरुङ र ट्राभल्स समूहबीच एकप्रकारको अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ र यसको भित्री कुरा कमिसन रहेको बताइएको छ । एनआरएनए अध्यक्ष गुरुङ समूहले टिकटदर हङकङ डलर चार हजार एक सय तोकेको थियो भने ट्राभल्स समूहको टिकटदर हङकङ डलर ६ हजार पाँच सय ८० थियो ।

टिकटदरमा ठूलो अन्तर देखिएपछि एनआरएनए अध्यक्ष गुरुङ समूहले ट्राभल्स समूहलाई महँगोमा टिकट बेचेर यात्रु ठग्न खोजेको आरोप लगाएको थियो । यता ट्राभल्स समूहले भने एनआरएनए अध्यक्ष गुरुङ समूहले चार्टर्ड गरेको जहाज चीनको ग्वान्झाउबाट स्वास्थ्य सामग्रीसमेत ढुवानी गर्ने गरी चार्टर्ड गरिएकाले थप सस्तो हुनुपर्ने बताएको थियो ।

कमिसनको खेलमा एनआरएनए अध्यक्ष गुरुङ समूह र ट्राभल्स समूहको बीचमा निगम समूह पनि सहभागी भएको आशंका गरिएको छ । ट्राभल्स समूहलाई न्यारोबडी जहाजको भाडा प्रतिघन्टा ११ हजार ६ सय २० डलर कोटेसन दिएको निगमले एनआरएनए अध्यक्ष गुरुङ समूहले टिकेटिङका लागि जिम्मा दिएको हार्भेस्ट मुन ट्राभल्सलाई भने प्रतिघन्टा आठ हजार सात सय ४० डलरको कोटेसन दिएको थियो ।

दुवै समूह मिलेको भए के हुन्थ्यो ?
ट्राभल्स समूहसँग सहकार्य गरिरहेका लुम्बिनी ट्राभल्सका प्रबन्ध–निर्देशक कर्ण कोरंगीले सकेसम्म सस्तो दरमा उच्च सेवा दिन प्रयास भइरहेको बताए । उनले भने, ‘जुन १ मा हङकङ ल्याउन सम्भव नभएको थप यात्रुलाई अर्को चार्टर्ड फ्लाइटमार्फत ल्याउने प्रयास भइरहेको छ ।’ तर, एनआरएनए अध्यक्ष गुरुङ समूहले आज र भोलि गरेको चार्टर्ड फ्लाइट स्थगित भएकासँगै तत्काल अर्को चार्टर्ड फ्लाइट सम्भव हुनेमा आशंका रहेको छ ।

जुन १ मा हङकङ उड्न पाएका महेन्द्रबहादुर लिम्बूले ढिलै भए पनि हङकङ फर्कन पाउँदा खुसी लागेको बताए । तर, दुवै समूहले मिलेर काम गरेको भए अझै छिटो फर्कन पाउने भन्दै उनले दुवै समूहलाई समन्वय गरेर काम गर्नसमेत आग्रह गरे । नेपालमा लक भएका हङकङ आइडीहोल्डरहरू समयमै हङकङ फर्कन नपाउँदा भएको जागिर गुम्ने चिन्तामा छन् । त्यसैले दुवै समूहले सहकार्य र समन्वय गरेर काम गरी छिटोभन्दा छिटो अर्को फ्लाइट सम्भव बनाउनु आवश्यक छ ।