१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २२ बिहीबार १२:५७:००
Read Time : > 1 मिनेट
अर्थ

सौर्य ऊर्जाबाट उत्पादित १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २२ बिहीबार १२:५७:००

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आबद्ध सौर्य आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।

कुल २५ मेगावाट जडित क्षमतामध्ये बुधबारबाट १.२५ मेगावाट सञ्चालनमा आएको हो । सौर्य आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको प्राधिकरणले जनाएको छ । 

दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुनेछ ।

प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ । 

२५ मेगावाट जडित क्षमताको ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो ।

आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । 

बाँकीको काम अगाडि बढिरहेको, तर प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको कार्यकारी निर्देशक  घिसिङले बताए । 

‘वैशाखभित्रमा १५ मेगावाट ग्रिडमा जोड्ने गरी काम भइरहेको थियो, तर लकडाउनका कारण निर्माण प्रभावित हुँदा केही ढिला भयो,’ घिसिङले भने, ‘सोलारबाट उत्पादित विद्युत् जोडिएसँगै नेपालको प्रणालीमा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बढी रहेकोमा अब ऊर्जाका विभिन्न स्रोतको विविधिकरण हुँदै प्रणालीमा ऊर्जा मिश्रण बढ्दै गएको छ ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ०७५ वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए । 

त्यतिवेला एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रूख कटानलगायतका कारणले ढिलाइ भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणकै स्वामित्वमा रहेको एक हजारभन्दा बढी रूख हटाउने कानुनी प्रक्रिया पूरा गर्न धेरै समय लागेको थियो । 

साथै ठेकेदारले डिजाइन तयार गर्न पनि निकै ढिलाइ गरेकाले आयोजना तोकिएको समयमा अघि बढ्न नसकेको दाबी प्राधिकरणको छ । 

विश्व बैकको  ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत  प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो ।

सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्नेछ । 

कम्पनीले पाँच वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ ।