मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ जेठ २२ बिहीबार १२:१५:००
Read Time : > 1 मिनेट
समाचार

‘निसर्ग’ चक्रवातको प्रभावले देशैभरको मौसम बदली, कतिपय ठाउँमा भारी वर्षाको सम्भावना

Read Time : > 1 मिनेट
२०७७ जेठ २२ बिहीबार १२:१५:००

अरब सागरमा बनेको ‘निसर्ग’ नामको चक्रवातको प्रभावले यतिवेला देशैभरको मौसम बदली भएको छ। 

निसर्ग चक्रवातको अप्रत्यक्ष प्रभावको कारण बिहीबार बिहानैदेखि नेपालको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो चक्रवातको प्रभाव नेपालमा आगामी तीन दिनसम्म जारी रहने महाशाखाका मौसमविद् बरुण पौडेलले बताए। 

‘अबको तीन दिन देशभर मौसम बदलीसँगै वर्षाको सम्भावना छ। सामान्य वर्षा देशैभर हुन्छ। कतिपय ठाउँमा भारी वर्षा पनि हुने देखिन्छ,’ नयाँ पत्रिकासँग मौसमविद् पौडेलले भने, ‘आज (बिहीबार)भन्दा पनि शुक्रबार र शनिबार यसको प्रभाव नेपालमा बढी पर्छ। कतिपय ठाउँमा भारी वर्षाको समेत सम्भावना छ।’ 

अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको प्रत्यक्ष प्रभावस्वरूप भारतका कतिपय ठाउँमा भारी वर्षा सुरु भएको मौसमविद्ले बताएका छन्।

महाशाखाका अनुसार यो चक्रवात हाल भारतको अलिबागनजिकै मुम्बईबाट ७५ किलाेमिटर र पुणेबाट ६५ किलाेमिटर टाढा छ। त्यहाँबाट यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तरपूर्वी दिशातर्फ मोडिने अनुमान मौसमविद्ले गरेका छन्।

बुधबार भारतको महाराष्ट्रबाट जमिनमा प्रवेश गरेको यो चक्रवातको असर नेपालमा गएरातिदेखि नै सुरु भएको मौसमविद् पौडेलले बताए। ‘चक्रवातको असरस्वरूप पश्चिमका कतिपय ठाउँमा बुधबार रातिदेखि नै सामान्य वर्षा सुरु भएको छ,’ पौडेलले भने, ‘अहिले देशैभरको आकाशमा बादल छ। आज दिनभर देशैभर कतै पनि मज्जाले घाम लाग्दैन।’ 

पौडेलका अनुसार बिहीबार बिहानैदेखि नेपालको पश्चिम क्षेत्रमा पूर्ण बदली छ। पूर्व र मध्य क्षेत्रमा सामान्य बदली भए पनि घाम लागेको छैन। ‘यो चक्रवातको प्रभाव देशैभर पर्छ। तर, बागमती, गण्डकी, प्रदेश १ र २ मा बढी वर्षा हुने देखिन्छ,’ पौडेलले भने, ‘वर्षासँगै हावाहुरी र चट्याङको समेत सम्भावना छ। उच्च पहाडी र हिमाली भूमागमा हिमपात हुन सक्छ।’ 

उनले एक साताअघि बंगालको खाडीमा विकसित ‘अंपुन’ नामको चक्रवातको भन्दा निसर्ग चक्रवातको प्रभाव नेपालमा बढी पर्ने बताए। अंकुन चक्रवातको प्रभावले एक साताअघि पूर्वी र मध्य नेपालमा हावाहुरीसहित वर्षा भएको थियो। 

महाशाखाका अनुसार यो चक्रवातको कारण शुक्रबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश ५ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। 

त्यसैगरी शनिबार प्रदेश १, २ र बागमती प्रदेशमा यसको प्रभावले बढी वर्षा हुने देखिन्छ। यो चक्रवाको कारण मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले नागरिकमा अनुरोध गरेको छ।

सामान्यतया नेपालमा १० जुनबाट मनसुन सुरु हुन्छ। निसर्ग चक्रवातको प्रभावले यस वर्ष मनसुन केही दिन ढिलो हुन सक्ने अनुमान मौसमविद्ले गरेका छन्। भारतको केरलामा भने मनसुनको प्रभाव केही दिन अघिदेखि नै सुरु भइसकेको छ।