मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ जेठ २२ बिहीबार १०:४१:००
Read Time : > 1 मिनेट
फिचर

विदेशीलाई आफ्नो देशभन्दा नेपालकै भरोसा, भन्छन्- हामी यहीँ सुरक्षित छौँ

Read Time : > 1 मिनेट
२०७७ जेठ २२ बिहीबार १०:४१:००

विश्वव्यापी महामारी बनेको कोरोनाबाट कुनै देश अछुतो छैन । कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल घुम्न आएका धेरै विदेशी नागरिक आफ्नो देश फर्किसकेका छन् । तर, ताइवानका नागरिक जेफ गएलाई भने आफ्नो देशभन्दा नेपाल नै सुरक्षित लागेको छ । 

उनी गत जनवरीमा रसुवा घुम्न आएका थिए । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ हुँदै तामाङ सम्पदामार्ग घुमेर गोसाइँकुण्ड गाउँपालिकाको स्याफ्रुबेंसी आइपुग्दा कोरोना भाइरसको संक्रमण विश्वव्यापी बन्यो । नेपालले पनि कोरोनाको नियन्त्रण र रोकथामका लागि लकडाउन सुरु गर्‍यो ।

आफनो देश फर्कन चाहने विदेशी नागरिकलाई जिल्लाबाट उद्धार गरेर काठमाडौंसम्म पुर्‍याउने व्यवस्था गरियो । तर, उनी आफ्नो देशभन्दा नेपाल सुरक्षित रहेको र आफू आफ्नो देश सुरक्षित भएको जानकारी नआएसम्म रसुवामा बस्ने भनेर यतै बसे । उनी भन्छन्, ‘मेरो देशभन्दा यहाँ एकदम सुरक्षित छ, त्यसैले म यहाँ बसिरहेको छु, जबसम्म मेरो देश सुरक्षित छ भन्ने लाग्दैन तबसम्म यहीँ बस्छु।’ 

जेफ गए, ताइवानी नागरिक

ताइवानका जेफ मात्र होइन, बेलायती नागरिक स्यामुयल जोन्स नेपाल बस्न थालेको साढे दुई वर्षभन्दा बढी भयो । बीचमा उनी आफ्नो देश गएर नेपाल आएको करिब चार महिना भयो । अहिले उनी रसुवाको पर्यटकीय हबको रूपमा रहेको गोसाइँकुण्ड गाउँपालिका– ५ स्याफ्रुबेंसीमा बसिरहेका छन् ।

कोरोना भाइरस संक्रमण बढिरहेको र आफ्नो देशमा दैनिक पाँच सयभन्दा बढीको संख्यामा मृत्यु भइरहेको अवस्थामा उनलाई आफनो देश फर्कन मन लागेन । उनी भन्छन्, ‘अहिले जहाँ बसिरहेको छु यो स्थान निकै सुरक्षित छ । यहाँ बाटो बन्द छ, बाहिरका मान्छे आउँदैनन्, कुनै संक्रमण पनि हुँदैन ।’

सूचनाको अपडेटमा रहिरहने उनले नेपालमा अहिले करिब १५ सय बेलायतका नागरिक रहेको र उनीहरूमध्ये करिब सात सयजना आफ्नो देश फर्किएको बताए ।

स्यामुयल जोन्स,  बेलायती नागरिक

कोरोनाको प्रकोप फैलिँदै जान थालेपछि अप्रिल ७ मा उनलाई पनि आफ्नो देशमा बोलाइयो । तर, उनलाई नेपाल नै सुरक्षित लागेपछि तत्काल फर्किएनन् । उनी भन्छन्, ‘हाम्रो देशभन्दा नेपाल सुरक्षित छ, त्यसमा पनि रसुवा एकदम सुरक्षित छ । अब हाम्रो देश जबसम्म सुरक्षित भयो भन्ने हुँदैन तबसम्म यहीँ बस्ने हो ।’ 

नेपाली साथीभाइलाई सम्झने सजिलो होस् भनेर उनले आफ्नो नाम नेपालीमा तेन्जिन शेर्पा राखेका छन् । उनलाई कसैले तपाईंको नाम के हो भनेर सोध्यो भने उनको जवाफ हुन्छ- मेरो नाम तेन्जिन शेर्पा । 

अहिले जिल्लामा एकजना ताइवान, एकजना अष्ट्रेलिया र दुईजना फ्रान्सका नागरिक सुरक्षित रूपमा जिल्लाका पर्यटकीय क्षेत्रहरूमा बसिरहेका छन् । ताइवानी र अष्ट्रेलियन नागरिक स्याफ्रुबेंसी र फ्रान्सका नागरिक पर्यटकीय क्षेत्र लाङटाङको दोभान भन्ने स्थानमा सुरक्षित रूपमा बसिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीले बताए।

लकडाउन जारी भएसँगै रोकिएर बसेका पर्यटकलाई उद्धार गरी काठमाडौं पठाएका छौँ । उनले भने, ‘आफनो देश फर्कन चाहने ४७ जनाको उद्धार गरियो । उहाँहरू आफ्नो देश फर्किसक्नुभएको छ । कोही विदेशी नागरिक भने यहीँ सुरक्षित भएको भन्दै जिल्लामै बसिरहनुभएको छ।’ 

लकडाउनका कारण हिँडडुल कम भए पनि चिसो मौसममा रमाउँदै बस्न पाउँदा विदेशी पर्यटक आफ्नो देश फर्कन मानेका छैनन् । लकडाउनका कारण भिसा अवधि सकिए पनि बस्न पाउने भएपछि नेपाल भित्रिएका ती पर्यटक अहिले ढुक्कले रमाइरहेका छन् । घुमफिर गर्न नपाए पनि हिमाली जिल्लाको सुन्दरता र चिसो मौसममा आफूहरू दंग परेको उनीहरूले बताए ।