मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस रुकुम (पश्चिम)
२०७७ जेठ २२ बिहीबार ०७:४२:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरी चौकी तोडफोडकाे आरोपमा वडा अध्यक्षसहित तीन पक्राउ  

Read Time : < 1 मिनेट
रासस रुकुम (पश्चिम)
२०७७ जेठ २२ बिहीबार ०७:४२:००

अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो । केसीसहित थप दुई युवासमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेको प्रहरीले जनाएको छ ।     
     
मंगलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी चौकीमा तोडफोड गरी क्षति पुर्‍याएको थियो । त्यसपछि वडाध्यक्ष केसीसहित दुवै युवा फरार थिए । प्रहरीले फरार वडाध्यक्ष र दुई युवालाई मुसिकोट १३ को टोड्के भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ । पक्राउ तीनैजनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा १० दिनको म्याद थप गरिएको प्रनाउ केसीको भनाइ छ । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताए ।
     
सवारी जाँचका लागि सडकमा राखिएको डाँट खोल्न ढिला गरेको भन्दै वडाध्यक्ष केसीले प्रहरीसँग झगडा सुरु गरेको र त्यसपछि स्थानीय २०/२५ जनाको समूहले प्रहरी चौकीमा तोडफोड गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले बताए ।

नागरिकको सुरक्षाका लागि स्थापना गरिएको प्रहरी चौकीमा वडाध्यक्षकै नेतृत्वमा रहेको टोलीले तोडफोड गरी सवारी जाँचका लागि राखिएका सम्पूर्ण सामग्री, प्रहरी चौकीअगाडि लगाइएको काठको बार र कुर्सीलगायत सामग्रीमा क्षति पुर्‍याएको इन्चार्ज साउदले बताए । यस घटनाले शान्तिसुरक्षामा खटिएको प्रहरीको मनोबल घटाउने काम गरेको र आफूहरूले असुरक्षित महसुस गरिरहेको उनको भनाइ छ ।