१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुशील बिके
२०७७ जेठ २१ बुधबार २२:१६:००
Read Time : > 7 मिनेट
दृष्टिकोण

अमर प्रेमी र योद्धा नवराज विकका नाममा 

Read Time : > 7 मिनेट
सुशील बिके
२०७७ जेठ २१ बुधबार २२:१६:००

प्रिय नवराज, 
मलाई थाहा छ, तिमीले न मलाई सुन्न सक्छौ, न पढ्न । तर, नेपालको इतिहासमै दलितमाथि भएको भयानक नरसंहारले उद्वेलित मनलाई शान्त पार्न यी शब्द तिम्रो नाममा लेख्ने जमर्को गर्दै छु । तिम्रो हत्या भएको दिनदेखि प्रत्येक दिन मैले मेरो आत्मासँग गरेको वार्ता अनि लेखिएका हरफ आजको दिनमा प्रकाशित गरेको छु । आज २१ जेठ अर्थात् दोस्रो जनआन्दोलनको सफलतासँगै पुनर्स्थापित संसद्ले ०६३ सालमा नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको र संसद्को घोषणाको स्वामित्व लिँदै नेपाल सरकारले ०६८ सालमा यस दिनलाई जातिय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस घोषणा गरेको दिन ।

मलाई थाहा छैन, आजको दिनलाई कसरी बुझौँ र कुन शब्दले पुकारौँ । छुवाछूतमुक्त भनौँ कि छुवाछूतयुक्त भनौँ, म अन्योलमा छु । छुवाछूतयुक्त भन्दा संसद् र सरकारले मुक्त घोषणा गरेको १४ वर्ष बितिसकेको छ, मुक्त भनौँ भने तिमी र तिम्रा साथीको विभेदकै कारण निर्मम हत्या भएको आज १२ दिन बितेको छ । जे होस्, आज शोकमा रहेका आमउत्पीडित दलित समुदायले पीडा र आक्रोशसँगै शोकलाई शक्तिमा बदल्ने अठोटसाथ यो दिनलाई आन्दोलनमय बनाइरहेका छन् । आशा छ, तिम्रो आत्माको शान्तिका लागि यो आन्दोलन गन्तव्यमा पुगेरै रोकिनेछ । 

जाजरकोटका नवराज विक र उनका साथीहरूको जस्तो नियति झन्डै ६० लाख दलितले वर्षौंदेखि भोगिरहेछन् । यसैले लाग्छ, देश हाम्रो भए पनि समाज हाम्रो होइन, राज्य हाम्रो भए पनि शासक हाम्रा होइनन् ।

प्रिय पाठकहरू ! यो आत्मालाप पढ्नुअघि मेरो सादर अनुरोध छ कि तपाईं २०–२२ वर्ष उमेरको हुनुहुन्छ भने आफूलाई नवराज भएको सम्झनुहोला । ४०–५० वर्षको भए नवराजका बाबाआमा भएको सम्झनुहोला । अनि नवराजको प्रेम, संघर्ष र जातभातको कलंक र यसले अछूत अर्थात् सानो जात बनाएको सम्झनुहोला । उनीहरूको सुन्दर परिवार, सपना र भविष्य कस्ता थिए होला, त्यो पनि कल्पना गर्नुहोला । अनि अन्तरजातिय प्रेमका कारण अबोध, अल्लारे किशोर नवराज र उनका साथीलाई चारैतिरबाट घेरा हालेर बर्बरतापूर्वक हत्या गरी नदीमा फालेको कल्पना गर्नुहोस् । यो घडीमा उनीहरूलाई कति असह्य पीडा भयो होला, कल्पना गर्नुहोला । उनीहरूको परिवारमा परेको विपत्तिको अनुमान गर्नुहोला । यदि वास्तविक रूपमा यस्तै घटना तपाईंको जीवनमा आइपर्‍यो भने के तपाईं सहन सक्नुहोला ? पक्कै पनि सक्नुहुन्न । यदि त्यसो हो भने तपाईंको जातिवादी चस्मा फुकालेर यो आत्मालाप पढ्नुहुन मेरो बिन्ती छ । 

प्रिय नवराज, म यी हरफ लेख्न बसिरहँदा आकाश बादलले डम्म ढाकेको छ । हावा चलिरहेको छ । मेघ गर्जेको छ । यस्तो लाग्छ, आकाशले पनि तिमीप्रति भएको अन्यायविरुद्ध आवाज उठाइरहेको छ । हामी पनि यही १३ गते तिमीमाथि भएको बर्बर दमनविरुद्ध आवाज उठाउन राजतन्त्र अन्त्य गरी गणतन्त्र ल्याउन पहिलोपटक उद्घोष गर्ने कीर्तिपुरको लोकतान्त्रिक चोकमा जुट्याैँ र उद्घोष गर्‍यौैँ कि तिमीलगायत तिम्रा साथीमाथि भएको गम्भीर जातिवादी अपराधको निष्पक्ष छानबिन होस्, हत्यारालाई कडा कारबाही होस् र हिन्दू उच्च जातीय अहंकारवादले टिकाएको अमानवीय, अवैज्ञानिक, पाशविक, जात व्यवस्था र वर्णव्यवस्थाको साम्राज्यको यथाशीघ्र समूल अन्त्य होस्, यसका लागि हामी सास रहेसम्म लडिरहनेछौँ । हाम्रो प्रदर्शनलाई न कोरोनाले रोक्यो, न लकडाउनले । पुलिसकै अगाडि हामीले प्रदर्शन गरिरहयौँ, झमझम पानी परिरह्यो । सायद, तिमी र तिम्रा साथीमाथि भएको पीडामा आकाशले पनि आँसु खसाल्यो होला ।

नवराज, तिमीलाई पहिलोपटक देखेको तस्बिरमा हो । ढाकाटोपी लगाएको, चेक सर्ट लगाएको, पहेँलो झोला बोकेको, झोलासँगै नेपालको झन्डा बोकेको, हँसिलो अनुहार भएको तिम्रो फोटो देख्दा तिमीलाई एक देशभक्त स्वाभिमानी नेपालीका रूपमा पाउँछु । जब रुकुम चौरजहारी सोतीको हमलाबारे सोच्छु, तब मेरो मनमा असह्य पीडा हुन्छ । फूलजस्तो तिमीहरूको शरीरमा कसरी प्रहार गरियो होला ? अनि चरम यातनापछि भेरी नदीमा फालिँदा कति पीडा भयो होला ? यो अनुमानसम्मले मनमा कताकता भक्कानो छुटेर आउँछ । सम्हालिन कठिन हुन्छ । आँखा टिलपिल हुन्छ । आँसु चुहिन्छ । सायद न्यायप्रेमी जनसमुदायको आँसु बगेको छ, अहिले । भेरी नदीमा बगेको पानीजस्तै ।

तिम्रो यो अजर अमर प्रेमकहानी र बलिदानको कुरा आउनुअघि हाम्रो आफ्नै पीडा थियो । महामारीले हामी डर, त्रास, भयको अँध्यारो किल्लाभित्र भोलिको उज्यालो बिहानीको प्रतीक्षामा थियौँ । यही वेला देशको सीमामाथि छिमेकीले धावा बोलेपछि हाम्रो मन छियाछिया भएको थियो, उद्वेलित भएको थियो, आन्दोलित भएको थियो । यही परिवेशमा तिम्रो बलिदानको खबरले पीडामाथि झन् पीडा थपिएको छ । थाहा छैन, यो पीडाको अन्त्य कहाँ गएर टुंगिन्छ । यतिचाहिँ निश्चित छ कि यो शोकलाई शक्तिमा बदलेर नेपालको दलित आन्दोलनले तिमीलाई पक्कै न्याय दिनेछ । 

नवराज, म अनुमान मात्र गर्न सक्छु, तिमीले कति मिठो सपना हृदयमा सजाएर प्रेमिकालाई लिन मन मिल्ने साथीका साथमा गएका थियौ होला । तिम्रा बाआमाले पनि कस्तो सपना देखेका थिए होलान् । तिम्रा साथीका पनि आफ्नै सपना थिए होलान् । ती सबै सपना अहिले भेरी नदीको भेलसँगै बगेका छन् । अनि एउटा भरभराउँदो देशभक्त युवा, आफ्ना बाबाआमाको सुन्दर सपना, देशको भविष्यको कर्णधार, प्रेमिकाको सपनाको राजकुमारको दुःखद अन्त्य भएको छ, हिन्दू उच्च जातीय अहंकारवादले गरेको निर्मम दमनबाट । 

नवराज, तिम्रो प्रेम मुना–मदनको जस्तै अमर भएको छ । हुन त तिम्री प्रेमिकाले मुनाको भूमिका खेल्छिन् या खेल्दिनन्, थाहा छैन । तर, इतिहासमा तिमीले मदनको सानदार भूमिका निभाएका छौ, आफ्नो प्रेमका लागि ज्यान अर्पण गरेर ।

थाहा छ नवराज, सामाजिक सञ्जालको साँघुरो घेराबाट बाहिर निस्केर हामीले गरेको सानो प्रयासले देश–विदेशमा एक प्रकारको तरंग ल्याएको छ । तिम्रो न्यायका लागि अहिले देशभरि मानिस उठिरहेका छन्, तर दलित मात्र । हामीले सुरु गरेको तिम्रो न्याय तथा जात व्यवस्था र वर्णव्यवस्था अन्त्य गर्ने अभियानमा के आमदलितसँगै गैरदलित न्यायप्रेमी समुदाय, परिवर्तन चाहनेहरू सहभागी बन्लान् ? मलाई शंका छ । औँलामा गन्न सकिने मात्र तिम्रा पक्षमा उभिनेछन् र बाँकीले किनारामा साक्षी बनेर रमिता हेर्नेछन् । उखानै छ नि, ‘जसको बाबु मर्‍यो, उसैको छोरो टुहुरो ।’ अनि हाम्रो पीडाले के छुन्थ्यो, उनीहरूलाई ? त्यो पनि मनुकालीन जातपात र छुवाछूतको दलदलमा भासिएका रुढिवादीलाई । यो त हामीले लामो समयदेखि पटक–पटक भोगेकै विषय हो ।

निर्मला पन्त काण्डमा देश उचाल्नेहरूले उस्तै प्रकृतिको माया विकको घटनामा चुइँक्क आवाजसमेत ननिकालेको तितो अनुभव हाम्रो मानसपटलमा ताजै छ । नामको पछाडि झुन्डिने जातबोधक शब्दका आधारमा सोच विचार बनाउने र सोहीअनुसार व्यवहार गर्ने संकीर्ण मानसिकता बोकेकाहरूप्रति मलाई सधैँ दया लागेर आउँछ । यदि अहिले पनि तिम्रो ठाउँमा अरू कुनै जाति वर्गको मानिस भएको भए अहिलेसम्म उत्पात मच्चिइसक्ने थियो । यसैले हामी अभ्यस्त भइसकेका छौँ, न्यायको लडाइँमा अरू कसैले साथ देओस् या नदेओस्, ६० लाख दलित अन्तिमसम्म लडिरहनेछौँ । 

योे कस्तो दुर्भाग्य हो कि यो देश तथा समाजमा तिमी र तिम्रो समुदायको पक्षमा कोही छैन । तिमीले तिरेको करबाट तलब खाएका र जिउधनको सुरक्षा गरी शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएका प्रहरी चौरजहारीमा चारैतिरबाट मानव रूपमा रहेका दानवले घेरा हालेर तिमीहरूमाथि निर्मम आक्रमण गरिरहँदा रमिते बने । किन थाहा छ ? किनकि, उनीहरू तिम्रो जात वर्गका थिएनन् । यसैले तिमीहरूमाथिको बर्बर आक्रमणमा मूकदर्शक बने । प्रहरी मात्र हैन, तिमीले भोट हालेर जिताएका जनप्रतिनिधि, अदालतका न्यायाधीश, सिडिओ, नेता, सांसद, मन्त्री, प्रधानमन्त्री तिम्रो जाति वर्गका होइनन् । यसैले उनीहरूले तिम्रा पक्षमा बोल्ने सुनिश्चितता छैन । हो नवराज, तिमीले मात्र हैन, करिब ६० लाख दलितले यही पीडा भोगिरहेछन्, वर्षौंदेखि । यसैले लाग्छ, देश हाम्रो भए पनि समाज हाम्रो होइन, राज्य हाम्रो भए पनि शासक हाम्रा होइनन् ।

नवराज, तिमीलाई यसअघि सायद कमैले चिन्थे होलान् । तर, अहिले तिम्रो सोच, विचार र साहसका कारण सिंगो देशले तिमीलाई चिनेको छ । अरूले के गर्छन्, थाहा छैन, तर म तिमीप्रति गर्व गर्छु । तिमीले बाबाआमासँग अहिलेको समयमा जातपात मान्नुहुँदैन भन्दै सम्झायौ । अनि आफ्नो चोखो, चिश्छल, निःस्वार्थ प्रेमको रक्षाका लागि एक अदम्य साहस देखायौ । लड्यौ । अन्ततः प्रेमका लागि तिमीले आफूलाई बलिदान दियौ । हो, तिम्रो प्रेम मुना–मदनको जस्तै अमर भएको छ । हुन त तिम्री प्रेमिकाले मुनाको भूमिका खेल्छिन् या खेल्दिनन्, थाहा छैन । तर, इतिहासमा तिमीले मदनको सानदार भूमिका निभाएका छौ, आफ्नो प्रेमका लागि ज्यान अर्पण गरेर । अनि जातभातजस्तो सामाजिक कलंकविरुद्ध संघर्ष गर्दै समानताको आफ्नो अधुरो सपना हामीलाई जिम्मा लगाउँदै अलप भएका छौ । त्यसैले तिमीप्रति गर्व छ । 

जब रुकुमको नरसंहारबारे सोच्छु, तब यस्तो लाग्छ, उच्च जातीय अहंकारले मानिस विवेकशून्य भए अनि यस्तो घोर अपराध गर्न तत्पर भए । यसैले यो घामजस्तै छर्लंग छ कि तिम्रो प्रेमको बाधक जातीय विभेद तथा छुवाछूत नै हो । हत्केलाले सूर्यलाई छेक्न नसकेजस्तै तिमीमाथि भएको हमलाको मूल कारण जातीय विभेद भएको तथ्यलाई किन्तु–परन्तु केहीले पनि छेक्न सक्दैन । हामीले छेक्न दिदैनौँ ।

भोकले भन्दैन बासीभात 
निद्राले भन्दैन असजिलो खाट
प्रेमले भन्दैन जात र भात ।

के प्रेम गर्नु नवराजको पाप हो र ? यो उसको नैसर्गिक अधिकार हो । संविधान र कानुनले दिएको हक हो । अनि यो हकमाथि किन कुठाराघात गरियो ? हामीले बुझ्ने भएदेखि नै माथिका पंक्ति सुनिरहेका थियौँ । प्रेम गर्ने जोडीमा यो आशय नभए पनि प्रेमीबीच जातपात, धनी, गरिब, गाउँले सहरियाका नाममा ठूलाठूला पर्खाल खडा भइरहन्छन् । संविधान र कानुनले खारेज गरिसकेको जातपातको सिनो बोकेर पवित्र प्रेमबीच तगारो बन्ने अधिकार मल्लहरूलाई कसले दियो ? के संविधानविरुद्ध लाग्ने छुट छ, उनीहरूलाई ? मानिसको सबैभन्दा महत्वपूर्ण हक भनेकै बाँच्न पाउने हक हो । महाभारतका अभिमन्युलाई चक्रव्यूहमा फसाएर मारेजस्तै नवराजहरूलाई घेरा हालेर निर्दयी तरिकाले हत्या गर्ने अधिकार मल्लहरूलाई कसले दियो ? के उनीहरू मल्ल ठकुरी भएकै कारण संविधानभन्दा माथि छन् ? के भोलि दलितले यसरी नै आक्रमण गरे भने उनीहरू सहन सक्छन् ?

नवराज, तिमीमाथिको यो हमलासँगै जब म हिन्दू वर्णव्यवस्थाको जातपात व्यवस्था, जसले मानवका रूपमा जन्मेकालाई कहिल्यै मानव बन्न दिएन, उनीहरूको जीवन नारकीय बनायो, जसले आज तिम्रो यो हालत बनायो, त्यो सम्झँदा रगत उम्लेर आउँछ, मुटु जलेर आउँछ । सुनामी बनेर यो विभेदकारी समाजलाई उडाइदिऊँ जस्तै लाग्छ । बाढी बनेर अपमानका पहाड भत्काइदिऊँ जस्तो लाग्छ । आगो बनेर विभेदकारी सोच विचार र व्यवहारलाई खरानी बनाइदिऊँ जस्तै लाग्छ । तरबार बनेर तिमीमाथि निर्मम प्रहार गर्ने हातहरू काटिदिउँ जस्तो लाग्छ । तर, म विवश छु । किनकि, यहाँ राज्य छ । कानुन छ । हामीलाई राज्यको स्नेह मिल्ला–नमिल्ला, कानुनले न्याय देला–नदेला, तर कानुनी शासन मान्नुपर्ने कर्तव्य छ । 

कानुनले न्याय दिने भए, राज्यले स्नेह गर्ने भए त सायद तिमी र तिम्रा साथी यसरी मारिनुपर्ने थिएन । सेते दमाई, मनवीरे सुनार, शिवशंकर दास, अजित मिजारलगायत कैयौँ दलित समुदायका सपुतको जातकै कारण हत्या हुने थिएन । ती घटनाका दोषीलाई कारबाही हुन नसक्दा कथित उच्च जातीय अहंकारले फुलेका छाडा साँढेजस्तै भएर समाजमा दलितलाई पलपलमा डसिरहेका छन् । जसको सिकार आज तिमी र तिम्रा साथी भयौ । यो घटनाले दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने ठाउँमा गोरा जातिका मानिसले काला जातिका मानिसको नरसंहार गरेको घटना स्मरण गराएको छ । 

नवराज, यो कस्तो विडम्बनापूर्ण संयोग हो कि जातीय विभेद र छुवाछूत गर्नेलाई कडा कारबाही गर्नका लागि आमदलित समुदायको मागअनुसार संसद्ले छुवाछूत ऐन पारित गरेकै दिन तिमीले मृत्युवरण गर्‍यौ । गणतन्त्र दिवस १५ जेठको पाँच दिनअगाडि, संसद्ले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिन अर्थात् २१ जेठको ठीक १० दिनअगाडि । सधैँ हामीले भव्य रूपमा मनाउने यो दिन हामीले शोक, पीडा र आक्रोशसहित आन्दोलनमा होमिएर मनाएका छौँ । हो, अहिले संविधान, कानुन र संसद्को घोषणाबाट जातीय विभेद तथा छुवाछूतमुक्त भएको देश र छुवाछूतमुक्त घोषणा गरिएको रुकुममा तिमी र साथीहरू जातपात र छुवाछूतकै कारण मारिएका छौ ।

यो घटनाले हाम्रो देश, सरकार, संसद् र सिंगो नेपालीलाई गिज्याइरहेको छ र प्रश्न गरिरहेको छ कि दलितले यो अमानवीय हिंसा कहिलेसम्म सहनुपर्ने हो ? सबै तन्त्र (राणातन्त्र, राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र...) बेहोरेका दलितले सोधिरहेका छन् कि अब कुन तन्त्र आएपछि दलितले आत्मसम्मान र मानव मर्यादापूर्वक बाँच्न पाउँछन् ? औँसीको अँध्यारो रातपछि उज्यालो बिहानी आए पनि दलित समुदायको जीवनमा किन आउन सकेन, सुनौलो बिहानी ? अब कति अपमान र पीडा सहनुपर्छ ? के कस्तो आन्दोलन हुनुपर्छ ? कस्तो परिवर्तन हुनुपर्छ ? कति बलिदानी दिनुपर्छ, दलितले ? र, आउनेछ सुनौलो बिहानी ? 

हो, अब हामीले यस्तो तन्त्रको परिकल्पना गरेका छौँ कि जहाँ वर्णव्यवस्था र जाति व्यवस्थाको अवशेष पनि नहोस् । त्यही तन्त्रले मात्र हामीलाई स्वतन्त्रता र समानता दिनेछ र हामी मानवका रूपमा सबैसरह भएर बाँच्न पाउनेछौँ । अब हेर्न बाँकी छ, राजनीतिक दल, सरकार, संसद्, न्यायालय, प्रहरी प्रशासन, नागरिक समाज र मिडियाले तिम्रो न्याय र वर्णव्यवस्था र जाति व्यवस्थाको अन्त्य गरी समतामूलक समाज स्थापना गर्न कस्तो पहल गर्छन् । के यो आत्मालापका पाठक अब यो घटना आफैँलाई परेको हो भन्ने ठानी न्यायको पक्षमा उभिएलान् ?

नवराज, तिमीले एक प्रेमी र जातपातविरोधी योद्धाका रूपमा आफूलाई बलिदान गर्‍यौ । प्रेमको कुरा गर्दा तिमी मुनामदनका एक मदन हौ र सधैँ अमर रहनेछौ । जातपातको कुरा गर्दा तिमी महान् योद्धा हौ । सलाम छ तिमीलाई र तिमीलाई साथ दिने तिम्रा साथीलाई । मलाई आशा र विश्वास छ, पक्कै पनि तिम्रो बलिदान खेर जानेछैन । 
(लेखक सामाजिक अभियन्ता तथा अधिकारकर्मी हुन्)