१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २१ बुधबार २१:५४:००
Read Time : < 1 मिनेट
समाचार

इन्जिनियर बन्न लाइसेन्स परीक्षा पास गर्नुपर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २१ बुधबार २१:५४:००

इन्जिनियरिङ विषय पढेपछि सीधै इन्जिनियर बन्ने प्रावधान परिवर्तन हुन लागेको छ । इन्जिनियरिङ पास गरेपछि लाइसेन्स पाउन नेपाल इन्जिनियरिङ परिषद्को परीक्षासमेत पास गर्नुपर्ने गरी कानुन निर्माण हुन लागेको छ । 

नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयकमा इन्जिनियरिङ व्यवसायीको रूपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पनि पास गर्नुपर्ने व्यवस्था गरिएको छ । नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष डिल्लीरमण निरौलाले परीक्षा नलिई लाइसेन्स वितरण गरिने व्यवस्थाले इन्जिनियरहरूको गुणस्तर ह्रास भएकाले विधेयकमै वर्षको दुईपटक परीक्षा लिई लाइसेन्स दिने व्यवस्था गरिएको बताए ।

संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा अध्यक्ष निरौलाले विद्यमान इन्जिनियरिङ परिषद् ऐनमा इन्जिनियरको योग्यताअनुसार नाम दर्ता गर्ने, इन्जिनियरिङ पेसामा कार्यसम्पादन बढाउने, परीक्षा प्रणालीमा पास हुनेलाई मात्र लाइसेन्स दिने, विश्वविद्यालयको पाठ्यक्रममा एकरूपता गर्ने र परिषद्को रजिस्ट्रारको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था गरेको बताए ।

यस्तै संविधानअनुसार समावेशी सिद्धान्त र प्रादेशिक संरचनाअनुसार परिषद्लाई बदल्न विधेयक संशोधन गर्नुपर्ने आवश्यकता भएको उनले बताए । 

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले इन्जिनियरको गुणस्तर बढाउन परीक्षा लिएर लाइसेन्स दिने व्यवस्था राम्रो भएको बताए । उनले विधेयकमार्फत नै देशभित्रका सबै विश्वविद्यालयका पाठ्यक्रममा एकरूपता ल्याउने गरी कानुन निर्माण गर्न समितिलाई सुझाब दिए । 

छलफलमा सांसदहरूले इन्जिनियरहरूको गुणस्तरमा ध्यान नदिँदा कतिपय संरचनाहरू कमजोर बनेको बताएका थिए । सांसदहरूले इन्जिनियरको लाइसेन्स वितरणमा कडाइ गर्नुपर्ने बताएका छन् ।