मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ २१ बुधबार १७:३०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

रुकुम घटनाको ११ दिनपछि बोल्यो नेकपा, निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई राहत दिन माग

Read Time : > 2 मिनेट
२०७७ जेठ २१ बुधबार १७:३०:००

६ जना युवाको ज्यान जाने गरी भएको रुकुम घटनामा ११ दिनपछि देशको प्रमुख राजनीतिक शक्ति नेकपाले औपचारिक धारणा सार्वजनिक गरेको छ ।

पार्टी महासचिव विष्णु पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवस पारेर नेकपाले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, ‘हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ । हाम्रो पार्टी उक्त बीभत्स, त्रासदीपूर्ण र आपराधिक कुकृत्यको घोर निन्दा र भर्त्सना गर्दछ । मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछ । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । उक्त घटनाको निष्पक्ष छानबिन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

जातीय विभेद देखिने गम्भीर घटनामा समेत औपचारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाको आलोचना भइरहेको वेला पार्टी महासचिवले विज्ञिप्त जारी गरेका हुन् । 

विज्ञप्तिमा थप भनिएको छ, ‘संवैधानिक र कानुनी हिसाबले यति अग्रगामी परिवर्तन र उपलब्धिहरू हुँदाहुँदै पनि व्यवहारमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटना देखापर्नु गम्भीर चिन्ताको विषय हो । यसले हामीलाई राजनीतिक रूपमा प्राप्त उपलब्धिहरूलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घचघच्याइरहेको छ ।’

नेकपाले उत्पीडित दलित समुदायमाथि हुँदै आएको छुवाछुतको कुप्रथालाई जरैदेखि उन्मूलन गर्ने अभियानमा सामेल हुन सबैमा आह्वान गरेको छ ।

छुवाछुतको जस्तो अपराधमा संलग्न हुने कुनै पनि व्यक्ति पार्टीमा रहन नसक्ने नेकपाले आचारसंहिता जारी गरिसकेको जनाउँदै उनले कुप्रथा अन्त्यका लागि सामूहिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

‘हाम्रो पार्टीद्वारा जारी आचारसंहितामा पार्टीका नेता–कार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात् गर्नुपर्ने र छुवाछुतजस्तो अपराधमा संलग्न व्यक्तिहरू पार्टीमा रहिरहन नसक्ने स्पष्ट व्यवस्था गरेको छ,’ पौडेलले वक्तव्यमा भनेका छन्, ‘हाम्रोे पार्टी मुलुकको संविधान, कानुन र पार्टीको विधान एवं आचारसंहिताका आधारमा यस्ता कुप्रथालाई जरैदेखि निर्मुल गर्न कृतसंकल्पित रहेको व्यहोरा जानकारी गराउँदै वास्तविक समानता र मानव गरिमा स्थापित गर्ने यस अभियानमा संलग्न हुन सम्बद्ध सबैमा आह्वान गर्दछ ।’ 

मंगलबार पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि विज्ञप्ति निकालेर निष्पक्ष छानबिनको माग गरेका थिए । खनालले विज्ञप्ति जारी गरी भनेका थिए, ‘यो छानबिन न्यायिक होस्, निष्पक्ष होस्, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रहोस् र अपराधमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गरियोस् । पीडितहरूलाई न्यायको अनुभूति होस् ।’

नेकपा महासचिव पौडेलले जारी गरेको विज्ञप्ति 

आज जेठ २१ गते, छुवाछुतविरुद्धको राष्ट्रिय दिवस, यस उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।

छुवाछुत मानव सभ्यताविरुद्धको एउटा कलंक हो । सामन्तवादी सामाजिक–सांस्कृतिक संरचनाको उपजको रूपमा रहेको यस कुप्रथाले युगौँसम्म हाम्रो समाजका श्रमजीवी वर्ग दलित समुदायलाई विभेद र उत्पीडन गर्दै आएको यथार्थ हामी सबैलाई अवगत नै छ । यस उत्पीडनविरुद्ध समाज सुधारक र मानवतावादीहरूले विभिन्न रूपमा आवाज उठाउँदै र संघर्ष गर्दै आएको इतिहाससँग पनि हामी परिचित छौँ । सबैखाले सामन्ती उत्पीडन अन्त्य गर्दै न्यायपूर्ण, समतामूलक र विभेदरहित समाजवादी समाज निर्माण गर्ने लक्ष्य लिएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीले स्थापनाकालदेखि नै यस्ता विभेदविरुद्ध अग्रपंक्तिमा रहेर संघर्ष गर्दै आएको छ ।

नेपाली जनताको बलिदानी संघर्षको जगमा आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नेपाली जनताका प्रतिनिधिहरूद्वारा जारी संविधानले मुलुकमा जातीय विभेद र छुवाछुतलगायत सबै विभेदहरूलाई अन्त्य गर्दै समानता र अविभेदको संवैधानिक प्रत्याभूति गरेको छ । संविधानमा दलित समुदायका निम्ति विशेष व्यवस्थाहरूसमेत गरिएका छन् । छुवाछुत र जातीय विभेदलाई सामाजिक अपराधका रूपमा दण्डनीय बनाउने कानुनी व्यवस्थासमेत गरिएका छन् ।

तर, संवैधानिक र कानुनी हिसाबले यति अग्रगामी परिवर्तन र उपलब्धिहरू हुँदाहुँदै पनि व्यवहारमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटनाहरू देखापर्नु गम्भीर चिन्ताको विषय हो । यसले हामीलाई राजनीतिक रूपमा प्राप्त उपलब्धिहरूलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घचघच्याइरहेको छ ।

हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ । हाम्रो पार्टी उक्त बीभत्स, त्रासदीपूर्ण र आपराधिक कुकृत्यको घोर निन्दा र भर्त्सना गर्दछ । मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछ । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । उक्त घटनाको निष्पक्ष छानबीन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । 

हाम्रो पार्टीद्वारा जारी आचारसंहितामा पार्टीका नेता–कार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात् गर्नुपर्ने र छुवाछुतजस्तो अपराधमा संलग्न व्यक्तिहरू पार्टीमा रहिरहन नसक्ने स्पष्ट व्यवस्था गरेको छ । हाम्रोे पार्टी मुलुकको संविधान, कानुन र पार्टीको विधान एवं आचारसंहिताका आधारमा यस्ता कुप्रथालाई जरैदेखि निर्मुल गर्न कृतसंकल्पित रहेको व्यहोरा जानकारी गराउँदै वास्तविक समानता र मानव गरिमा स्थापित गर्ने यस अभियानमा संलग्न हुन सम्बद्ध सबैमा आह्वान गर्दछ । 
 
विष्णुप्रसाद पौडेल
महासचिव