मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ २१ बुधबार १५:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

लकडाउनका बीच निरन्तर अघि बढ्दै सडक र पुल निर्माण कार्य

Read Time : > 1 मिनेट
२०७७ जेठ २१ बुधबार १५:५३:००

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशमा लडकाउन भइरहँदा देशभरको  सडक  निर्माणदेखि पुल निर्माणको काम भने जारी रहेको छ । 

कोरोना महामारीका वेला पनि सडक निर्माणको कामलाई निरन्तरता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले कामलाई गति दिइरहेका छन् । 

महामारीसँगै विकास निर्माणको गतिलाई पनि निरन्तरता दिँदै निर्माणको काम निरन्तर जारी राखिएको विभागले जनाएको छ । 

आगामी आर्थिक वर्षको बजेटसमेत आइसकेको  र चालू आर्थिक वर्षको बजेट खर्च गर्नका लागि पनि निर्माणको कामलाई निरन्तरता दिएको विभागको भनाइ छ । 

वर्षा अघि नै निर्माण सक्नुपर्ने सबै जिल्लाका डिभिजन सडकअन्तर्गतका आयोजनामा सहजीकरण गरेर लकडाउनका वेला पनि काम गर्ने वातावरण बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

सबै जिल्लाका निर्माण आयोजनामा प्रयोग हुने सवारीसाधनका लागि पास उपलब्ध गराउनेदेखि निर्माण सामग्रीको जोहो गर्नेसम्मका काममा मन्त्रालयले तदारुकतासाथ काम गरिरहेको मन्त्रालयका प्रवक्ता सरोज प्रधानले बताए । 

‘हामीले  निर्माणका लागि आवश्यक पर्ने कुनै पनि भएजतिको सामान जाेहो गर्न, मजदुरका लागि पास उपलब्ध गराउनका लागि तथा पूर्वाधार निर्माणका लागि सडक विभागसँग समन्य गरेर काम गरिरहेको छौँ,’ प्रधानले भने ।

देशभर लकडाउन अघि निर्माणमा रहेकोमध्ये अधिकांश सडक तथा पुलहरूको निर्माण कार्य अहिले पनि जारी रहेको सडक विभागका प्रवक्ता केशव शर्माले बताए । 

लकडाउन भए पछि पनि देशभर २१ को पुल सम्पन्न गरेको उनले बताए । त्यस्तै नयाँ सडकअन्तर्गत  ८० किलोमिटर सडक पिच गरिएको  शर्माले बताए ।

त्यस्तै ग्राभेल सडकअन्तर्गत एक सय किलोमिटर सडक निर्माण लकडाउनको अवधिमा निर्माण भएको प्रवक्ता शर्माले जानकारी दिए । 

साथै उनले ४५ किलोमिटर सडकको नयाँ ट्रयाक्क खोलिएको बताए । 

त्यस्तै ११ चैत देखि १५ जेठसम्मको तथ्यांकका अनुसार काठमाडौं उपत्यकामा मात्र ८५ किलोमिटर सडक पिच भएको शर्माले जानकारी दिए । 

काठमाडौंका विभिन्न ठाउँहरू पुतलीसडक कमलादी जाने बाटो पिच गरिएको छ भने  महराजगन्ज बाँसबारीको सडक पनि पिच गरिएको सडक विभागले जनाएको छ । 

त्यसैगरी माइतघर पद्मोदय मोड सडक, चाबहिल–बौद्ध–जोरपाटी सडक पनि पिच गरिएको  विभागले जनाएको छ ।

पहिलोजत्तिको सहज नभए पनि कामले निरन्तरता   जारी  राख्दै  प्राथमिकताको आधारमा पनि निमाएण कार्य अघि बढी रहेको  शर्माले बताए ।

‘पहिलाभन्दा निर्माण सामग्री र मजदुरको कमी भए पनि निर्माणको काम गर्ने मौका पनि यहि हो भन्ने उद्देश्यले कामलाई निरन्तरता दिएका छौँ । मन्त्रालयबाट पनि काम नरोक्न भन्ने निर्देशन भएकाले हामीले पनि जिल्लाका सडक डिभिजनहरूलाई पनि काम नरोक्न निर्देशन दिएर अघि बढाइरहेका छाैँ ।’ शर्माले भने । 

उपत्यकामा भने निर्माण सामग्री नआएपछि निर्माणको काम प्रभावित बनेको छ । बाहिरी जिल्लामा भने यस्तो समस्या नभएको मन्त्रालयको दाबी छ । 

अहिले गौशाला–चाबहिल सडक कालोपत्र गर्न काभ्रेबाट निर्माण सामग्री ल्याउन समस्या भएको विभागले जनाएको छ ।

स्थानीयले अवरोध गरेपछि ल्याउन असजिलो भएको र समाधानको प्रयास भइरहेको विभागका प्रवक्ता शर्माले बताए । 

लकडाउनका वेला समयमै नगरी नहुने पक्की पुलको ढलान र सडक कालोपत्र गर्ने कामलाई प्राथमिकता दिएको उनको भनाइ छ । 

निर्माणको काम भइरहेको भए पनि  निर्माण  सामग्रीको ढुवानीजस्ता कुरामा पासका कारण समस्या भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । 

बढ्दो कोरोना संक्रमणका कारण एक जिल्लाबाट अर्को जिल्ला जान नदिइएको र निर्माणका सामग्रीको ढुवानी गर्न कठिनाइ भएको उनको भनाइ छ ।