मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २१ बुधबार १२:४८:००
Read Time : > 1 मिनेट
प्रविधि

जुकरबर्गविरुद्ध फेसबुकका चार सय कर्मचारीको भर्चुअल प्रदर्शन, दुईले दिए राजीनामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २१ बुधबार १२:४८:००

फेसबुकका संस्थापक मार्क जुकरबर्गले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको पोष्टलाई फेसबुकमा मान्यता दिएपछि फेसबुककै कर्मचारीहरूले विरोध जनाएका छन् ।

मंगलबार फेसबुकका कर्मचारीहरूले भर्चुअल सम्मेलन गर्दै कम्पनीविरुद्ध विरोध प्रदर्शनसमेत गरे । साथै उनीहरूले अमेरिकी  राष्ट्रपति ट्रम्पको पोष्टलाई हटाउन पनि आग्रह गरेका छन् ।

फेसबुकका संस्थापक जुकरबर्गले भने उक्त पोष्टलाई फेसबुकमै रहन दिने भनिसकेपछि कम्पनीकै कर्मचारीले संस्थापक जुकरबर्गको आलोचना गरेका छन् भने कतिपयले राजीनामासमेत दिएका छन् ।

अमेरिकामा कालो जातिका एक पुरुषको हत्या गरिएकोविरुद्ध प्रदर्शन जारी छ । 

प्रदर्शन सुरु भएको दोस्रो दिन ट्रम्पले फेसबुक र ट्विटरमार्फत पोष्ट गर्दै ‘लुटिङ (प्रदर्शन) सुरु भयो, हामी सुटिङ सुरु गर्छाैं, अहिले नै प्रहरी खटाउँछौँ’ भनेका थिए ।

उनले गरेको यो पोष्टले हिंसालाई बढावा दिएको भन्दै ट्विटरले लुकाएको थियो । 

तर, फेसबुकले भने यो पोष्ट कम्पनीको नीतिबाहिर नपरेको भन्दै फेसबुकमा रहन दिएको थियो ।

त्यसपछि फेसबुककै कर्मचारीहरूले समेत जुकरबर्गले ट्रम्पको बचाउ गरेको आरोप लगाएका थिए । ट्रम्पको पोष्ट हिंसात्मक रहेको, तर कम्पनीले प्रतिक्रिया नजाएको भन्दै मंगलबार चार सय कर्मचारीले भर्चुअल विरोध प्रदर्शन गरेका हुन् । 

केही कर्मचारीले भने ट्विटरमा पोष्ट गरेरसमेत फेसबुकको विरोध गरेका छन् ।

विरोधपछि पनि संस्थापक जुकरबर्गले पोष्टलाई मान्यता दिएपछि कम्पनीका दुई कर्मचारीले राजीनामा दिएको समाचार संस्था फर्च्युनले जनाएको छ ।

फेसबुकको १६ वर्षे इतिहासमा पहिलोपटक ठूलो संख्यामा कर्मचारीले भर्चुलअल प्रदर्शन गरेका हुन् ।

गत शुक्रबार मार्क जुकरबर्गले ‘ट्रम्पको पोष्टप्रति आफ्नो व्यक्तिगत विरोध रहेको, तर यसले हिंसालाई बढावा दिएको जस्तो लाग्दैन’ भनेर लेखेका थिए ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राष्ट्रपति ट्रम्प र जुकरबर्गका बीच विवादास्पद सम्बन्धबारेको समाचार टिप्पणीहरू यसअघि पनि बाहिर  ल्याएका थिए । 

(एजेन्सी)