Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २१ बुधबार ११:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अप्ठ्यारोका वेला करको ताकेता अस्वाभाविक र गैरजिम्मेवारीपन : नेपाली कांग्रेस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २१ बुधबार ११:४३:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल कर बुझाउन भनी सरकारले जारी गरेको सूचनाप्रति आपत्ति जनाएको छ । 

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै कोरोनाका कारण सिर्जित लकडाउनको अप्ठ्यारोमा सरकारले कर बुझाउन जारी गरेको सूचनाप्रति आपत्ति जनाएका हुन् । 

आमनागरिकलाई पीडामाथि पीडा थप्ने कार्य अत्यन्त निन्दनीय भएको भन्दै गलत कदमलाई तत्काल सच्याएर जनताको पीडामाथि पीडा नदिन कांग्रेसले आग्रह गरेको हो । 

‘लकडाउनका कारण देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्रलगायत शैक्षिक संस्था ठप्प छन् । त्यसका अलावा अन्य व्यवसाय, बैंक, वित्तीय तथा सहकारी संस्था तथा निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाइ भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको छ । यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको समयभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वाभाविक, अप्राकृतिक, अव्यावहारिक र गैरजिम्मेवारपनको पराकाष्ठा हो । सरकारको यस कार्यप्रति नेपाली कांग्रेस संसदीय दल घोर भर्त्सना गर्दछ ।’ 

लकडाउनको अवस्थामा उद्योग, श्रमिक र कृषकलाई करको ताकेताको सट्टा राहत दिनुपर्ने ठहर कांग्रेसको छ । 

‘कोरोना रोगको कारण बन्द भएका सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरूका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरीत करका लागि ताकेता गर्नु भनेको वर्तमान सरकार आमनेपाली नागरिकप्रति उदासीन रहेको प्रस्ट भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी लामो समय लकडाउन भएको अवस्थामा पनि सररकारले गम्भीर एवं जिम्मेवारीपूर्वक ढंगबाट कोरोना रोगको रोकथामका लागि तत्परता नदेखाएको आरोप कांग्रेसको छ । 

बरु उल्टै जनतालाई आतंकित पार्ने कार्य भएको र सरकारको कार्यक्षमतामा नै प्रश्नचिह्न खडा भएको आरोप कांग्रेसको छ । यस्ता  गतिविधिले सरकार दिनप्रतिदिन असफल हुँदै गइरहेको कांग्रेले ठहर गरेको छ ।