१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ २१ बुधबार ११:११:००
Read Time : > 1 मिनेट
समाचार

आफ्नै खेतमा खनजोत गर्दा भारतीय पक्षबाट अवरोध

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ जेठ २१ बुधबार ११:११:००

कञ्चनपुरको महाकाली नगरपालिका-८ सुन्दरनगरका स्थानीय किसान लक्ष्मण पुन (मगर) बर्खेखेतीका लागि गत साता खेततिर हिँडे । सीमा क्षेत्रमा लक्ष्मणको खेत छ । रोपाइँको तयारी गर्न ट्रयाक्टर लिएर खोत्ने गएका उनलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को फौज आएर खनजोत गर्न दिएन। 

‘म खेत जोत्दै थिएँ, उताबाट एसएसबीको टिम आएर रोकिदिए,’  उनले भने, ‘उनीहरूले विवादित भूमि भन्दै खेतबाट ट्रयाक्टर हटाउन दबाब दिए ।’  एसएसबीले रोकेपछि ट्रयाक्टर लिएर आफू फर्किएको उनले बताए । सीमा पिलर १७ नजिक लक्ष्मणको अढाइ कट्ठा जमिनमा एसएसबीले खेतपाती एवं खनजोत गर्न दिएका छैनन् । 

गत वर्ष पुनले खेतमा लगाएको मसुरो भारतीय नागरिकले नष्ट गरिदिएका थिए । तीन वर्षअघि पनि एसएसबीले लक्ष्मणलाई खनजोतमा अवरोध गरेको थियो । ‘हामी यहाँ वि.सं. २०२४ सालदेखि बसेका हौँ,’  उनले भने, ‘बाबु सेना थिए, उनलाई डेढ बिघा जमिन मिलेको थियो, अहिले अनावश्यक रूपमा भारतीय पक्षबाट अवरोध भइरहेको छ ।’

जनखोतमा अवरोध गरेका एसएसबीले माथिको विषय भन्दै रोकेको लक्ष्मणले बताए । बोर्डर आउट पोस्ट (बिओपी) दोधाराले भारतीय पक्षबाट नेपालीको खेतमा अवरोधबारे माथिल्लो निकायलाई जानकारी गराइसकेको जनाएको छ । स्थानीयले भारतीय विस्तारवाद र हेपाह प्रवृत्तिकाे कारण आफ्नै खेतमा खनजोत गर्दासमेत अवरोध भएको गुनासो पोखेका छन् । 

सीमा क्षेत्रमा भारतीय पक्षबाटै अनावश्यक विवाद, अवरोध एवं रोकावटले सीमा क्षेत्रका नागरिकले हैरानी खेप्दै आएका छन्। स्थानीयले सीमा क्षेत्रमा काँडेतार लगाउन माग गरेका छन् । स्थानीय मानबहादुर गुरुङले पटक-पटक भारत भारतको हेपाहा, मिचाहा प्रवृत्तिबाट हैरान भएकाले सरकारलाई सीमा क्षेत्रमा ठूलो पर्खाल एवं काँडेतार लगाउन आवश्यक रहेको बताए।

उनका अनुसार १७ नम्बर पिलर आफ्नोतिर पार्ने मनसायले भारतीय पक्षबाट खाल्टो खन्ने काम भएको थियो । स्थानीयले त्यसको विरोध गरेका थिए । त्यसकै बदलामा भारतीय पक्षले नेपालीका जमिन खनजोतमा अवरोध पुऱ्याइरहेको छ । 

महाकाली नगरपालिकाले भने दुवै पक्ष बसेर विवाद टुंगो लगाउनुपर्ने जनाएको छ । महाकाली नगरका प्रवक्ता दिलबहादुर सिजालीले पटक–पटक आउने विवाद दुवै पक्ष बसेर समाधान खाेज्नुको विकल्प नभएको बताए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सुन्दनगरमा आएको विवाद नेपालतर्फको सशस्त्र प्रहरीलाई उता समन्वय गरेर समाधान गर्न निर्देशन लिएको बताए ।