मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ २१ बुधबार ११:१०:००
Read Time : < 1 मिनेट
समाचार

गाउँको बाटो हिँडेका स्वास्थ्यकर्मीमाथि ‘कोरोना फैलाउन आएको’ भन्दै कुटपिट

Read Time : < 1 मिनेट
२०७७ जेठ २१ बुधबार ११:१०:००

डोटीको शिखर नगरपालिका- ९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेव रमेश कुँवरमाथि आक्रमण भएको छ। आक्रमणमा परी कुँवर गम्भीर घाइते भएका छन्। 

स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकी जाँदै गरेको वेला मंगलबार कुँवरमाथि आक्रमण भएको हो। 

गाउँको बाटो हिँड्ने क्रममा मदिरा सेवन गरेका तीनजनाको समूहले ‘कोरोना फैलाउन आएको’ भन्दै आफूमाथि आक्रमण गरेको पीडित स्वास्थ्यकर्मी कुँवरले बताएका छन्। तीन व्यक्तिले गालीगलौज गर्दै कुँवरमाथि ढुंगामुढा गरेकाे जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए। 

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले शिखर नगरपालिका– ७ का नवीन खत्री, रोशन खत्री र तेज लुहारलाई पक्राउ गरेको छ। राससका अनुसार स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै विनाकारण आफूमाथि आक्रमण भएको घाइते स्वास्थ्यकर्मी कुँवरले बताएका छन्। 

आक्रमणबाट गम्भीर घाइते भएका कुँवरलाई उपचारका लागि सुरुमा डडेल्धुरा अस्पताल लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए। 

कुटपिटमा संलग्नलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। कोभिड– १९ महामारी नियन्त्रणका लागि आफ्नो ज्यानको पर्वाह नगरी दैनिक नागरिकको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको डोटीमा विरोध भएको छ। 

नेपाल स्वास्थ्यकर्मी संघ डोटीले एक विज्ञप्ति प्रकाशित गरी घटनाको भर्त्सना गर्दै दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ।