मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २१ बुधबार ०६:२७:००
Read Time : > 1 मिनेट
समाचार

ठूला व्यापारीमा जुवाको लत : लकडाउनमा होटेलबाट नौ व्यापारी पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २१ बुधबार ०६:२७:००

चाडपर्वका वेला हरेक वर्ष ठूला व्यापारी र ठेकेदारहरू जुवाखालबाट पक्राउ पर्छन् । चाडपर्वका वेला जुवा खेल्नुलाई कतिपयले सामान्य पनि मान्छन् । तर, अहिलेको संकटको वेलामा पनि कतिपय व्यापारी दैनिक जुवा खेल्ने गरेको सोमबार कमलादीको एक होटेलबाट केही प्रतिष्ठितसहित नौ व्यापारी पक्राउ परेपछि प्रस्ट भएको छ । यसले केही ठूला व्यापारी जुवाको लतमै रहेको देखाउने प्रहरी अधिकृतहरू बताउँछन् । 

गंगौर रिजेन्सी होटेलबाट प्रहरीले होटेल सञ्चालक निक्की जोगाईसहित एनआइसी बैंकका सञ्चालक रामचन्द्र संघाई, विशाल ग्रुप तथा एलआइसी नेपालका सञ्चालक अशोककुमार अग्रवाललगायतलाई पक्राउ गरेको हो । अग्रवाल नेपालका लागि गिनीका अवैतनिक वाणिज्य दूतसमेत हुन् । ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष नन्दकिशोर शर्मा पनि पक्राउ परेका छन् । विमल खेतान, पुरुषोत्तम अग्रवाल, विमल अउजा, गोविन्दराम सरिया, सुरेशकुमार अग्रवाल पनि पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार कार्यालय जाने बहानामा घरबाट निस्कने र उनीहरू नियमित रूपमा होटेलमा भेला भएर जुवा खेल्दै आएका थिए । दरबारमार्ग वृत्तका डिएसपी रञ्जन दाहाल भन्छन्, ‘जुवाखालबाट क्वाइनसमेत बरामद हुनुले उनीहरू पेसेवर रूपमै जुवा खेल्ने देखिन्छ ।’ लकडाउनका वेला उनीहरू नियमितजसो होटेलमा जम्मा भएर जुवा खेल्दथे । उनीहरूमध्ये धेरैजसोमा जुवाको लत नै रहेको अनुसन्धानमा आबद्ध एक प्रहरीले बताए । 

प्रहरीले उनीहरूबाट एक सय ७९ वटा क्वाइन बरामद गरेको छ । लेनदेनको हिसाब उनीहरूले अनलाइन बैंकिङबाट गर्दै आएकोसमेत प्रारम्भिक अनुसन्धानमा खुलेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको काठमाडौं परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । प्रभावशाली व्यापारी भएकाले उनीहरूले मन्त्रीदेखि सत्तारुढ दलका उच्च व्यक्तिमाथि दबाब दिएर हाजिरी जमानीमा छाड्ने प्रयास गरेका थिए । तर, प्रहरीले नमानेको स्रोत बताउँछ । 

ठूला व्यापारीका गोप्य मिनी क्यासिनो 

यसअघि गत ९ कात्तिकमा महाराजगन्जस्थित ठेकेदार विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा व्यापारीहरू श्रवण गोयल, पवित्रकुमार कार्की, सुमन अग्रवाल, सोहेल कार्की, इन्द्र श्रेष्ठलगायत पक्राउ परेका थिए । उनीहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन गरिरहेको छ । 

काठमाडौंमा लामो समय काम गरेका एक प्रहरीको अनुभवमा प्रायः गलत बाटोबाट धेरै सम्पत्ति जोडेका व्यापारीहरूमा जुवाको लत देखिन्छ । ‘मिहिनेत गरेर कमाउने र इमानदारीका साथ कर तिर्नेहरू यतातिर लाग्दैनन्,’ ती प्रहरी भन्छन्, ‘राज्यलाई नै मारेर कमाउने व्यापारी र रातारात सम्पत्ति कमाएकाहरूमा जुवाको लत देखिन्छ ।’ हुन्डीको कारोबारी तथा जग्गा कारोबारबाट छोटो समयमै धेरै पैसा कमाएकाहरूसमेत नियमित जुवा खेल्ने समूहमा छन् । कतिपय व्यापारी जुवाकै लतका कारण कंगालसमेत भएका छन् । कतिपय कलाकार तथा केही नेतासमेत नियमित मिनी क्यासिनो धाउनेमा पर्दछन् । 

क्यासिनोमा नेपालीलाई प्रवेशमा केही वर्षयता पूर्णरूपमा बन्देज लगाइएको छ । यस्तो अवस्थामा विभिन्न होटेल तथा घरहरू भाडामा लिएर मिनी क्यासिनो शैलीमा जुवा खेलाइने गरेको छ । त्यसमा धेरैजसो व्यापारी र ठेकेदार नै हुने गरेका छन् । नियमित रूपमा जुवा खेल्ने दर्जनौँ समूह राजधानीमा रहेको स्रोत बताउँछ । ‘खेलकुदमा सट्टाबाजीमा पनि यही समूह सक्रिय छ,’ ती प्रहरी अधिकारी भन्छन्, ‘कहिलेकाहीँ विवाद हुँदा मात्र सुराकी आउने भएकाले यस्तो पत्ता लगाउन कठिन छ ।’