मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ २१ बुधबार ०५:०२:००
Read Time : > 1 मिनेट
समाचार

गुरुकुलहरूले दलित विद्यार्थीलाई भर्ना लिनै मान्दैनन्, लिए पनि विभेद गर्छन्

Read Time : > 1 मिनेट
२०७७ जेठ २१ बुधबार ०५:०२:००

नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १४ वर्ष पूरा भएको छ । तर, अहिले पनि विभेद कायमै छ । अशिक्षाका कारण जातीय विभेद भएको भन्ने गरिन्छ । तर, शिक्षामा पनि दलित समुदायमाथि विभेद भएको पाइएको छ । दलित विद्यार्थीले संस्कृत पाठशाला गुरुकुलमा भर्ना नै पाउँदैनन् । पाइहाले पनि विभेद भोगेरै उनीहरू पढ्न बाध्य छन् । उनीहरूलाई गुरुकुलमा गैरदलितसरह व्यवहार गरिँदैन । झापामा २३ वटा गुरुकुल छन् । तर, गुरुकुलमा पढ्न जाने दलित ‘बटुक’लाई दलितले पढ्न हुँदैन भन्दै फर्काइने गरिएको छ । अधिकांश गुरुकुलले दलित विद्यार्थीलाई भर्ना नै लिँदैनन् । 

इलाम–५ बरबोेटेका ११ वर्षीय विकास कार्कीडोली (दर्जी) झापा, भद्रपुरको कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा भर्ना हुन गए । तर, गुरुकुलले भर्ना लिनै मानेन । गुरुकुलले ब्राह्मण बटुकलाई मात्र भर्ना लिने भनेपछि यो विषय दलित अधिकारकर्मीको कानमा पुग्यो । पढेलेखेकाहरूबाटै यस्तो विभेद भएपछि ०७५ जेठमा आन्दोलन भयो । दलित अधिकारकर्मीको आन्दोलन र दबाबपछि गुरुकुल भर्ना लिन तयार भयो । तर, विकासमाथि गरिएको विभेदका कारण उनले पढ्नै सकेनन् । भर्ना भएको चार दिनपछि उनले पढाइ नै छाडे । उनी अहिले गाउँ फर्केर स्थानीय विद्यालयमा पढ्दै छन् । 

‘त्यहाँ बस्न थालेपछि मलाई दाइहरूले कुट्न थाले । दमाई, कामीले संस्कृत पढ्न हुँदैन भन्दै हप्काए,’ विकासले नयाँ पत्रिकासँग भने, ‘मलाई त पढ्नै मन लागेन । संस्कृत त अब कहिले जान्न ।’ बुबा सानै उमेरमा बिते । आमाले अर्को विवाह गरेपछि टुहुरो बनेका विकासले अझै पनि वेलावेला संस्कृत पढ्ने रहर गर्छन् । तर, गुरुकुलको आवासमा बस्न मान्दैनन् । ‘अहिले पनि संस्कृत पढ्छु । तपाईं पनि मसँगै बस्नु, आवासमा बस्दिनँ भन्छ,’ आमा मीना दर्जीले भनिन्, ‘उसको स्वभाव पनि संस्कृत पढ्नेजस्तै छ । अब एक वर्षजति आफैँ बसेर पढाउँछु । त्यसपछि त बानी पर्छ होला नि ।’

झापाको गौरादहस्थित ज्ञानेश्वर गुरुकुलमा २५ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये दुईजना दलित बालक पनि पढ्छन् । तर, गुरुकुलजस्तो शिक्षित ठाउँमा पनि दलित विद्यार्थीमाथि विभेद छ । दलितलाई औपचारिक शिक्षा मात्र दिइएको छ । गैरदलितलाई जस्तो व्यवहार गरिँदैन । गौरादह–१ का आसिक दर्नाल (दर्जी) र गौरादह–२ का रोहित विक गुरुकुलमा पढ्दै आएका छन् । गुरुकुलका सबै विद्यार्थीलाई मन्दिर तथा घरमा पूजामा पुरोहितका रूपमा लगिन्छ । तर, दलित विद्यार्थीलाई न त घरमा पूजा गर्न नै लगिन्छ, न त अरू कुनै कार्यक्रममै सहभागी गराइन्छ । उनीहरूमाथि विभेद गरिएको छ ।

गुरुकुलका प्रधानाध्यापक पुष्पराज गुरागाईं पनि दलित भएकै कारण गुरुकुलबाहिर लान नसकिएको बताउँछन् । ‘अरूले त दलितलाई पढाएका पनि छैनन् । कम्तीमा हामीले त पढाएका त छौँ । दलित विद्यार्थीलाई अरूलाई जस्तो बाहिरको पूजापाठमा पढाउन लान सकिँदैन । सुरुमै हामीले अभिभावकसँग बोकेर हिँड्न सक्दैनौँ भनेर सम्झौता गरेका छौँ,’ गुरागाईं भन्छन्, ‘तर, समाजले पूजापाठमा पढ्न ब्राह्मण बटुक नै खोज्छन् । त्यसैले हामीले लान सक्दैनौँ । उनीहरूले पढ्छन्, बुझ्छन् । तर, बाहिर जान पाउँदैनन् ।’