१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ २० मंगलबार २०:०१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

ललितपुरका मालपोत अधिकृतसँग १० करोड अवैध सम्पत्ति, विशेष अदालतमा मुद्दा दायर

Read Time : > 2 मिनेट
२०७७ जेठ २० मंगलबार २०:०१:००

भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालसँग १० करोड २७ लाख ५८ हजार चार सय ६१ रुपैयाँबराबरको अवैध सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले आफन्तको नाममा सम्पत्ति लुकाएको आयोगको दाबी छ ।  

लामो समय मालपोतमा काम गरेका उनले भ्रष्टाचारको छानबिनबाट जोगिन आफन्तको नाममा सम्पत्ति लुकाएको आयोगले जनाएको छ । ढकालले ०५४ सालमा शिक्षक पदमा सरकारी सेवामा आबद्ध भएकोमा  ०५५ सालमा निजामती सेवातर्फ नासु पदबाट जागिर सुरु गरेका थिए । शाखा अधिकृतको पदमा बढुवा  भएपछि उनले मालपोत कार्यालयहरू तनहुँ, कास्की, डिल्लीबजार काठमाडाैं, पर्सासमेतका मालपोत कार्यालयहरूमा काम गरेकोमा पछिल्लो समय मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत थिए । 

उनले जेठान नवराज अर्यालको नाममा बैंक खाता खोलेर चलाएको तथा साली नाता पर्ने युवतीको नाममा गाडी खरिद गरेको आयोगले जनाएको छ ।  आयोगको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै परिवारका सदस्यहरूको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा सञ्चालित बैंक खाताहरूमा खासै कारोबार नगरी, नदेखाई आफूले गैरकानुनी रूपमा आर्जित स्रोत खुलाउन नसक्ने अवैध आर्थिक कारोबारलाई लुकाउने, छिपाउने उद्देश्यले हाल अष्ट्रेलिया बसोवास गर्दै आएका जेठान नाताका नवराज अर्यालको नाममा जनता बैकमा नयाँ खाता खोली उक्त खाता खोलेकै दिन खाता सञ्चालकबाट खाता सञ्चालनको अनुमति लिई निज बद्रीराज ढकालले आफूअनुकूलका व्यक्तिहरू एवं आफूसमेतले विभिन्न व्यक्तिहरूका नामबाट खातामा पैसा जम्मा गरी–गराई सो खातामा मौज्दात रकमहरूबाट आफूले खरिद गरेका जग्गाका जग्गाधनी तथा जग्गा बिक्रेता एवं जग्गा कारोबारसँग सम्बन्धित व्यक्तिहरूलाई भुक्तानी तथा खर्च लगानी गर्ने कार्यमा उक्त खाताबाट आफूअनुकूल रु. ४¸२६¸९९¸२९४।– विभिन्न शीर्षकहरूमा खर्च गरेको देखिन आयो ।’ 

तनहुँस्थित मालपोत कार्यालयमा कार्यरत रहँदा मोटो रकम कमाएको खुलेको छ । तनहुँका डेकबहादुर गुरुङलाई प्रभावमा पारी उनी र  उनको श्रीमतीसमेतका नाममा दर्ता कायम रहेका जग्गाहरू कुनै किसिमको खरिद–बिक्री कारोबार नै नगरी लिखतमा सरकारी न्यूनतम मूल्य उल्लेख गरी खरिद–बिक्री कारोबार देखाई आफ्नो नाममा ल्याई पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्यधिक मूल्य खुलाई उक्त जग्गाहरू डेकबहादुर गुरुङ र उनकी श्रीमती र डेकबहादुर गुरुङका सहोदर दिदी, भिनाजु र बहिनीसमेतका नाममा बिक्री लिखतले स्वामित्व हस्तान्तरण गरी हुँदै नभएको खरिद–बिक्री कारोबार गरेका थिए ।   त्यसको केही महिनामै उनले एक करोड ६८ लाख अस्वाभाविक  आयस्रोत बढाउने काम गरेकोसमेत अनुसन्धानको क्रममा खुलेको आयोगले जनाएको छ ।   

ढकालले आफू र श्रीमती सिर्जना अर्याल ढकालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा चार करोड ५४ लाख १७ हजार दुई सय ४४ रुपैयाँ खर्च गरेका थिए । घर निर्माण र घरमा रहेको फर्निचर तथा फर्निसिङ एवं इलेक्ट्रोनिक उपकरणहरूसमेतमा एक करोड एक लाख ५३ हजार ८१ रुपैयाँ  खर्च गरेका थिए । उनले सरकारलाई सात लाख ९० हजार एक सय ३० रुपैयाँ पुँजीगत लाभ र आयकर तिरेको देखिन्छ । 

विभिन्न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक सेयर खरिदमा एक करोड ११ लाख ४६ हजार सात सय एक रुपैयाँ खर्च गरेका थिए । सन्ततीको अध्ययनमा एक करोड ६० लाख, जीवन बिमा प्रिमियम शुल्कमा नौ लाख २४ हजार ६ सय ४०,  विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएका कर्जा चुक्तामा ६४ लाख ६३ हजार पाँच सय ११, सवारीसाधन खरिदमा २८ लाख २२ हजार सात सय, सुन खरिदमा भने १७ हजार तीन सय मात्र खर्च गरेको देखिन्छ । सरसापटी मात्र उनले २० लाख दिएका थिए ।   

उनको बैैंक खातामा दुई करोड ६८ लाख नाै सय आठ नगद गरी जम्मा सम्पत्ति १४ करोड ५३ लाख ८२ हजार चार सय ९८ हजार भएको आयोगको मूल्यांकन छ ।  यो अवधिमा वैध रूपमा उनले चार करोड २६ लाख २४ हजार ३७ रुपैयाँ मात्र कमाएको आयोगको दाबी छ । 

ठूलो रकमको स्रोत नखुलेकाले उनले अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले बताए । सम्पत्ति जफतका लागि उनकी श्रीमती तथा जेठानविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको छ ।