मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २० मंगलबार १५:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

लकडाउनको आज ७१औँ दिन, सवारी चाप बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २० मंगलबार १५:०५:००

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन आज ७१औँ दिनसम्म जारी रहे पनि उपत्यकाका मुख्य सडकहरूमा सवारीसाधनको चाप बढ्दै गएको छ ।

लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिस काममा निस्कन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको हो । मंगलबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसाधनको आवागमन बढेको पाइएको छ ।

प्रहरीले पनि चेकजाँचलाई केही खुकुलो बनाएको छ । अत्यावश्यक सेवाका सवारीसाधन र पास लिएकाबाहेकलाई पनि सामान्य सोधपुछ गरेर छाड्ने गरिएको छ । कामविना सवारी सञ्चालन गर्नेलाई भने नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

उपत्यकाका भित्री सडकमा रहेका अत्यावश्यक खाद्यान्न तथा तरकारी पसलहरू बिहान र साँझको समयमा खुल्ने गरेका छन् भने मानिस आफ्नो घरनजिकको पसलसम्म पुगेर किनमेल गरिरहेका देखिन्छन् ।

सरकारले पहिलोपटक गत ११ चैतबाट लागू हुने गरी लकडाउन घोषणा गरेको थियो । त्यसपछि पटक–पटक गर्दै थपिएको लकडाउनको अवधि आज २० जेठसम्म रहे पनि गत शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले पुनः ३२ जेठसम्मका लागि लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको थियो ।

यसबीचमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भइरहेको बताइएको छ । शनिबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनको नयाँ ढाँचा तयार गर्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएको थियो । सोही निर्देशनअनुसार समितिले आज लकडाउनको मोडालिटीमा छलफल गर्न बैठक आह्वान गरेको छ ।

पहिलोपटक लकडाउन घोषणा हुँदा दुईजना मात्रै संक्रमित रहेकोमा अहिले लकडाउनको ७१ दिन पुग्दा एक हजार आठ सय ११ पुगेको छ । यसबीचमा आठजनाको मृत्यु पनि भइसकेको छ । लकडाउन भए पनि संक्रमित बढ्दै जाने र अर्थतन्त्रमा पनि गम्भीर असर पर्दै जाने भएकाले लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकारलाई दबाब पर्दै गएको छ ।