१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रञ्जन भण्डारी महोत्तरी
२०७७ जेठ २० मंगलबार १२:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

क्वारेन्टाइन सिल भएपछि भारतबाट आएकाहरूको आँप बगैँचामा वास

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी महोत्तरी
२०७७ जेठ २० मंगलबार १२:११:००

कोरोना संक्रमण देखिएपछि नेपाली सेनाले महाेत्तरी सदरमुकाम जलेश्वरस्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसको क्वारेन्टाइन सिल गरेकाे छ । क्वारेन्टाइन सिल भएपछि भारतबाट आएकाहरू आँप बगैँचामा बस्न बाध्य भएका छन् ।

जलेश्वर नगरपालिका– ८ बजराहीका तीनजना क्याम्पसको क्वारेन्टाइन सिल भएको केही समयपछि आइपुगेका थिए । भारतको मुम्बईबाट आएका रसिद अन्सारी, फरिद अन्सारी र इरफान अन्सारीलाई क्वारेन्टाइनको गेटसम्म लगिए पनि सिल भएकाले फिर्ता गरिएको थियो । घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिए पनि घरमा बालबच्चा भएकाले उनीहरूले घर जान चाहेनन् । तर, त्यसपछि उनीहरूलाई कहाँ राख्ने भन्नेबारे स्थानीय तहले कुनै निर्णय गर्न सकेन । जसका कारण उनीहरू आँप बगैँचामा बस्न बाध्य भएका हुन् ।

सोमबार बिहान आएको हावाहुरीसहितको असिनापानीले उनीहरू सबैजना निथ्रुक्क भिजेका थिए । आफ्नो झोलामा रहेको कपडासमेत भिजेपछि घरमा खबर पठाएर कपडा नल्याइदिएसम्म भिजेकै कपडामा काम्दै बस्नुपरेको रसिद अन्सारीले बताए । आफूहरू चार दिनदेखि आँप बगैँचामा बस्न बाध्य भएको र स्थानीय सरकारलाई क्वारेन्टाइनको व्यवस्था गर्न पटक–पटक आग्रह गरे पनि कुनै चासो नदिएको इरफान अन्सारीले बताए ।

जलेश्वरमा क्वारेन्टाइन थप्ने विषयमा मेयर र वडाध्यक्षहरूबीच पटक–पटक भएकाे छलफल विना निष्कर्षमा टुंगिने गरेकाे छ । विभिन्न वडाका स्थानीयले आफ्नो क्षेत्रमा क्वारेन्टाइन बनाउन नदिने भन्दै विरोध गरेका थिए । तर, गत आइतबार बसेको सर्वदलीय बैठकमा पुनः क्वारेन्टाइन थप्ने सहमति भएको छ । तीन दिनभित्र क्वारेन्टाइन बनाएर सबैलाई क्वारेन्टाइनमा राख्ने मेयर रामशंकर मिश्रले प्रतिबद्धता जनाएका छन् ।