मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २० मंगलबार ०९:१३:००
Read Time : < 1 मिनेट
अर्थ

एडिबीसँग ३० अर्ब ऋणको सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २० मंगलबार ०९:१३:००

एसियाली विकास बैंक (एडिबी)ले कोरोना महामारीको रोकथाम तथा उपचारमा सहयोग पुर्‍याउन नेपाललाई करिब ३० अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । एडिबीले कोभिड–१९ एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट (कियर्स) कार्यक्रमअन्तर्गत नेपालाई ऋण सहयोग गरेको हो । 

नेपाल सरकार र एडिबीबीच २५० मिलियन अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहयोग गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र एडिबीका कन्ट्री डाइरेक्टर मख्तोर खामुद खानोभले हस्ताक्षर गरेका छन् । ऋण सहयोग सम्झौता कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडासमेत सहभागी थिए । 

कोरोना महामारीबाट प्रभावितलाई सामाजिक सुरक्षा दिन, स्वास्थ्य सेवा विस्तार गर्न तथा रोजगारी सिर्जना र कारोना महामारीको प्रभावालाई सम्बोधन गर्ने सरकारको केन्द्रीय राहत कार्यक्रममा यस ऋण सहयोगले मद्दत गर्ने सचिव ढुंगानाले बताए । उनले कोरोना महामारीको सामना गर्न ऋण सहयोग उपलब्ध गराएको भन्दै एडिबीलाई धन्यवादसमेत दिए । 

यो चुनौतीपूर्ण समयमा नेपाललाई सहयोग गर्न र नजिक रहेर सहकार्य गर्न एडिबी तयार रहेको कन्ट्री डाइरेक्टर मुख्तोरले बताए । महामारीबाट नागरिकमा पर्ने असर कम गर्न तथा महामारीको सामना गर्न नेपाल सरकारलाई यस कार्यक्रमको कार्यान्वयनबाट सहयोग गर्ने उनले बताए ।

एडिबीले दिएको यस सहुलियतपूर्ण ऋण बजेटरी सहयोगमै हुनेछ । अर्थात्, बजेटमा समावेश भएका कार्यक्रम तथा आयोजनामै यसको खर्च गरिनेछ । यस कार्यक्रमले ल्याबहरू बढाएर, क्वारेन्टाइन सुविधा विस्तार गरेर, सरुवा रोग रोकथाम, नियन्त्रण तथा उपचारमार्फत गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरेर तथा स्वास्थ्य पूर्वाधार विकास गरेर जनस्वास्थ्य प्रणाली सुदृढ गर्न मद्दत गर्नेछ । यस कार्यक्रमले सरकारलाई सामाजिक तथा आर्थिक क्षेत्रमा परेका प्रतिकूल असरलाई कम गर्नसमेत मद्दत गर्नेछ ।