मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पिटर बर्गेन
२०७७ जेठ २० मंगलबार ०६:५१:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

एन्टिफालाई आतंकवादी धोषणा गर्ने धम्की असंवैधानिक

Read Time : > 1 मिनेट
पिटर बर्गेन
२०७७ जेठ २० मंगलबार ०६:५१:००

अमेरिकाभित्रका संगठनमा आबद्ध हुँदैमा नागरिकलाई अपराधी करार गर्न सकिँदैन, चाहे संगठनको विचारधारा अतिवादी र अराजक नै किन नहोस्

आफ्नो प्रशासनले एन्टिफालाई आतंकवादी संगठन भएको घोषणा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी निश्चय नै गैरकानुनी तथा असंवैधानिक छ । किनकि यस कार्यले अमेरिकाभित्रकै कुनै वैचारिक समूहलाई अपराधीकरण गर्नेछ । धन्न अमेरिकाको पहिलो संविधान संशोधनमै मुलुकभित्रका दक्षिणपन्थी र प्रगतिशील दुवै खेमाका कुनै पनि राजनीतिक तथा वैचारिक समूहलाई सरकारले आतंककारी करार गर्न नपाउने व्यवस्था गरेको छ । यस्ता कुनै पनि संगठनसँग आबद्ध हुनुलाई प्रथम संशोधनले नागरिकको आस्था तथा वाक्स्वतन्त्रताका रूपमा अथ्र्याएको छ । चाहे श्वेत अतिवादी हुन् या अहिलेका वातावरण अभियन्ता, सबैलाई संगठनमा आबद्ध हुने उत्तिकै अधिकार छ ।

निश्चित रूपमा कुनै पनि अमेरिकी नागरिकले आफ्नो अतिवादी सोचका आधारमा कुनै पनि किसिमका आपराधिक गतिविधि गरेमा सजायको भागिदार हुनुपर्छ । तर, मुलुकभित्रका कुनै पनि संगठनमा आबद्ध हुँदैमा त्यो व्यक्तिलाई अपराधी करार गर्न सकिँदैन, चाहे सो व्यक्ति आबद्ध संगठनको विचारधारा अतिवादी, आपत्तिजनक तथा अराजक नै किन नहोस् ।

एन्टिफालाई पनि आतंकवादी समूहको सूचीमा दर्ज गर्न ट्रम्प सफल भएमा अमेरिकालाई आफ्ना नागरिकलाई समेत फरक विचार र आस्थाकै आधारमा अपराधी करार गर्ने बाटो खुल्छ

तर, मुलुकबाहिर अझ समुद्रपारका आतंकवादी समूहको सन्दर्भ भने फरक छ । यदि तपाईंले राष्ट्रिय आतंकवादविरोधी केन्द्र (नेसनल काउन्टर टेरोरिज्म सेन्टर) ले निर्धारण गरेको आतंकवादी समूहको सूची हेर्नुहुन्छ भने सबै समूह अमेरिकाबाहिरका छन् । यी विदेशी आतंकवादी समूहलाई प्रथम संशोधनले सुरक्षा प्रदान गरेको छैन । त्यसैले तिनलाई अपराधी समूह करार गर्दै आतंकवादीको सूचीमा राख्न सम्भव भएको हो । त्यसैले पछिल्ला वर्षमा आइएसआईसँग सम्पर्क गर्ने तथा आबद्ध हुने अमेरिकीलाई २० वर्षसम्मको जेल सजाय दिँदै आइएको छ ।

यदि एन्टिफालाई पनि आतंकवादी समूहको सूचीमा दर्ज गर्न ट्रम्प सफल भएमा अमेरिकालाई आफ्ना नागरिकलाई समेत फरक विचार र आस्थाकै आधारमा अपराधी करार गर्ने बाटो खुल्छ । चाहे ती समूह अतिवादी हुन् या नरमपन्थी, दुवैका समर्थकलाई सरकारले जेलमा कोच्न सक्छ ।

अर्को एउटा प्रश्न टड्कारो छ । किन एन्टिफासँगै कुनै पनि दक्षिणपन्थी, राष्ट्रवादी तथा पुरातन अतिवादी समूहलाई आतंकवादीको सूचीमा राख्ने कुरा ट्रम्पले उठाएका छैनन् ? यस्ता संस्थापनपक्षीय अतिवादीले नै गैरसंस्थापनपक्षीय आतंककारीले भन्दा अत्यधिक हत्या अमेरिकामा मच्चाएका छन् । न्यु अमेरिका नामक अनुसन्धान केन्द्रले निकालेको तथ्यांकअनुसार ११ सेप्टेम्बरपछि अमेरिकाभित्रका संस्थापनपक्षीय अतिवादीले राजनीतिक आधारमा ११० जनाको ज्यान लिइसकेका छन् भने एन्टिफाका समर्थकले एउटा पनि हत्या गरेका छैनन् । जब कि अश्वेत राष्ट्रवादी विचारधाराबाट प्रभावित भएर १२ जना मारिएका छन् । अर्को शब्दमा भन्नुपर्दा संस्थापनपक्षीय अतिवादी आतंकले सिर्जेको सुरक्षा चुनौती गैरसंस्थापनपक्षीय आतंकको भन्दा १० गुणा बढी छ । 

गत अप्रिलमा ट्रम्प प्रशासनले रसियाको रसियन इम्पेरियल मुभमेन्ट नामक श्वेत सर्वोच्चतावादी संगठनलाई आतंककारीको सूचीमा राखेको छ । तर, अझै पनि अमेरिकाका श्वेत संस्थापनपक्षीय आतंककारीलाई भने उनले सूचीकृत गर्ने छाँटकाँट देखाएका छैनन् । प्रथम संशोधनले सूचीकृत गर्न पनि दिँदैन । जतिसुकै अतिवादी वा प्रगतिशील किन नहोस् आफूलाई लागेको विचारका आधारमा निर्धक्कसँग संगठित हुन संविधानले नै अधिकार दिएको छ । 
(बर्गेन सिएनएनका राष्ट्रिय सुरक्षा विश्लेषक हुन्)
सिएनएनबाट