मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ २० मंगलबार ०६:४३:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

यसरी गरिन्छ पिसिआर परीक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ २० मंगलबार ०६:४३:००

- नेपालमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) र पलिमरेज चेन रियाक्सन (पिसिआर) विधिबाट कोरोना परीक्षण भइरहेको छ । आरडिटी परीक्षण किटबाट गरिन्छ । संक्रमणको शंका भएका व्यक्तिको रगत किटमा राखेर गरिने परीक्षण हो यो । पिसिआर परीक्षण स्वाबको माध्यमबाट प्रयोगशालामा गरिन्छ ।

- पिसिआर परीक्षणमा घाँटी, श्वासनलीकोे लिक्विड र मुखको र्‍यालको नमूना लिइन्छ । यसमा करिब ६ इन्चको स्टिकमा कपास बेरेर घाँटी वा नाकबाट छिराई स्वाब लिइन्छ । नाकको प्वालबाट छिराएर लिने विधिलाई मेडिकल भाषामा ‘नेजोफरेन्जियल’ र मुखबाट लिइनेलाई ‘ओरोफरेन्जियल’ भनिन्छ ।

खासगरी, भाइरस रहन सक्ने नाक र घाँटीको पछाडिको र्‍याल संकलन गरिन्छ । स्टिकलाई दुवैतिरबाट घुमाएर कपासमा स्वाबसँगै भाइरस आउने गरी निकालिन्छ ।

- स्वाब लिइसकेपछि निश्चित तापक्रम मिलाइएको भाँडोमा राखिन्छ । बाह्य वातावरणमा भाइरस मर्न सक्ने भएकाले विशेष सावधानीका साथ स्वाब सानो ट्युबमा राखिन्छ, जसलाई भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) भनिन्छ ।

त्यसपछि भिटिएमलाई परीक्षणका लागि प्रयोगशालामा पठाइन्छ । प्रयोगशालामा मेसिनमार्फत नमूनामा पाइएको ‘जेनेटिक म्याटेरियल’लाई कोरोना भाइरसको ‘जेनेटिक कोड’सँग मिलाइन्छ । भाइरसको सूक्ष्म अध्ययन गरिन्छ र मेसिनमार्फत यसको अवस्था पत्ता लगाइन्छ ।

- प्रयोगशालामा नमूनालाई प्रशोधन गरी मुख्य भाग छुट्याइन्छ, जसलाई ‘एलिकोटिङ’ भनिन्छ । यो प्रक्रियापछि आरएनए पत्ता लगाइन्छ, जसमा प्राइमर, पानीलगायत ‘पलिमरेज’ नामक जैविक इन्जाइम राखेर ‘मास्टर मिक्स’ तयार गरिन्छ । अनि, ‘मास्टर मिक्स’लाई निश्चित तापक्रममा पिसिआर मेसिनमा राखिन्छ, जसमा आरएनएको संख्या लाखौँमा वृद्धि हुन्छ ।

आरएनएको प्रकृति भाइरसको आरएनएसँग मिल्न गएमा भाइरस संक्रमण पोजिटिभ हुन्छ । यो प्रक्रिया पूरा गर्न पाँच घन्टाजति लाग्छ भने स्वाब संकलन र रिपोर्ट तयार पार्दासम्म आठ घन्टासम्म लाग्न सक्छ ।

- कोरोना संक्रमण पोजिटिभ आएका व्यक्तिको समय–समयमा परीक्षण गर्नुपर्छ । व्यक्तिको स्वास्थ्य अवस्थाका आधारमा कम्तीमा चार दिनपछि पिसिआर परीक्षण गरिन्छ ।