मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १९ सोमबार २०:३७:००
Read Time : > 1 मिनेट
समाचार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा ६ लाख ३५ हजार गुनासो फर्स्योट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १९ सोमबार २०:३७:००

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीमा समावेश गरियोस् भनी दर्ता भएका तथा विभिन्न चरणका सर्वेक्षणबाट संकलन गरिएका सम्पूर्ण गुनासो फर्स्योट गरेको छ । सबै माध्यम र चरणमा गरी प्राधिकरणको प्रणालीमा दर्ता भएका ६ लाख ३४ हजार नौ सय ७३ गुनासा छिनोफानो गरेको हो । 

ती सबै गुनासो सम्बोधनपछि कुल एक लाख ६ हजार चार ६५ पुनर्निर्माण लाभग्राही र ६७ हजार ६ सय ८१ गुनासोकर्ता प्रबलीकरण लाभग्राही कायम भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणमा गुनासो सम्बोधन निकै चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘लाभग्राही हुन नसकेका कुनै गुनासोकर्तालाई अझै लाभग्राहीमा पर्नुपर्छ भन्ने लागेमा पुनरावेदन समितिमा निवदेन दिन सक्नुहुनेछ ।’ प्राधिकरणले गरेको सुरुवाती सर्वेक्षणबाट किटान गरेको लाभग्राही सूचीमा नाम नपरेको भन्दै गुनासा आउन थालेपछि पहिलो चरणमा अतिप्रभावित १४ जिल्लामा ०७४ असार मसान्तसम्ममा गुनासो दर्ता खुला गरेको थियो । ती गुनासोको  विश्लेषण गरी लाभग्राही एवं गैरलाभग्राही कायम गरिएको थियो ।

फागुन ०७३ मा बसेको प्राधिकरण निर्देशक समिति बैठकले गैरलाभग्राहीहरूको पनि एकपटक स्थलगत परीक्षण गर्नुपर्ने निर्णय गरेपछि साउन ०७४ देखि २१ कात्तिकसम्म अतिप्रभावित १४ जिल्लामा तीन सय ३२ इन्जिनियर तथा त्यत्तिकै संख्यामा सामाजिक परिचालकसहितको टोली खटाई छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको थियो । त्यसक्रममा व्यापक संख्यामा नयाँ गुनासो दर्ता भएपछि सर्वेक्षण तोकिएको समयमा सम्पन्न हुन सकेन । सर्वेक्षणअन्तर्गत एक लाख २९ हजार चार सय १० गुनासोकर्ताको सर्वेक्षण सम्पन्न भएको थियो । जसअनुसार भूकम्प प्रभावित १८ जिल्लासमेत गरी थप एक लाख दुई हजार गुनासो दर्ता भएका थिए । ती गुनासो १५ चैन ०७५ देखि साउन ०७६ सम्म दोस्रोपटक छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन भयो । यसअन्तर्गत एक लाख ८८ हजारको स्थलगत सर्वेक्षण भएको थियो ।