१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कमलराज देवकोटा
२०७७ जेठ १९ सोमबार १६:४९:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

कोरोना संकटमा विश्वविद्यालय शिक्षा : चुनौती एवं सम्भावना

Read Time : > 5 मिनेट
कमलराज देवकोटा
२०७७ जेठ १९ सोमबार १६:४९:००

विश्व स्वास्थ संगठनले कोभिड–१९ लाई शताब्दीकै सबैभन्दा विनाशकारी महामारीको संज्ञा दिँदै सम्पूर्ण राष्ट्र र आमनागरिकलाई यसविरुद्धमा लड्न अपिल गरेको छ । स्वास्थ्य समस्याका अतिरिक्त कोरोना संक्रमणले विगत सय वर्षभित्रको सबैैभन्दा ठूलो आर्थिक संकट निम्त्याएको अर्थविद्ले बताएका छन् । विश्व अर्थतन्त्रका सबभन्दा ठूला राष्ट्रहरू कोरोना संक्रमणको पहिलो प्रहारमै पर्नु, संक्रमणबाट अझ बढी क्षति हुनबाट रोक्न विश्वका प्रायजसो राष्ट्र लकडाउनमा रहन बाध्य हुनुले विश्व अर्थतन्त्र धराशायी बन्न पुगेको छ ।

यसका अलावा लकडाउनबाट ती राष्ट्रका शैक्षिक, सामाजिक, मानवीय पक्ष पूर्ण रूपले प्रभावित भएका छन् । नेपालको हकमा कोरोना संक्रमण रोक्न गत चैत ११ गतेबाट देशभर लकडाउन भएको छ, जसका कारण देशका सम्पूर्ण विद्यालय एवं विश्वविद्यालय बन्द भएका छन् । खासगरी, विकसित राष्ट्रका धेरै विश्वविद्यालयले कोरोना चुनौतीका बाबजुद इन्टरनेट प्रविधिको प्रयोग गरी आफ्नो अध्ययन–अध्यापन तथा अनुसन्धान कार्यक्रमलाई निरन्तरता दिइरहँदा नेपालका सबैजसो विश्वविद्यालय बन्द छन् । एकाध विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीको सक्रियतामा डिजिटल पोर्टलका माध्यमबाट अनलाइन कक्षा सञ्चालन हुनु सुखद हुँदाहुँदै पनि ती कक्षा पनि एकाधबाहेक विश्वविद्यालयको शैक्षिक कार्यक्रमको संरचनाअन्तर्गत आउन सकेका छैनन् । यसै सन्दर्भमा यस लेखमा कोरोना संक्रमणसँगै नेपालको विश्वविद्यालय शिक्षामा सिर्जित चुनौती, ती चुनौतीका सन्दर्भमा विश्वविद्यालय र राज्यले खेल्नुपर्ने भूमिका औँल्याउने प्रयास गरिएको छ ।

त्रिविजस्ता विश्वविद्यालयले तत्कालै अध्ययन–अध्यापन तथा अनुसन्धान कार्यलाई पूर्ण रूपमा अनलाइन तथा भर्चुअल विधिबाट अगाडि बढाउँदै छिटो भन्दा छिटो महामारी र त्यसपछिका अल्पकालीन तथा दीर्घकालीन योजना तय गर्नुपर्छ ।

चुनौती 
प्रथमतः कक्षाकोठाभित्र शिक्षक–विद्यार्थीे प्रत्यक्ष उपस्थित भई सञ्चालन भइरहेका अध्ययन–अध्यापन क्रियाकलाप आकस्मिक रूपमा देखा परेको कोरोना संकटबाट प्रभावित हुँदा त्यसको व्यवस्थापन विश्वविद्यालयका लागि प्रमुख चुनौती हो । कोरोना संक्रमण फैलिन नदिन प्रत्येक नागरिकले अवलम्बन गर्नुपर्ने प्रत्यक्ष भेटघाट दूरीको नियम पालनासँगै शिक्षक तथा विद्यार्थी आ–आफ्ना घरकोठाभित्र छन् । यो अवस्थामा शिक्षक र विद्यार्थीबीचको अन्तरसंवाद नितान्त विद्युतीय अनलाइन माध्यमबाट मात्र सम्भव छ । सीमित विद्यार्थी र सीमित शैक्षिक कार्यक्रम भएका विश्वविद्यालयलाई यो कार्य सञ्चालन गराउन कम चुनौतीपूर्ण हुन सक्ला । तर, देशको उच्च शिक्षा अध्ययन गर्ने कुल विद्यार्थी संख्याको ८० प्रतिशत विद्यार्थीको जवाफदेहिता बोक्नुपर्ने त्रिभुवन विश्वविद्यालयजस्ता विश्वविद्यालयका अघि ठूलो चुनौती आइपरेको छ । र, त्यो पनि देशको मूलतः निम्न र निम्नमध्यम वर्गका प्रायजसो गाउँ–भूगोलका विद्यार्थी अध्ययन गर्ने यस्ता विश्वविद्यालयले विद्यार्थीलाई यो संक्रमणका वेला पहुँच दिलाउन खोज्नु आफैँमा जटिल प्रक्रिया हो । 

दोस्रो, विश्वविद्यालय ज्ञानको निर्माण, विस्तार र समाज परिवर्तनका लागि रचिएका हुन् । कुनै पनि राष्ट्रको राष्ट्रिय संकटका वेला त्यहाँका विश्वविद्यालयको सामाजिक दायित्व झन् बढेर जान्छ । संकटका वेला बहस, अनुसन्धान र समाधानका उपायको खोजी राज्यका लागि अपरिहार्य हुन्छ । त्यसवेला विश्वविद्यालयले निभाउने भूमिकाले देशभित्र र बाहिर तिनको ओझ बढ्दछ । कोरोना संक्रमणको समय जटिल छ, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी एकै ठाउँमा बसेर काम गर्न सक्ने अवस्था छैन । यद्यपि, यो असम्भव भने होइन । कोरोना संक्रमणपछि विश्वव्यापी रूपमा अध्ययन–अनुसन्धानको रूप पक्ष परिवर्तन भएको छ । जोन हप्किन्स विश्वविद्यालयजस्ता कतिपय विश्वविद्यालयका चिकित्सा विभागले कोरोना भाइरस संक्रमणको विश्वव्यापी ट्र्याकिङ गरी खोजमूलक अनुसन्धान गरिरहेका छन् । तर, नेपालका त्रिविलगायत अन्य विश्वविद्यालयका चिकित्सा विभाग तथा तीसँग सम्बद्ध निजी मेडिकल कलेजले अनुसन्धान त परको कुरा, सामान्य रुघाखोकी लागेका बिरामीलाई सेवा दिनबाट पन्छिएको अवस्था छ ।

अहिले खुला तथा दूर शिक्षालाई नै शैक्षिक पद्धतिको आधार तय गरेको नेपाल खुला विश्वविद्यालयबाहेक अन्य विश्वविद्यालयका साधारणतर्फका विज्ञान तथा प्रविधि, शिक्षा, व्यवस्थापन, कानुन र मानविकी संकायका सीमित विभाग तथा प्राध्यापकले गरेका अनलाइन कक्षाका प्रयासबाहेक सम्पूर्ण कार्यक्रम बन्द छन् । यस परिप्रेक्ष्यमा कोरोना संक्रमणकाल लम्बिरहेमा वा पछिका लागि पनि यी विश्वविद्यालयमा अध्ययन–अध्यापनको रूप पक्षको परिवर्तन नै आवश्यक छ । त्यसका लागि हिजोको संरचनामा तयार विश्वविद्यालय ऐनकानुन र ती ऐनकानुनबाट निर्देशित पाठ्यक्रम, शिक्षण पद्धति, शिक्षक, विद्यार्थी तथा कर्मचारीमा परिवर्तन आवश्यक छ, जुन हाम्रा विश्वविद्यालयका लागि अहं चुनौती हो । 

नेपालका त्रिविलगायत अन्य विश्वविद्यालयका चिकित्सा विभाग तथा तीस“ग सम्बद्ध निजी मेडिकल कलेजले अनुसन्धान त परको कुरा, सामान्य रुघाखोकी लागेका बिरामीलाई सेवा दिनबाट पन्छिएको अवस्था छ ।

तेस्रो, विश्वविद्यालयमा प्रविधि विस्तार र शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि सिकाइस्थल निर्माण गर्नु हाम्रा विश्वविद्यालयका लागि अर्को चुनौती हो । हिजोको बुझाइमा सिकाइस्थल विश्वविद्यालय वा क्याम्पसको कक्षाकोठा वा पुस्तकालय थिए । तर, आजको परिवेशमा उच्च शिक्षामा सिकाइस्थल भन्नाले अनुसन्धान तयारी, अनुसन्धान क्रियाकलाप, ज्ञान निर्माण तथा ज्ञान आदान–प्रदानका लागि प्रयोग गरिने मनोसामाजिक वातावरण हो । पछिल्लो समय विकसित राष्ट्रका विश्वविद्यालयले आमरूपमा भर्चुअल सिकाइस्थललाई अंगीकार गर्न थालिसकेका छन् । कोभिड–१९ पछि यसको महत्व र प्रयोग झनै बढेर गएको छ । यस सन्दर्भमा नेपाल र नेपालका धेरै विश्वविद्यालयको बुझाइ भने कोरोना संकटभन्दा अगाडि फरक नै रह्यो ।

ओपन तथा भर्चुअल अध्ययन–अध्यापन विधिलाई कक्षामा प्रत्यक्ष उपस्थित भई अध्ययन क्रियाकलापमा भाग लिन नसक्ने विद्यार्थीका लागि मात्र भनी परिभाषित गरियो । फलस्वरूप विश्वविद्यालयको शैक्षिक योजना र शिक्षण क्रियाकलापमा भर्चुअल माध्यम यदाकदाबाहेक समाहित हुन सकेन । आज यसको प्रत्यक्ष असर विभिन्न विधाअन्तर्गतका स्नातक तहमा करिब दुई हजार ७० र स्नातकोत्तर तहमा करिब दुई हजार विषयमा पठनपाठन गर्दै/गराउँदै आएको त्रिविजस्तो विश्वविद्यालयलाई पर्न पुगेको छ । त्रिविजस्ता विश्वविद्यालयले तत्कालै अध्ययन–अध्यापन तथा अनुसन्धान कार्यलाई पूर्ण रूपमा अनलाइन तथा भर्चुअल विधिबाट अगाडि बढाउन त कठिन हुन सक्छ, यद्यपि यी विश्वविद्यालयले आफ्नो कार्यक्रमलाई सुचारु गर्न कोरोना महामारी र तत्पश्चात् अल्पकालीन तथा दीर्घकालीन योजना तय गर्न आवश्यक छ । 

सम्भावना
विश्वविद्यालयले तत्कालका लागि अल्पकालीन योजना तय गर्न जरुरी छ । विश्वविद्यालयका कार्यक्रम कोरोना संक्रमणकाल खण्ड र लकडाउनपछि पनि प्रभावित हुन्छन् । लकडाउनको अन्त्यसँगै क्याम्पस तथा केन्द्रीय विभागका ढोका त खुल्लान्, तर यति लामो समयको लकडाउनले गर्दा मनोसामाजिक प्रभाव पर्ने हुँदा विद्यार्थी पूर्ण रूपमा तयार भई कक्षाकोठामा प्रवेश गर्न निकै समय लाग्छ । यसर्थ, यो समयावधिका लागि विश्वविद्यालयमा भर्चुअल माध्यमको यथाशक्य प्रयोगमार्फत शिक्षक र विद्यार्थीलाई सक्रिय तुल्याउनुपर्छ । सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलको प्रयोग गरी शिक्षक–विद्यार्थी र विद्यार्थी–विद्यार्थीबीचको अन्तरक्रियालाई बढाउनु र ती अन्तरक्रिया रेकर्ड गरी तत्काल अन्तरक्रियामा भाग लिन नपाएका विद्यार्थीलाई पछि पहुँच दिनुपर्ने हुन्छ ।

शिक्षकमार्फत हुने लेक्चरिङ पद्घतिबाट सिकाइका लागि स्वयं–सहभागिता र सहकार्य पद्धतिमा आधारित कार्यक्रम तयार गरी अगाडि बढाउन क्याम्पस तथा विभागलाई अभिप्रेरित गर्न आवश्यक छ । जस्तै, विगत लामो समयदेखि डेनमार्कको रस्किल्ड विश्वविद्यालयलगायतका विश्वविद्यालयले परम्परागत शिक्षण पद्धतिको विकल्पमा विश्वविद्यालयका सम्पूर्ण क्रियाकलापलाई ‘समस्यामूलक परियोजनामा आधारित सिकाइ’मा ढालेर अगाडि बढाएका छन् । त्यसमा विद्यार्थी र शिक्षकको सक्रियतामा कुनै समस्या पहिचान गरिन्छ र सो विषयमा विद्यार्थी आफैँ खोजमा लाग्छन् । शिक्षकको काम आवश्यक समयमा शैक्षिक सहयोग गर्ने मात्र हुन्छ । हामीले उच्च शिक्षाका विद्यार्थीलाई यो विधिमार्फत अगाडि बढाउन सक्छौँ । यसले तत्कालको समस्या मात्र हल गर्ने होइन, भोलि विश्वविद्यालय रूपान्तरणका लागि महत्वपूर्ण आयाम बन्न सक्छ ।

कोरोना महामारीले निम्त्याएको कठिन घडीमा नेपालका विश्वविद्यालय र विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजले खेल्नुपर्ने भूमिका खेल्न नसकेका कारण नेपाली जनमानसमा विश्वविद्यालयप्रति नकारात्मक धारणा विकास हुने सम्भावना छ ।

अल्पकालीन योजनाका अलावा अब विश्वविद्यालयले आफ्ना अध्ययन–अध्यापनमा रूपान्तरण गर्न दीर्घकालीन योजना निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने हुन्छ । यसका लागि अनलाइन र भर्चुअल माध्यमलाई विश्वविद्यालयको शैक्षिक क्रियाकलापको एक अभिन्न आयामको रूपमा लिइनुपर्छ । विश्वविद्यालयको आफ्नै आधुनिक सूचना प्रविधि केन्द्र बनाइनुपर्छ । हुन त देशकै जेठो विश्वविद्यालय त्रिविलाई प्रविधिमैत्री बनाउने सम्बन्धमा धेरै छलफल भए । केन्द्रीय विभाग र विश्वविद्यालयमातहतका क्याम्पसलाई केन्द्रीय सूचना तथा प्रविधिमा विभागसँग जोड्ने, अत्याधुनिक विद्युतीय पुस्तकालय निर्माण गर्ने, अनुसन्धान केन्द्रलाई अनुसन्धान हब बनाइने विषयमा भएका छलफलको प्रभावकारी कार्यान्वयन गरिएन ।

वास्तवमा विश्वविद्यालय विद्यार्थी र शिक्षकका लागि उपयुक्त सिकाइस्थल, प्राध्यापक र कर्मचारीका लागि उचित कार्यस्थल र अनुसन्धानकर्ताका लागि राम्रो अनुसन्धान हब बन्न सकेन । अध्ययन र अध्यापन नितान्त रूपमा तोकिएको पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका विषयवस्तुको घोकन्ते पढाइ, घोकन्ते बुझाइ र मूल्यांकनलाई केही घन्टाको स्मरणात्मक लेखाइमा सीमित हुन पुग्यो । यसका लागि हामी विश्वविद्यालयमा संलग्न सबै प्राध्यापक, कर्मचारी र विद्यार्थी धेर–थोर जवाफदेही छौँ । त्रिवि मात्र हैन, एकाधबाहेक प्रायजसो विश्वविद्यालयका कार्यक्रम, पाठ्यक्रम, परीक्षा प्रणाली उही प्रकृतिका छन् । फरक कुन वर्ग र सामाजिक धरातलका विद्यार्थी कुन विश्वविद्यालय वा क्यम्पसमा भर्ना भए भन्नेमा मात्र छ । तसर्थ, यसलाई चिर्न सक्नु आजका विश्वविद्यालयको प्रमुख कार्यभार हो । जसका लागि विश्वविद्यालयले शिक्षणकेन्द्रित विधिबाट अनुसन्धानकेन्द्रित कार्यक्रम र सोहीअनुरूपका पाठ्यक्रम निर्माण गर्नुपर्ने हुन्छ । ती कार्यक्रम सफल कार्यान्वयनका लागि शिक्षक र विद्यार्थीको सिकाइ र अनुसन्धानका लागि उपयुक्त वातावरण तयार गर्नुपर्छ । 

त्यसक्रममा आधुनिक प्रविधिको सहयोगमा तय गरिने अनलाइन र भर्चुअल लर्निङका साधन उच्चतम प्रयोगमा ल्याउनुपर्छ । यो कुनै पदाधिकारी वा एक व्यक्तिबाट मात्र सम्भव हुने कार्य होइन । यसमा त प्राध्यापक, कर्मचारी, विद्यार्थीलगायत सम्बन्धित सबैको उत्तिकै चासो र सहभागिता चाहिन्छ । राज्यले एक्काइसौँ शताब्दीको आधुनिक प्रविधिको जगमा उभिएको परिणाममुखी र देशको विकासमा टेवा पु-याउन सक्ने मानव–संसाधन उत्पादन गर्न सक्ने विश्वविद्यालय निर्माणमा आवश्यक लगानी गर्न सक्नुपर्दछ । 

अन्त्यमा,
कोभिड–१९ को असर समाजका हर पक्षमा परेको छ । यसबाट शिक्षा जगत् पनि नराम्ररी प्रभावित भएको छ । विकसित राष्ट्रका विश्वविद्यालयले आफ्ना अध्ययन–अनुसन्धान कार्यक्रमलाई इन्टरनेट प्रविधिको प्रयोग गरी निरन्तरता दिइरह“दा नेपालका एकाधबाहेक सबैजसो विश्वविद्यालय बन्द छन् । प्राध्यापक तथा विद्यार्थीको सक्रियतामा केही कार्यक्रम सञ्चालनमा आए पनि ती कार्यक्रम विश्वविद्यालयका योजनामुताबिक आउन सकेका छैनन् । कोरोना संकट अझ लम्बिने खतरा छ । हिजोको योजनाले आजको समस्या हल गर्न नसक्ने प्रस्ट छ । नेपालको विश्वविद्यालय शिक्षा पुनर्संरचना गर्नुपर्ने आवश्यकता कोरोना संक्रमणअगाडि नै महसुस गरिएकै हो । आजको विकराल परिस्थितिले सबैलाई झस्काइदिएको छ ।

अब नेपाल सरकार, विश्वविद्यालयका कार्यकारी, शिक्षक, कर्मचारी र विद्यार्थीले एक–अर्कालाई औँला सोझ्याउनुभन्दा आ–आफ्नो उत्तरदायित्व र जिम्मेवारीलाई मनन गरी रूपान्तरणको पक्षमा उभिनुपर्छ । यसबाट मात्र विश्वविद्यालय शिक्षा नयाँ नेपाल निर्माणको प्रमुख आयाम बन्न सक्थ्यो कि ? कोरोना महामारीले निम्त्याएको कठिन घडीमा नेपालका विश्वविद्यालय र विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजले खेल्नुपर्ने भूमिका खेल्न नसकेका कारण नेपाली जनमानसमा विश्वविद्यालयप्रति नकारात्मक धारणा विकास हुने सम्भावना छ, जुन स्वाभाविक पनि हुनेछ । हाम्रा विश्वविद्यालय र हामी विश्वविद्यालयकर्मीमा आमूल परिवर्तनको खाँचो छ । 
(देवकोटा त्रिभुवन विश्वविद्यालय, शिक्षा विकास तथा अनुसन्धान केन्द्रका उप–प्राध्यापक हुन्)