मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ जेठ १९ सोमबार १२:५४:००
Read Time : > 2 मिनेट
विश्व

जर्ज फ्लोइड मृत्यु प्रकरण : कर्फ्यु उल्लंघन गर्दै हजारौँ प्रदर्शनकारी सडकमा 

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ जेठ १९ सोमबार १२:५४:००

अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी हिरासतमा हत्या भएपछि सुरु भएको विरोध प्रदर्शन देशव्यापी फैलिएको छ । प्रदर्शनकारीले ह्वाइटहाउसअगाडि जम्मा भएर विरोध गरिरहेका छन् । 

अमेरिकामा लगातार प्रदर्शन भएको ६ दिन पुग्यो । प्रदर्शन दिनदिनै हिंसात्मक बन्दै गएको छ । सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सफल भएका छैनन् । 

कतिपय सहरमा प्रदर्शनकारीले प्रहरीका गाडी तोडफोड गरेका छन्, सुपरमार्केटहरू लुटेका छन् । 

हिंसात्मक गतिविधि बढेपछि ४० सहरमा कर्फ्यु लगाइएको छ । तर, प्रदर्शनकारीहरू कर्फ्युको बेवास्ता गर्दै सडकमा निस्किएका छन् । भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पेपर बुलेटको पनि प्रयोग गरेको छ । देशका ७५ भन्दा बढी सहरमा प्रदर्शन भइरहेका छन् । 

न्युयोर्क, सिकागो, फिलाडेल्फिया र लसएन्जलसमा प्रहरी र प्रदर्शकारीबीच झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन वासिङटनबाहेकका १५ प्रान्तमा पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

डेनभरमा हजारौं मानिसहरूले शान्तिपूर्ण प्रदर्शन गरे। त्यस्तै एट्लान्टा, बोस्टन, मियामी र ओक्लाहोमा सहरमा पनि ठूला प्रदर्शनहरू भएका थिए। एट्लान्टा र जर्जियामा अत्यधिक बल प्रयोगका कारण दुई अधिकारीलाई बर्खास्त गरिएको छ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसले संकलन गरेको तथ्यांकअनुसार विरोध प्रदर्शनकै क्रममा चार हजारभन्दा बढी मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले लेखेअनुसार जर्ज फ्लोइडले २० डलरको नक्कली नोट दिएको भन्दै प्रहरीलाई ग्रोसरी स्टोरबाट जानकारी दिइयो । मिनियापोलिसका प्रहरी अधिकारीले जर्जलाई गाडीमा राख्ने प्रयास गर्दागर्दै उनी भुँईमा लडेका थिए । प्रहरीका अनुसार फ्लोइडले प्रहरीलाई रोक्ने प्रयास गरेकाले हत्कडी लगाइएको थियो । 

सार्वजनिक भएको भिडियोमा प्रहरी अधिकारी डेरेक चौभिनले आफ्नो घुँडाले जर्जको घाँटी थिचेको देखिन्छ । अटोप्सीको प्रारम्भिक रिपोर्टअनुसार प्रहरी अधिकारीले जर्जको घाँटीमा आठ मिनेट, ४६ सेकेन्डसम्म दबाएका थिए । यसपछि उनलाई अस्पताल लगिएको थियो, त्यहीँ जर्जको मृत्युको घोषणा भयो ।

ट्रम्पलाई बंकरमा लुकाइयो

यता,  शुक्रबार ह्वाइट हाउसबाहिर प्रदर्शनकारीहरु जम्मा भएर ढुंगामुढा प्रहार गर्न थालेपछि सेक्रेट सर्भिस एजेन्टहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसको बंकरमा लगेका थिए । बंकरमा ट्रम्पलाई करिब एक घण्टासम्म राखिएको थियो ।यस्ता बंकर आतंकवादी हमला जस्ता आपतकालिन दुर्घटनाहरुबाट सुरक्षित रहन बनाइएको हुन्छ । 

फ्लोइडको हत्यापछि अमेरिकाभर भएका आक्रोशपूर्ण प्रदर्शनहरुले त्यहाँ वर्षौदेखि रहेको रंगभेद, शोषण र आर्थिक, राजनीतिक सामाजिक असमानतालाई प्रतिबिम्बत गर्छ । 
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसात्मक प्रदर्शन भइरहेका बेला एन्टिफासिस्ट मुभमेन्ट एन्टिफालाई आतंकवादी संगठन भनेका छन्।

जर्मन, बेलायतमा पनि प्रदर्शन 

जर्ज फ्लोइडलाई न्यायको माग गर्दै बेलायतको लन्डन, जर्मनीको बर्लिनलगायतका सहरमा पनि प्रदर्शन भएका छन् । अमेरिकी प्रदर्शनकारीहरुसँग ऐक्यबद्धता जनाउँदै उनीहरुले विरोध गरेका हुन् । 

प्रदर्शनमा उत्रिएकाहरुले ‘नो जस्टिस, नो पिस’ भन्दै नारा लगाएका थिए भने ‘हाउ मेनी मोर’ लेखिएका प्लेकार्ड बोकेका थिए । कोरोना महामारीका कारण बेलायती सरकारले भीडमा लगाएको प्रतिबन्धलाई वेवास्ता गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरू अमेरिकी दूतावासअगाडि पुगे र त्यहाँ सयौं प्रदर्शनकारी सडकमा बसे र प्लेकार्ड प्रदर्शन गरे।

जर्मनस्थित अमेरिकी दूतावास अगाडि पनि जर्ज फ्लोइडका लागि न्याय, हामीलाई मार्न बन्द गर्नुहोस् जस्ता नारा लगाएर विरोध गरेका थिए । 

हत्या पूर्वनियोजित 

अश्वेत व्यक्ति जर्ज फ्लोइडको हत्याले अमेरिकाभर प्रदर्शन चर्किरहेको समयमा उनको परिवारका वकिलले प्रहरीले गरेको पूर्वनियोजित हत्या भएकोआरोप लगाएका छन्।

फ्लोइडको हत्या गर्ने मिनियापोलिसका प्रहरी डेरेक चौभिनमाथि नियोजित हत्या नभएको भनि त्यही अनुसार थर्ड डिग्री मुद्दा दर्ता गरिएको छ । ४४ वर्षीय चौभिनलाई सोमबार मिनियापोलिसको अदालतमा उपस्थित गराइनेछ । 

तर वकिल बेन्जामिन क्रम्पले भने जर्जको हत्या ती प्रहरी अधिकारीले जानी जानी गरेको बताएका छन् । हत्या गर्ने मनाशयले नै उनको घाँटी थिचिएको र सार्स फेर्न सकिन भन्दा पनि छोडिएको थिएन ।