प्रमुख प्रतिपक्षी दल कांग्रेसको माग : ‘रुकुम घटना छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति बनाइयोस्’
सरकारले कर्मचारीहरूको समिति बनाएर रुकुम घटनाको छानबिन गरिरहेको आफूलाई मान्य नहुने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दलित सांसदको नेतृत्वमा संसदीय समिति बनाउनुपर्ने माग उठाएको छ ।
सोमबार संसद् सुरु हुनेबित्तिकै उठेर कांग्रेस सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।
त्यसपछि सभामुखले कांग्रेस सांसद मानबहादुर विकलाई बोल्न समय दिएका थिए ।
विकले भने, ‘गृहमन्त्रीले नदीमा हामफाले भन्नुभएको छ । तर, पोष्टमार्टम गर्दा उनीहरूको पेटमा पानी थिएन । यसको कारण के हो ?, उनीहरूलाई मारिएको हो भन्ने कुरा थाहा भयो । उक्त घटना छानबिन गर्न साधारण कर्मचारीको समिति बनाइएको छ । त्यसले न्याय दिन सक्दैन । त्यो हामीलाई मान्य छैन । त्यो घटना फितलो बनाउन आर्थिक अपचलन भएको छ भन्ने रिपोर्ट पाइरहेका छौँ । नेपाली कांग्रेसले त्यसलाई निन्दा गर्दै संसदीय समिति बनाउनुपर्ने हाम्रो माग छ । दलित सांसदको नेतृत्वमा समिति गठन होस् ।’